पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार २० गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सिँचाइ सुविधा विस्तारलाई तीव्र पारेको छ । लामो समयदेखि सिँचाइ अभावका कारण समस्या भोग्दै आएका किसानहरूलाई राहत दिन नगरपालिकाले विभिन्न वडामा यो सुविधा पुर्याइरहेको छ ।
‘किसानसँग मेयर’ कार्यक्रमअन्तर्गत पालिकाका विभिन्न वडाहरूमा बोरिङ निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिएको हो । नगर प्रमुख धनपत यादवले सीमित स्रोत र साधनका बाबजुद सबै किसानलाई सिँचाइ पुर्याउन नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको र चालु आर्थिक वर्षको सुरुदेखि नै बोरिङ गाड्ने काम जारी रहेको जानकारी दिनुभयो ।
पछिल्लो पटक रामग्राम वडा नम्बर १४ मा बोरिङ निर्माण सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको कृषि शाखा प्रमुख किरण कुमार गुप्ताका अनुसार, नगरपालिकाले करिब ६ लाख रुपियाँको लागतमा यो बोरिङ निर्माण गरेको हो, जसमा १५ प्रतिशत उपभोक्ताको लागत साझेदारी रहेको छ । यस पहलले रामग्राम नगरपालिकाका किसानहरूलाई सिँचाइको समस्याबाट केही हदसम्म भए पनि मुक्ति मिल्ने र कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।