• १७ असार २०८२, मङ्गलबार

जीवनस्तर उकास्न वित्तीय अनुशासन

blog

मान्छेका आवश्यकता सीमित हुन्छन् तर इच्छा असीमित । मान्छेका लागि नभई नहुने कुरा आवश्यक हुन् भने नभए पनि हुने कुरालाई इच्छा भन्न सकिन्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा आवश्यकता हुन् भने ६० इन्चको टिभी, फ्रिज, लाखौँ पर्ने मोबाइल फोन सेट आदि इच्छा हुन् । घरमा तयार गरी खानु आवश्यकता हो भने रेस्टुरेन्ट वा तारे होटेलमा खानु इच्छा । यसरी इच्छा र आवश्यकता पहिचान गरी आवश्यकता पूरा गर्नु तर इच्छालाई नियन्त्रण गर्नु वित्तीय अनुशासनमा पर्दछ । 

वित्तीय सुझबुझ, वित्तीय विवेकशीलता आदि वित्तीय अनुशासनका पर्यायवाची शब्द हुन् ।

वित्तीय अनुशासन भन्नाले वित्तीय ज्ञान एवं सिपलाई व्यवहारमा उतार्नु र निरन्तर त्यसमा अडिग रहनु भन्ने बुझिन्छ । आफूसँग रहेको वित्तीय साधनलाई जिम्मेवारी र विवेकपूर्ण तरिकाबाट व्यवस्थापन तथा नियन्त्रण गर्ने कार्य नै वित्तीय अनुशासन हो । वित्तीय अनुशासन वित्तीय साक्षरताको अति नै महत्वपूर्ण विषयमा पर्दछ । यसको जानकारी र अनुपालनाले व्यक्तिको आर्थिक जीवन शालीन र मर्यादित हुन गई उसको जीवनस्तर माथि उठ्ने गर्दछ । 

व्यक्तिले वित्तीय अनुशासन पालना गरी आफ्नो आम्दानी, खर्च, बचत र लगानी सुनिश्चित गर्न सक्छ । वित्तीय अनुशासनले आफ्नो वित्तीय लक्ष्य हासिल गर्न मद्दत पुर्‍याउँछ । 

वित्तीय अनुशासनको महत्त्व 

व्यक्तिको आर्थिक जीवनमा वित्तीय अनुशासनको ठूलो महत्व रहेको हुन्छ । व्यक्तिले आफ्नो आम्दानीका आधारमा खर्च, बचत र लगानीका लागि बजेट बनाउन सक्दछ । आर्थिक जीवनमा लगानीसम्बन्धी सही निर्णय लिन नसकेमा वित्तीय स्रोतसाधनको दुरुपयोग हुन जाने मात्र नभई वित्तीय क्षतिसमेत हुन सक्दछ । वित्तीय निर्णय नै अति महत्वपूर्ण विषय हो । सही वित्तीय निर्णयमार्फत आर्थिक अनुशासन कायम गरी अतिरिक्त सम्पत्ति सिर्जना गर्न सकिन्छ ।

बालबालिकाको शिक्षासम्बन्धी खर्चको योजना बनाउन, बुढेसकालका लागि वित्तीय स्रोतको जोहो गर्न, परिवारको दीर्घकालीन वित्तीय लक्ष्य तथा उद्देश्य निर्धारण गरी सो हासिल गर्न वित्तीय अनुशासनले ठुलो मद्दत गर्दछ । यसै गरी परिवारमा हुन सक्ने अप्रत्याशित आर्थिक घटना सामना गर्न, अनावश्यक कर्जा लिनबाट टाढा हुँदै यसबाट हुन सक्ने झमेलाबाट बच्न, उपयोग भइरहेका कर्जालाई बुद्धिमानी ढङ्गले व्यवस्थापन गर्न वित्तीय अनुशासनबाट मद्दत पुग्छ । परिवारमा उद्यमशीलता विकास गरी दिगो आम्दानी सुनिश्चित गर्न, सोका लागि वित्तीय स्रोत सुनिश्चित गर्न पनि वित्तीय अनुशासनमार्फत गर्न सकिन्छ ।

वित्तीय अनुशासन कायम गर्ने उपाय 

वित्तीय अनुशासन कायम गर्ने महत्त्वपूर्ण उपायका रूपमा नियमित रूपमा पारिवारिक बजेट निर्माण गर्नु हो । बजेट निर्माण गर्दा आम्दानीको लेखाजोखा गरी योजनाबद्ध रूपमा थोरबहुत बचतलाई प्राथमिकतामा राख्नु पर्दछ र आवश्यकताका आधारमा मात्र खर्च गर्नु पर्छ । खर्च गर्दा इच्छा हो कि आवश्यकता हो भनेर विश्लेषण गरेर मात्र खर्च गर्नु पर्दछ । 

