हुम्ला समाचारदाता
हुम्ला, असार २० गते । चौरीगाईका खर्काला विगत पैँतालिस वर्षदेखि बेरुवाको पालमा उच्च पाटनमा बस्ने गर्दै आउनुभएको छ । चौँरीगाईपालनमा लाग्नुभएका खर्काला उच्च पाटनमा चौँरीलाई चराउन लग्नुपर्ने भएपछि यसरी हालसम्म फेरुवाको पालमा बस्दै आउनुभएको हो । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीगाउँमा फुन्जोक लामाले पैँतालिस वर्षदेखि लगातार बुकी फुल्ने उच्च पाटनमा चौँरीपालनका लागि फेरुवाको पाल टाँगेर बस्दै आएको बताउनुभयो । लामाले चौध वर्षको उमेरमै चौँरी चराउनेदेखि उच्च पाटनमा खर्कालाका रूपमा काम सुरु गर्नुभएको थियो । लिमीमै धेरै चौँरी र च्याङ्ग्रा भएको घरधुरीमा उहाँ पर्नुहुन्थ्यो । हाल च्याङ्ग्रा भने लोप भइसकेका छन् । त्यसै गरी लिमी हल्जीगाउँकै खेण्डाप तामाङले पनि तीस वर्षदेखि चौँरीको गोठालो बसिरहेको बताउनुभयो ।