नेपालको पुँजी बजार ३२०० सयको अलटाइम हाइबाट फर्किएर करिब तीन वर्ष १९०० विन्दु वरपर घुमेर बस्यो । उक्त स्थानबाट एक पटक ३००० विन्दु पुगेको बजार त्यसपछिको नौ महिनासम्म पनि २५०० र २८०० विन्दुबिच घुमिरहेको देखिन्छ । यो बजारले अघिलो बुलको उचाइ नाघेर अगाडि बढ्न सकिरहेको छैन । खास गरी बजारले अहिलेसम्मकै सबैभन्दा बढी ३२०० अङ्कको खड्को काट्न चाहिने शक्तिप्राप्त गर्न सकेको छैन । त्यसो हो भने यस्तो शक्ति कसरी प्राप्त हुन सक्छ त ? विगतमा बजारमा ब्याजदर घटेपछि दौडिन थाल्ने नेपालको धितोपत्र बजार यसपालि घटेको ब्याज र नयाँ गर्भनर आएसँगै भएका छिटफुट नीतिगत लचकताले कुद्न मानिरहेको छैन । हरेक विज्ञ र आफूलाई अनुभवी भन्ने लगानीकर्ताले गरेको विश्लेषण फेल खाइरहेको छ । बजार अब छिटै पाँच हजार र छ हजारको विन्दुमा पुग्छ भनेर प्रवचन दिनेहरू आजकल बोली बदल्न थालेका छन् । विशेष गरेर बजारमा प्रयोग भएको प्रविधि र लगानीकर्ताको मनोविज्ञान हिजोको भन्दा फरक छ ।
अहिलेका लगानीकर्ताको शिक्षा, सूचनामा पहुँच, लगानी संस्कार, बजार रणनीति, राज्यले ल्याउने नीति तथा कार्यक्रम, लगानीका विकल्प, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दर्ता भएका कम्पनीको सङ्ख्या, पुँजी, बजारमा आउने नयाँ माग, आपूर्ति, नयाँ पैसा र बजारको आकारलगायत विविध कारणले गर्दा बजारले विगतमा ब्याज घट्दा वा सामान्य मौद्रिक नीति फेरबदल हुँदा जसरी सजिलै आफूलाई सुधार गर्न सक्ने अवस्था थियो अहिलेको बजारमा त्यो परिस्थिति छैन । बजारमा लगानीकर्ताको मनोबल कमजोर रहँदा र नीतिगत अस्थिरताले लगानीकर्ताको रणनीतिलाई हल्लाउँदा सिङ्गो बजार सुधार हुन सकेको छैन । खुद्रा सुधार र सामान्य नीतिगत फेरबदलले मात्रै अहिलेको बजार र अर्थतन्त्रलाई गन्तव्यमा पु¥याउन सक्ने देखिँदैन । यसका लागी ‘बिग पुस’ को खाँचो छ । अहिलेको बजार सुधारका लागि लगानीकर्ताले खोजेको ‘बिग पुस’ राज्यले पहिचान गर्न सक्नु पर्छ । सम्बन्धित निकायले, त्यसै अनुसारका नीति तथा रणनीतिसहित कार्यक्रम ल्याउन सक्ने हो भने मात्रै बजारमा सुखद दिन देख्न पाइन्छ । बजारलाई अग्रगामी यात्रामा लैजान सक्ने धेरै आधार छन् ।
मौद्रिक नीतिमार्फत खोजिएको धक्का
बजेट भाषणमार्फत आर्थिक वर्ष २०८२/८३ को वित्तीय नीति आइसकेको छ । आगामी आवको लागि आउन लागेको मौद्रिक नीति उक्त वित्तीय नीतिलाई सहयोग गर्ने र थप लचक भएर आउने अपेक्षा वर्तमान गर्भनरसँग लगानीकर्ताले राखेका छन् । विगतको राष्ट्रिय अवस्था र अर्थतन्त्रमा देखिएको शिथिलताबिच ल्याइएको मौद्रिक नीतिभन्दा यस पटक आउने मौद्रिक नीति थप लगानीमैत्री हुनेमा लगानीकर्ता ढुक्क भएर बसेको अवस्था छ । यस पटकको मौद्रिक नीति बैङ्क तथा वित्तीय संस्थाको ५.२४ प्रतिशत र वाणिज्य बैङ्कको मात्रै ४.