• २० असार २०८२, शुक्रबार

बजारको सबै फोहोर विमानस्थलमा

blog

रलिङ समाचारदाता

रलिङ (हुम्ला), असार २० गते । सरोकारवाला निकायको लापर्बाहीका कारण हुम्लाको विमानस्थल दुर्गन्धित बनेको छ । सिमकोट विमानस्थलमा नियमित हवाईजहाज उडान भर्दै आएका छन् तर बजार क्षेत्र उच्च स्थान र विमानस्थल होचा खोचमा रहेकाले बजारको सबै फोहोर विमानस्थलमा बगाएर लग्ने गरेपछि दुर्गन्धित बन्दै छ । 

सिमकोट नागरिक उड्डयन कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले विमानस्थलाई संवेदनशील क्षेत्र मानिने भएकाले बजार क्षेत्रबाट बगेर आउने फोहोर पार्किङ क्षेत्रभरि थुप्रिँदा डम्पिङ साइटमा परिणत हुँदै गएको बताउनुभयो । यस्तो गम्भीर अवस्था उत्पन्न हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेका छन् । जसले उडान सुरक्षादेखि पर्यावरणीय जोखिमसम्म गहिरो सङ्कट निम्त्याएको छ ।

स्थानीय प्रशासन, गाउँपालिकाले सरसफाइसम्बन्धी चासो नदिँदा पर्यावरणीय जोखिमसँगै यात्रुको सुरक्षासमेत सङ्कटमा पर्ने देखिएको छ । सिमकोट विमानस्थलको पार्किङ क्षेत्रमा बजार क्षेत्रबाट बगेर आउने फोहोरले असर पार्न थालेको छ भने दुर्गन्धित र फोहोरका कारण आगमन प्रस्थान गर्ने यात्रु हैरान छन् । स्थानीयवासीको गुनासो अनुसार विमानस्थल क्षेत्रलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन पटक पटक माग गरिए पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको विमानस्थल प्रमुख सिंहले गुनासो गर्नुभयो । 

यातायातको प्रमुख विकल्पका रूपमा रहेको यो एक मात्र विमानस्थलमा सरसफाइको अवस्था दिन प्रतिदिन बिग्रँदै जाँदा पर्यटन प्रवर्धनमा समेत असर पर्न थालेको छ । अविलम्ब व्यवस्थापन नगरे यसले गम्भीर परिणाम भोग्ने अवस्था आउने विमानस्थल प्रमुख सिंहले बताउनुभयो । अत्यधिक संवेदनशील मानिएको यो क्षेत्रमा खुला रूपमा फोहोर थुपारिँदा पर्यावरणीय जोखिम मात्र होइन, उडान सुरक्षासमेत प्रभावित भएको उहाँको भनाइ छ । 

‘पार्किङमा बगेर आउने फोहोर व्यवस्थापनका लागि सिमकोट गाउँपालिकालाई पटक पटक आग्रह गरिए पनि कुनै प्रभावकारी कदम चालिएको छैन । उहाँले भन्नुभयो, “बेलाबेलामा हामीले फोहोर हटाउन अनुरोध ग¥यौँ, तर पालिकाले जिम्मेवारीपूर्वक व्यवस्थापन गरेको देखिँदैन, वर्षाको समयमा त बजारभरिको फोहोर बग्दै आउँछ र पार्किङ क्षेत्रभित्र छिर्छ, जसले दुर्गन्ध फैलाउँछ र विमानस्थल क्षेत्रमा चराचुरुङ्गी जम्मा हुन थाल्छन् । चराको उपस्थितिले जहाजको टेक–अफ र ल्यान्डिङमा प्रत्यक्ष असर पार्ने गरेको छ ।” यातायातको प्रमुख विकल्पका रूपमा रहेको सिमकोट विमानस्थलमा यस्तो अवस्थाले यात्रु, पाइलट, विमान कम्पनी र पर्यटक सबैको सुरक्षामा चुनौती खडा गरेको स्थानीयवासीको चिन्ता छ । साथै, विमानस्थलको छवि र सन्देशमा समेत प्रतिकूल असर पर्न थालेको छ । अत्यधिक संवेदनशील मानिएको यो विमानस्थलको सुरक्षामा चुनौती खडा भएको भन्दै पटक पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नभएको पाइएको छ । 

विमानस्थल सरसफाइका लागि पालिकाले निरन्तर पहल गर्दै आएको र पालिकाले बेलाबेलामा विमानस्थल वरपर सफाइ गरिरहेको छ । वर्षा हुनासाथ बजारभरिको फोहोर बग्दै पार्किङ क्षेत्रमा पस्दा समस्या देखिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि योजना निर्माण भइसकेको र अब छिट्टै प्रभावकारी उपाय कार्यान्वयनमा ल्याइने जानकारी उहाँले दिनुभयो । फोहोर व्यवस्थापनको अभावले पर्यटन प्रवर्धनमा समेत नकारात्मक असर पारिरहेको स्थानीय पर्यटन व्यवसायी विनोद लामाले बताउनुभयो । विमानस्थलमा बजारका व्यवसायीले रातिको समयमा ट्वाइलेटको सेप्टी ट्याङ्कीसमेत मिसाउने गर्दा विमानस्थल क्षेत्र थप दुर्गन्धित बन्दै गएको छ ।