वित्तीय लक्ष्य निर्धारणमार्फत आम्दानीको यथोचित अंश छुट्याई बचत गर्नु पर्दछ । यसले भविष्यमा आइपर्ने आर्थिक गर्जो टार्न मद्दत गर्दछ । त्यस्ता कुनै झड्का नआएमा पनि सो बचत कुनै क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिन्छ । 

नियमित रूपमा बजेटको समीक्षा गर्नु वित्तीय अनुशासनको अर्को महत्त्वपूर्ण पक्ष हो । यसबाट आम्दानीले नपुग्ने भएमा खर्च कटौती गर्न सकिन्छ । पारिवारिक बजेट समीक्षा गर्दा खर्चका विभिन्न शीर्षकको पुनरवलोकन गर्नु पर्छ । वित्तीय लक्ष्य हासिल गर्न सकिने वा नसकिने भन्ने निक्र्योल गरी नसकिने भएमा आवश्यक संशोधन वा समायोजन गर्नुपर्दछ । 

यसै गरी परिवारका सदस्यबिच परिवारको वित्तीय लक्ष्य, आवश्यक बजेट, नियमित बचत, सम्भावित वित्तीय समस्या र सोको समाधानबारे छलफल गर्ने गरेमा आर्थिक पक्षको भार सबैमा बाँडिन जाने मात्र नभई सबैलाई आर्थिक रूपमा जिम्मेवार बनाउन पनि सकिन्छ । यसै गरी खर्चको प्राथमिकता तय गरेमा स्रोतको दुरुपयोग रोकिने सम्भावना रहन्छ । बैँक वा व्यक्तिबाट कर्जा सापटी लिएको भए भुक्तानीमा बहानाबाजी वा विलम्ब नगर्नु बुद्धिमानी हुन्छ । 

लगानी गर्दा ध्यान दिनु आवश्यक  

लगानीको महत्त्वपूर्ण पक्ष भनेको नै लगानी विविधीकरण गरेर मात्र लगानी गर्ने अर्थात् आफूसँग भएको सबै रकम एकै उपकरण वा विकल्पमा लगानी नगरी विविधीकरण गर्नु हो । जसले जोखिम न्यूनीकरण गर्न मद्दत पुग्दछ । लगानी गर्दा गर्न लागिएको क्षेत्र सम्बन्धमा विस्तृत ज्ञान लिने, लगानी गरेपछि राम्रोसँग पर्याप्त समय लगाएर ध्यान दिनु पर्दछ । लगानीको प्रतिफल लगानी गुणस्तरमा भरपर्ने भएकाले सोको गुणस्तर कायम राख्ने, लगानी गर्ने क्षेत्र अनुसार उपयुक्त ठाउँ, हावापानी तथा अन्य अनुकुलता मिलाएर रोज्ने, कागजात तथा अभिलेख व्यवस्थापन उचित रूपले गर्ने, आवश्यक परे सल्लाहकार राख्ने जस्ता लगानीका विषय वित्तीय अनुशासनभित्रै पर्दछन् । 

भनिन्छ कमाउनु ठुलो कुरा होइन त्यसको सदुपयोग गरेर जीवनको गुणस्तर कायम गर्नु अर्थपूर्ण हुन्छ । धनी हुँदैमा उसको जीवन गुणस्तरीय हुन्छ भन्न सकिन्न । धनी मान्छे आर्थिक रूपले लथालिङ्ग जीवन बाँचिरहेका पनि देखिन्छन् भने सानो आम्दानी भएको मान्छे उत्कृष्ट जीवन बाँचिरहेका पनि छन् । यसैले चेतना महत्त्वपूर्ण कुरा हो । 

अहिले नेपालका धेरै युवा तथा विद्यार्थी विदेश गएर कमाइ गर्छन् र रेमिट्यान्सका रूपमा पैसा पठाउँछन् तर नेपालमा बस्ने परिवारजनले सोको सदुपयोग नगरिदिँदा साधन स्रोत दुरुपयोग भइरहेको स्थिति पनि छ । कतिपयको पारिवारिक विखण्डन हुन गई जीवनस्तर माथि जानुको सट्टा झन् तल खस्केका उदाहरण पनि छन् । यसैले वित्तीय सुझबुझपूर्ण एवं अनुशासित मान्छेको जीवन नै गुणस्तरीय देखिन्छ ।

र अन्त्यमा :

कमाइका साथ जसले उचित खर्च गर्छ 

कमाइ खर्च गर्दा जीवनस्तर उठ्नु पर्छ ।

अनुशासित जिन्दगी नै स्वर्णिम हुने गर्छ

वित्तीय (अनु) शासनको लक्ष्य यही हुनु पर्छ ।  

–युवामञ्च   

Author
डा. भागवत आचार्य

उहाँ नेपाल राष्ट्र बैङ्कको उपनिर्देशक हुनुहुन्छ ।