वासिङ्टन डीसी अमेरिका, असार १८ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको बताउनुभएको छ । ट्रम्पले हमासलाई युद्धविराम सम्झौता अस्वीकार नगर्न चेतावनी दिँदै अस्विकार गरेमा राम्रो नहुने जनाउनुभएको छ ।
ट्रम्पका अनुसार कतार र इजिप्टले शान्तिका लागि मद्दत र मेहनत गरी, अन्तिम प्रस्ताव दिने र प्रस्तावित युद्धविराम अवधिमा युद्ध अन्त्यका लागि वार्ता जारी रहने पनि उहाँले बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभयो, “मेरा प्रतिनिधिहरूले गाजामा आज इजरायलीहरूसँग लामो र फलदायी बैठक गरे । इजरायलले ६० दिने युद्धविरामका लागि अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ ।”
उहाँले अगाडि लेख्नुभएको छ, “यस अवधिमा हामी युद्धको अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्नेछौ । कतार र इजिप्टवासीले शान्तिका लागि अन्तिम प्रस्ताव दिने आशा गर्दछु, । मध्यपूर्वको शान्तिको लागि, हमासले यो सम्झौतामा सहमत हुनेछ ।” यो घोषणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको जुलाई ७ मा हुने भनिएको अमेरिका भ्रमणको एक हप्ताभन्दा कम समय बाँकी रहँदा आएको हो । रासस/एएनआई