पारिवारिक बजेट निर्माण वित्तीय साक्षरताको एक महत्वपूर्ण विषय हो । राज्यको बजेट जस्तै परिवारको पनि आफ्नै बजेट हुन्छ । पारिवारिक बजेट भनेको कुनै पनि परिवारको आम्दानी र खर्चको विवरण हो । कुनै पनि परिवारमा एक वर्षभित्रको आम्दानी र वर्षभरिमा हुने खर्चको फेहरिस्तलाई पारिवारिक बजेट भनिन्छ ।
पारिवारिक बजेट वित्तीय साक्षरताको एक पक्ष तथा वित्तीय अनुशासनको एक अङ्ग मानिन्छ । आफूसँग रहेको बजेटलाई जिम्मेवार एवं विवेकपूर्ण तरिकाबाट खर्च व्यवस्थापन र नियन्त्रण गर्ने कार्य नै पारिवारिक बजेट हो । पारिवारिक बजेटले आम्दानी र खर्चप्रति सजगता बढ्न गई व्यक्ति वा परिवारको आर्थिक जीवन व्यवस्थित हुने र जीवनस्तर माथि उठ्ने गर्दछ ।
जसरी सरकारले हरेक आर्थिक वर्षका लागि बजेट तयार गर्दछ । यसै गरी व्यक्तिले पनि आफ्नो घरको बजेट बनाउन सक्छ । परिवारको बजेट बनाउँदा एकातिर निश्चित आम्दानी र सम्भावित आम्दानी भनी आम्दानी पक्ष तथा खर्चतर्फ अनिवार्य खर्च र ऐच्छिक खर्च उल्लेख गरी बजेटका लागि आम्दानी र खर्चको पहिचान गर्नुपर्ने हुन्छ ।
पारिवारिक बजेट एक आर्थिक सजग परिवारका लागि अति आवश्यक हुन्छ । यसले आम्दानीको पहिचान गर्न, भविष्यका लागि बचत योजना बनाउन, जथाभाबी खर्च गर्नबाट रोक्न, खर्चभन्दा आम्दानी कम रहेमा सोका लागि बजेट जुटाएर पूर्ति गर्न सहयोग पु¥याउँछ । बजेट तयार गर्दा आम्दानी र खर्चबिच तालमेल हुन सकेन भने खर्च कटौती गर्नुपर्ने हुन्छ ।
परिवारमा खर्च गर्नका लागि आम्दानी निश्चित हुन्छ । खर्चको योजना बनाउँदा अनिवार्य र ऐच्छिक खर्च भनेर छुट्याउने तथा अनिवार्य खर्चका लागि जसरी पनि खर्च जुटाउनैपर्ने हुन्छ भने ऐच्छिक खर्च भने कटौती गरेर खर्चको योजना बनाउन सकिन्छ ।
खर्चको योजना बनाउँदा आफ्नो आवश्यकता र इच्छालाई छुट्याउनु पर्दछ । आवश्यकता भनेको अनिवार्य हुन्छ भने इच्छा अनिवार्य हुँदैन । इच्छालाई रहर वा चाहना पनि भन्न सकिन्छ । ३२ इन्चको टिभी आवश्यकता हो भने १०० इन्चको टिभी इच्छा वा चाहना मान्न सकिन्छ । मान्छेका इच्छा असीमित हुन्छन् भने आवश्यकता सीमित र सजिला हुन्छन् । यस कुरालाई ध्यान दिएर पारिवारिक बजेट बनाउनुपर्ने हुन्छ ।
पारिवारिक बजेटको महत्व
एक सचेत परिवारका लागि पारिवारिक बजेट अति नै महत्वपूर्ण हुन्छ । आम्दानी र खर्च के कति रहेछ भनेर आकलन गरी जानकारी राख्न, सावधानीपूर्वक खर्च गर्न प्रेरित गर्न, आम्दानी जुटाएर खर्च व्यवस्थापन गर्न सहयोग गर्न, भविष्यको आर्थिक लक्ष्य निर्धारण कार्यलाई सहज पार्न, अनिवार्य र ऐच्छिक खर्च छुट्याउनलगायतका महत्वपूर्ण कार्यका लागि पारिवारिक बजेट अति नै आवश्यक हुन्छ ।
पारिवारिक बजेट निर्माण कसरी गर्ने ?
