मुस्ताङ जिल्लाको ल्होमन्थाङ गाउँपालिका–१ को छोसेर गाउँमा अवस्थित जोङ गुफा (स्थानीय भाषामा ‘सिजा जोङ) नेपालको ऐतिहासिक, सांस्कृतिक सम्पदा र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण गुफामा पर्दछ ।
उसको इतिहास करिब २५ सय वर्ष पुरानो छ भने निर्माण करिब इपू ८०० तिर भएको अनुमान गरिन्छ । यो नेपालको सबैभन्दा पुरानो मानवनिर्मित गुफामध्ये एक ठहरिन्छ । समुद्री सतहदेखि करिब तीन हजार ७८५ मिटर उचाइमा रहेको यो गुफा प्राचीन मानव सभ्यताको झल्को दिने स्थलका रूपमा चिनिन्छ ।
गुफाको प्रवेशद्वार जमिनभन्दा माथि रहेका कारण भित्र प्रवेश गर्न पहाड चढ्नुपर्छ । यो गुफा करिब १५५ फिट अग्लो चट्टानमा खोपिएको छ । जोङ गुफा भुइँसहित छ तला भएको यस्तो संरचना हो जसमा करिब ५० वटा कोठा रहेका छन् । हरेक तलाको बिचमा बाटो र दायाँबायाँ कोठा छन् ।
एक तलाबाट अर्को तलामा जान काठका भर्याङ प्रयोग गरिएको छ । गुफाभित्र बत्ती बाल्ने ठाउँ, सामग्री भण्डारण गर्ने स्थान र विभिन्न कलाकृति देख्न सकिन्छ । यहाँका कोठामा धुवाँ लागेका भित्ता र सामग्री भण्डारण गर्ने ठाउँ देखिएकाले यो गुफाले कुनै समय दीर्घकालीन बसोवासका लागि प्रयोग भएको प्राचीन जीवनशैलीको सङ्केत दिन्छ ।
नेपाल सरकारले सन् १९९६ मा जोङ गुफासहित मुस्ताङ क्षेत्रलाई युनेस्कोको विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरेको थियो । हालसम्म यो क्षेत्र युनेस्कोको अस्थायी सूचीमा रहेको छ ।
पृष्ठभूमि र किंवदन्ती
स्थानीय विश्वास अनुसार करिब दुई हजार वर्षपहिले मानिसले यो गुफामा बसोवास गर्थे । किंवदन्ती अनुसार तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा लुकेर बसेका थिए । आक्रमणकारीले पानीको मुहान थुनिदिएपछि गाउँलेले उनीहरूलाई लखेटे । प्रतिशोधमा आक्रमणकारीले गुफाभरि तेल पोखिदिएका थिए । जसको असर आज पनि गुफाभित्र देखिन्छ ।
गुफालाई तत्कालीन मुस्ताङ राज्यका बासिन्दाले युद्ध, प्राकृतिक प्रकोप र प्रतिकुल मौसमबाट जोगिनका लागि बनाएको विश्वास गरिन्छ ।
सिजा जोङ र गोप्य बस्तीको कथा
स्थानीय भाषामा जोङ गुफालाई सिजा जोङ भनिन्छ । जसको अर्थ राजाको गुफा वा गोप्य दरबार भन्ने हुन्छ । किंवदन्ती अनुसार मुस्ताङ राज्यमा बाह्य आक्रमण (विशेषतः तिब्बती आक्रमण) बढेपछि राजा र बासिन्दाले यो गुफालाई गोप्य र सुरक्षित बस्तीका रूपमा विकास गरेका थिए । गुफाभित्रका कोठा, भण्डारण कक्ष र चुलोको अवशेषले के देखाउँछ भने यहाँ लामो समयसम्म बाँच्न सकिने तयारी थियो ।
बुद्धिमत्ता र धैर्यको कथा
किंवदन्ती अनुसार एक पटक आक्रमणकारीले गुफा वरिपरिका पानीका स्रोत थुनिदिए । अनि गुफाभित्र आफूहरू सामान्य रूपमा बाँचिरहेका जनाउन त्यहाँका बासिन्दाले गुफाबाहिर फोहोर र दिसा फाले । यसले आक्रमणकारीहरू झुक्किए । उनीहरूले सोचे गुफाभित्र पानीको अर्कै स्रोत छ । अन्ततः आक्रमणकारी हार मानेर फर्किए ।
धार्मिक पात्र र गुम्बा
जोङ गुफानजिकैका क्षेत्रमा गर्फु र निफु गुम्बा छन् । ती प्राचीन बौद्ध मठ हुन् । विश्वास गरिन्छ ती गुफामा बसेका मानिस तान्त्रिक साधनामा संलग्न थिए । त्यसैकारण पनि गुफा धार्मिक दृष्टिले पवित्र मानिन्छ ।
मानव अस्थि र समाधि
अमेरिकी र नेपाली पुरातत्वविद्को टोलीले सन् १९९० को दशकमा र त्यसपछि पुनः २००७–२०१० तिर गुफा परिसरमा अनुसन्धान गर्दा मानव अस्थि, खप्पर र समाधिस्थल भेटाएका थिए । तीमध्ये केही अस्थि तीन हजार वर्ष पुराना रहेको वैज्ञानिक परीक्षणमा पुष्टि भएको छ ।
हातले लेखिएका ग्रन्थ
गुफाभित्र पुरानो तिब्बती भाषा र संस्कृत भाषामा लेखिएका धार्मिक तथा औषधीसम्बन्धी ग्रन्थ भेटिएका छन् । यी ग्रन्थबाट पुरानो बौद्ध चिकित्सा प्रणाली, तान्त्रिक अभ्यास र तिब्बती–नेपाली सांस्कृतिक आदानप्रदानबारे ज्ञान पाइन्छ ।
चित्रकला र मूर्ति
गुफाको भित्तामा बौद्ध धर्मसँग सम्बन्धित चित्र, रङ्गीन भित्तेचित्र र ढुङ्गाका मूर्ति भेटिएका छन् । केही चित्रमा पद्मसम्भव, अवलोकितेश्वर र अन्य बौद्ध देवताको आकृति देखिन्छ ।
धातुका औजार र गहना
धातुका औजार, सुँगुरको हड्डीबाट बनेका सजावटी सामान र तामा–पित्तलका गहना पनि फेला परेका छन् । यसले गुफा प्रयोगकर्ताको जीवनशैली, व्यवस्थित समाज र धार्मिक आस्था झल्काउँछ ।
जोङ गुफा कुनै साधारण गुफा मात्र होइन यो नेपालको हिमाली सभ्यताको एक भण्डार नै हो । जोङ गुफाको अध्ययन र संरक्षणले नेपालको पुरातात्त्विक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।
पर्यटन र पहुँच
जोङ गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बनेको छ । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल बढी हुन्छ । बेनी–जोमसोम–कोरला सडकको ल्होमन्थाङ नेचुङ खण्डदेखि जोङ गुफासम्म सवारीसाधनबाट पुग्न सकिन्छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतीक्षालय भवन निर्माण गरिएको छ ।
प्रवेश शुल्क र संरक्षण
गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकबाट हजार रुपियाँ र स्वदेशी पर्यटकबाट सय रुपियाँ शुल्क लिइन्छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएको छ ।
–युवामञ्च