• २ जेठ २०८३, शनिबार

सडक मानव खोज्दै मानव सेवा आश्रम

blog

ढल्केबरबाट उद्दार गरिएको सडक मानव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, जेठ २ गते । सडक आश्रित तथा सहयोगापेक्षी मानवको उद्धार अभियान अन्तर्गत मानव सेवा आश्रमको टोली शनिबार धनुषाको ढल्केबर आइपुगेको छ ।

मानव सेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको सहकार्यमा सञ्चालित ‘मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा २०८३’ अन्तर्गत पाँचौँ दिनमा यहाँ आइपुगेको टोलीले सडक आश्रित व्यक्तिको खोजी तथा उद्धार कार्य गरेको हो ।

मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले सडक मानवमुक्त देश बनाउने सरकारको अभियानलाई सफल बनाउन आश्रमका अभियन्ता देशव्यापी उद्धार यात्रामा खटिएको बताउनुभयो ।

उहाँका अनुसार ढल्केबर क्षेत्रमा गरिएको खोजी अभियानका क्रममा एक जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ ।

उहाँले मधेश प्रदेश अन्तर्गत सप्तरी, सिराहा र धनुषामा गरी हालसम्म ११ जनाको उद्धार गरिएको बताउँदै उद्धार गरिएकामध्ये चार जना महिला र सात जना पुरुष रहेको जानकारी दिनुभयो ।

त्यस्तै, कोशी प्रदेशबाट मात्रै ४८ जना सडकआश्रित मानवको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् ।

आश्रमले सडकपेटी, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा कष्टकर जीवन बिताइरहेका व्यक्तिलाई उद्धार गरी आश्रममा संरक्षण, उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्दै आएको  महासचिव केसीले बताउनुभयो ।

सडकको पीडा, बेवास्ता र असहायताबिच जीवन बिताइरहेका व्यक्तिलाई संरक्षणमा ल्याएर नयाँ जीवनतर्फ अग्रसर गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

वैशाख २७ गते काठमाडौँबाट सुरु गरिएको उक्त अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । वर्षायाममा कसैले पनि सडकपेटीमा कष्टकर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । 

झापाबाट औपचारिक रूपमा सुरु गरिएको यात्रामा मेची पुलमा दीप प्रज्ज्वलन गरिएको थियो । यात्रामा २४ जना सहभागी रहेका छन् ।

मानव सेवा आश्रमले सडक आश्रित मानव देखिएमा उद्धार कार्यमा सहजीकरणका लागि नजिकको प्रहरी कार्यालय वा आश्रमलाई जानकारी गराइ सहयोग गर्न महासचिव केसीले सबैमा आग्रह गर्नुभयो ।