कुनै पनि परिवारको वित्तीय अवस्था पत्ता लगाउन पारिवारिक बजेट आवश्यक पर्दछ । सर्वप्रथम आम्दानीको स्रोत अनुसार हिसाबकिताब तयार गरेपछि जम्मा कति बचत गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्नु पर्दछ । बचत गर्न नसकिने स्थिति छ भने पनि यी विषय अनिवार्य गर्नुपर्ने हुन्छ ।
- आम्दानी र खर्च सूचीकृत गर्ने ।
- खर्चको प्राथमिकीकरण गर्दै खर्च गर्नैपर्ने रकम पत्ता लगाउने ।
- आम्दानीभन्दा खर्च कम हुने कुरामा विश्वस्त हुने ।
- आम्दानी र खर्चको पुनरवलोकन गर्दै अन्तिम रूप दिने ।
- बजेटमा नै आकस्मिक खर्च छुट्याउने ।
- बढी खर्च भएमा कम मूल्यको वस्तु खरिद गर्ने वा थोरै खपत गर्ने ।
पारिवारिक बजेट जहिले पनि आम्दानी अनुसार खर्च गर्ने गरी निर्माण गर्नु पर्दछ । के कति खर्च हुन्छ भनेर रुजु गर्दै अन्तिम रूप दिनु पर्दछ । बजेटको सीमाभित्र रहेर खर्च गर्न परिवारका सबै सदस्यलाई सहभागी गराएर छलफल गर्नु उपयुक्त हुन्छ । कहीँ लगानी गर्ने गरी बजेट बनाएको छ भने लगानी घाटामा गएमा सोको उपायबारे समेत व्यवस्था गर्नु पर्दछ ।
यसरी पारिवारिक बजेट निर्माण गर्दा आम्दानी र खर्चको विवरण तयारी नै मुख्य हुन्छ । आम्दानीतर्फ रहने सम्भावित शीर्षकमा श्रीमान्/श्रीमतीको तलब रकम, घरबाट प्राप्त हुने भाडा, कृषि वा पशुबाट प्राप्त हुने आम्दानी, रेमिट्यान्सबाट परिवारमा प्राप्त हुने आम्दानी आदि हुन सक्छ ।
यसै गरी खर्चतर्फका शीर्षकमा खाना खर्च, लत्ताकपडा खर्च, शिक्षा खर्च, यातायात खर्च, औषधोपचार खर्च, मनोरञ्जन खर्च, आकस्मिक खर्च आदि हुन सक्छन् । यसरी आम्दानी र खर्चको लेखाजोखा गरेर आम्दानीभन्दा खर्च नबढ्ने गरी पारिवारिक बजेट तयार गर्नु पर्दछ ।
निष्कर्ष
पारिवारिक बजेट पारिवारिक आर्थिक अनुशासनको एक महत्वपूर्ण विषय हो । कमाउनु मात्र ठूलो कुरा होइन सोको उचित र व्यवस्थित उपयोगले नै व्यक्ति परिवारको आर्थिक स्तर अभिवृद्धि हुन सक्छ । आर्थिक स्थिति अवनतितिर जाने मुख्य कारण आम्दानी र खर्चको तालमेल नमिल्नु नै हो । विश्वका धनाढ्य व्यक्तिले आर्थिक अनुशासनको पालनाबाट नै सफलताको शिखर चुमेका हुन् । आर्थिक रूपमा सबल भएपछि प्रगतिका अन्य ढोका खुल्ने भएकाले पारिवारिक बजेट निर्माणमा अबका युवाको ध्यान पुग्छ भन्ने आशा गर्न सकिन्छ ।
–युवामञ्च