राजन रावत
हुम्ला, असार २० गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिकाको चट्टानी र असजिलो बोक्चे गौडादेखि याङ्चु कुनासम्मको सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाली सेनाले सो सडकको स्तरोन्नति गर्न होल खोप्ने, बिष्फोट गर्ने र स्काभेटरबाट सडक मिलाउने कार्य सँगसँगै गर्दै आएको कारण निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
विशेषगरी सेनाले जिम्मा पाएको मध्य बोक्चे गौडा र भिगौडाको चट्टानी असजिलो खण्डको सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको नेपाली सेना उक्त खण्ड विकास निर्माण दलका सेनानी अमृत पराजुलीले बताउनुभयो । उहाँले दुबै चट्टानी क्षेत्रमा होल खोप्ने, विस्फाेट गर्ने र मेसिनबाट विस्फाेट भएको ढुङ्गा पन्छाउने र सडकको ग्रेड मिलाउने कार्य सँगसँगै भइरहेको र त्यो पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले बोक्चे गौडामा नब्बे प्रतिशत कार्य पूरा भएको र बाँकी काम भइरहेको, अब भिगौडामा निर्माणका लागि सेनाको ध्यान बढी गए अनुसार कामलाई तीव्रता दिइएको बताउनुभयो । भिगौडाको असी प्रतिशत कार्य पूरा भएको छ ।
रात दिन काम भइरहेको कारण असार मसान्तसम्म सडकको स्तरोन्नति गर्ने कार्य पुरा हुने बताउँदै काम गर्ने जिम्मेवारी पनि असार मसान्तसम्म रहेको उहाँले बताउनुभयो । यी दुई चट्टानी भीरमा पन्द्रदेखि बीस मिटर चट्टान विस्फाेट गरेर सडक तल झारिएको छ । अब सडक निर्माण कार्य अन्तिम चरणमा पुगेकोले असार मसान्तसम्म सम्पन्न हुने सेनाले जनाएको छ ।
यी दुई मध्य बोक्चे गौडा एक सय मिटर लम्बाई रहेको छ भने भिगौडा सत्तरी मिटर लम्बाइ रहेको छ । चट्टानी क्षेत्रमा सडक छ देखि आठ मिटर चौडा निर्माण गरिएको छ । बोक्चे गौडादेखि याङ्चुकुनासम्मको आठ सय मिटर सडकको स्तरोन्नती गर्नु पर्नेमा यसअघि ६३० मिटर सडकको स्तरोन्नती गर्ने कार्य पुरा भई सकेको छ ।
निर्माण कार्य भइरहेको कारण यातायात सेवा बन्द गरिएको छ । सो खण्डको सडकमा सेनाले चैत २५ गतेबाट निर्माणा कार्य सुरु गरेको थियो । यसअघि कर्णाली करिडोरको हुम्ला खण्डमा कवाडीबाट सलीसल्लासम्मको ३९ किलो मिटर र दुल्ली कुनादेखि लालीबगरसम्मको ११ किलोमिटर सडक सेनाले निर्माण कार्य पुरा गरेको थियो ।