राजन रावत
हुम्ला, असार १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली यही असार २२ गते हुम्ला आउनुहुने भएको छ । कर्णाली करिडोरअन्र्तगत हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण भएको बेलिब्रिजको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउन लाग्नुभएको हो ।
नेकपा एमाले कर्णाली प्रदेशका सदस्य नवराज महताराले यही असार २२ गते प्रधानमन्त्री ओली नयाँ निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न हुम्ला आउन लाग्नुभएको जानकारी दिनुभयो ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला आउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ ।
केही दिन अघि प्रधानमन्त्री ओलीले अब हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिने दिन टाढा नभएको बताउनुभएको थियो ।
सेनाले सो बेलिब्रिजको स्टिल पार्टको जडान कार्य पूरा गरेर एप्रोज वाल समेत निर्माण गरिसकेको छ । साथै पुलको पश्चिमतर्फ ग्याविन वाल लगाउने कार्य समेत पूरा भइसकेको छ । नेपाली सेनाले निर्माण गरेको सो बेलिब्रिको लम्बाइ ५२ मिटर रहेको छ ।
दोजाम कर्णाली नदीमा पुल नभएका कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रुपमा जोडिन पाएको थिएन । त्यही कारण हुम्लावासीले तत्काल सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माणका लागि माग गरेका थिए ।
गत पुसमा सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर सो बेलिब्रिजको निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिएको थियो । बेलिब्रिजको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएलगत्तै अब सदरमुका सिमकोटबाट सिधै सुर्खेत, नेपालगन्ज र काठमाडौँसम्म गाडीमा यात्रा गर्न सकिने छ । सेनाले सो बेलिब्रिज असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम गर्ने जिम्मेवारी पाएको थियो ।