८३ प्रतिशत रहेको बढ्दो खराब कर्जा सुधार गर्न सक्ने गरेर ल्याउनुपर्ने देखिन्छ । अस्वस्थ गैरबैङ्किङ सम्पत्ति, बजारमा भएको तरलताको सदुपयोग, माग सिर्जना गर्ने, कर्जा विस्तार गर्ने, बैङ्क तथा वित्तीय क्षेत्रले आफूले चाहेको समयमा धितोपत्र बिक्री गर्न पाउने खरिद गरेको एक वर्ष कुर्न नपर्ने, कर्जामा भएको रु. १५ करोड (व्यक्तिगत तर्फ) र रु. २० करोड (संस्थागततर्फ) को क्यापिङ हटाउने, लघुवित्तका वास्तविक पीडितलाई राहतका कार्यक्रम घोषणा र क्षमता भए पनि १५ प्रतिशतभन्दा बढी बोनस सेयर वितरण गर्न नपाउने व्यवस्थाको खारेजीसहित आउनु पर्छ मौद्रिक नीति ।
वास्तविक मर्कामा परेका ऋणीलाई कर्जा पुनर्तालिकीकरण गरेर थप तीन महिना थपिदिनुपर्ने, उक्त अवधिमा भएको आयलाई समेत यसै आवमा देखाउन पाउने व्यवस्था मिलाउनुपर्ने, वित्तीय नीतिले गरेको गैरआवसीय नेपाली (एनआरएन) ले सजिलै लगानीको प्रतिफल लैजान पाउने घोषणालाई प्रभावकारी कार्यान्वयन गरेर बजारमा नयाँ पैसा ल्याउन आवश्यक नीति आउनुपर्ने, ब्याड बैङ्क अवधारणा अगाडि बढाउनु पर्ने, विगतदेखि भनिएको तर सशक्त रूपमा कार्यान्वयन हुन नसकेको दलालमार्फत लगनीकर्तालाई दिने भनिएको मार्जिन ल्यान्डिङ कर्जा विस्तारका लागि राष्टङ बैङ्का तर्फबाट गर्नुपर्ने सहजीकरणसमेत यसै मौद्रिक नीतिमा आउन जरुरी छ । लगानीकर्ताको मनोविज्ञानलाई खल्बलाउने र नकारात्मक प्रभाव पार्ने खालका बुँदा अहिलेको अवस्थामा आउने हो भने बजार अझै प्यानिक हुने पक्का छ ।
राष्ट्र बैङ्कले बुझ्नुपर्ने के हो भने भर्खरै वित्तीय नीतिमा ‘टेक अर पे’ को ठाउँमा ‘टेक एन्ड पे’ आउँदै गर्दा जुन विवाद र समस्या ऊर्जा क्षेत्रमा देखियो, राज्यले त्यसलाई महसुस गरेर ‘टेक अर पे’ नै राख्ने निर्णय गरिसकेको छ । हालको अवस्थामा बजारमा तरलता प्रशस्त छ, वाणिज्य बैङ्कहरूको सिडी रेसियो ७८.८० प्रतिशत छ तर पनि केही बैङ्क प्रथम श्रेणी पुँजी (कोर पुँजी) र पुँजी पर्याप्तता अनुपात क्रमशः ८.५ प्रतिशत र ११ प्रतिशतको सीमाका कारण आफूसँग पैसा भएर पनि कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन्, त्यतातिर पनि मौद्रिक नीतिले ध्यान दिनुपर्ने छ । ब्याजदर न्यून विन्दुमा आइपुगेको छ, कर्जाको माग बढ्न सकेको छैन, घर जग्गा कारोबार सुस्त छ, पैसा बैङ्कमा थुप्रँदै जाने अवस्था छ । यस्तो अवस्थामा आउने मौद्रिक नीति कर्जा विस्तार गर्न सक्ने किसिमको हुन जरुरी छ ।
हिजोका भन्दा धेरै खुकुलो नीति नेराबैङ्ले ल्याउनुपर्ने देखिन्छ । त्यस्तो नीति आउन सक्ने हो भने मात्रै आन्तरिक कर्जाको माग बढ्ने, आर्थिक गतिविधि चलायमान हुने, उत्पादन र रोजगारी सिर्जना हुने, तरलताको व्यवस्थापन हुने, पुँजी बजारमा सकारात्मक माहोल बन्ने र यसको साथै घरजग्गाको कारोबार बढ्न गई राज्यको राजस्वसमेत वृद्धि हुँदै जाने छ ।
