सुजल श्रेष्ठ
प्युठान, असार २० गते । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले अधुरा र अलपत्र परेका खानेपानी योजनालाई प्राथमिकता दिएर निर्माण सम्पन्न गरिने बताउनुभएको छ । ८० प्रतिशत काम सम्पन्न भएका योजनालाई यसै वर्ष निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री थापाले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ प्युठानले शुक्रबार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले खानेपानीको समस्या सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो । १२ वटै जिल्लामा खानेपानी योजना अधुरो रहेको भन्दै उहाँले त्यस्ता योजना सम्पन्न गर्न प्रदेश सरकारले ७७ करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो ।
मन्त्री थापाले प्रदेश सरकारले गरेका योजना कार्यान्वयनको अवस्थालाई प्रभावकारी बनाउन अनुगमन संयन्त्र बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि तयारी गरेको उहाँको भनाइ छ । गुणस्तरीय योजना निर्माणका लागि समुदाय स्तरबाट पनि सहयोगको लागि आग्रह गर्नुभयो । प्रदेश सरकारका कतिपय योजना अलपत्र परेको भन्दै समयमै योजना सम्पन्न गर्नुका साथै गुणस्तरीय बनाउन अनुगमन संयन्त्र बनाउन लागिएको उहाँको भनाइ छ ।
प्युठान जिल्लाको विकासका लागि सबैको साझा पहल आवश्यक रहेको मन्त्री थापाले बताउनुभयो । प्रदेशका अरु जिल्लाको तुलनामा प्युठान जिल्ला विकासमा पछि परेको भन्दै उहाँले प्युठान जिल्लाको विकासका लागि निरन्तर काम गर्दै आएको दाबी गर्नुभयो ।