सेबोनसँग गरिएको अपेक्षा
लगानीकर्ताले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ल्याउन लागेको आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा धितोपत्र बजारको विकास, विस्तार र गतिशीलताका लागि केही महत्वपूर्ण कार्य अगाडि ल्याउनुपर्ने अपेक्षा राखेका छन् । नेपाल सरकारले अगाडि सारेको एनआरएनलाई पुँजी बजारमा लगानी गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न आवश्यक पूर्वधार बनाउने काम सेबोनको भएकाले त्यसै अनुसारका कार्यक्रम ल्याउनु पर्छ । एनआरएनले केवल एनआरएनको कोष र कम्पनीमा मात्रै लगानी गर्न पाउने सीमिततामा नराखी दोस्रो बजारमा खुला रूपमा लगानी गर्न पाउने वातावरणसमेत बनाउनु आवश्यक छ । यसै अनुसार सेबोनले नीति ल्याउनु जरुरी छ ।
नेप्सेको पुनर्संरचना गर्ने र नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमतिपत्र दिने, बजारलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने कामसमेत नियामकको हैसियतमा सेबोनको काँधमा आएको छ । नेपालको बजार एकोहोरो भयो, बढेको समयमा मात्रै लगानीकर्ताले कमाउन सकिने र बजार घटेमा कमाउन नसकिने भयो भनेर भनिँदै आएको अवस्थामा नेप्सेमार्फत सर्टसेल, अप्सन, कमोडिटी बजारको थालनी, लाइभ राफसाफ हुने व्यवस्था, दलाल कम्पनीमार्फत मार्जिन टे«न्डिङको सहज उपलब्धता, नीतिगत स्थिरता, बजारमा आपूर्ति मात्रै नभई माग सिर्जना गर्न ठुला र संस्थागत लगानीकर्तालाई आकर्षण गर्ने र साना लगानीकर्तालाई संरक्षण गर्न चेतनामूलक विविध कार्यक्रम सञ्चालन रणनीति बनाउनुपर्ने देखिन्छ ।
आगामी आवका लागि आउँदै गरेको मौद्रिक नीति र सेबोनका नीति तथा कार्यक्रम वित्तीय नीतिलाई सहयोग पु¥याउने र बजारलाई सुधार हुन पौष्टिक आहारका रूपमा काम गर्ने हुन जरुरत छ । यसको साथै लगानीकर्ताका सङ्घ संस्था र विज्ञले दिएका सुझाव कार्यान्वयन, अन्तर्राष्ट्रिय अभ्यास, विकसित स्वरूप, प्रविधि र उपकरणलाई नेपाल भित्र्याउन र लगानीकर्ता मैत्री संस्थाका रूपमा आफू रहेको कुरा लगानीकर्तालाई विश्वस्त बनाउनु पर्छ ।
धितोपत्र बजार र देशको अर्थतन्त्रलाई माथि भनिए जस्तो दुई निकायले नीतिगत निर्णय लिएर आएको खण्डमा बजारले एउटा ‘बिग पुस’ महसुस गर्ने छ । जसका कारण बजार स्थायी ढङ्गबाट सुधार हुने र लगानीकर्तामा आउने सकारात्मक भावले कमजोर बनेको मनोविज्ञानलाई बलियो बनाउन सक्ने हुँदा, पुँजी बजारमा उत्साहको लहर आउने छ । यो भन्दा पनि महìवपूर्ण पक्ष पुँजी बजारमा आएको तरङ्गले राष्ट्रिय अर्थतन्त्रमा गतिशीलता ल्याउने पक्का छ । जसले गर्दा समग्रमा उद्योग तथा व्यवसाय, उत्पादनशील क्षेत्र, घरजग्गा, अटो क्षेत्र र अन्य क्षेत्रमा समेत एकपछि अर्को गर्दै सकारात्मक प्रभाव देख्न पाइने छ ।