• १९ असार २०८२, बिहिबार

इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन

blog

इरान, असार १९ गते । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्वनका लागि कानुन लागू गर्न आदेश जारी गर्नुभएको छ ।

संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्वन गर्न आह्वान गरेको बताउनुभयो ।

पेजेश्कियानले मङ्गलबार इरानको आणविक ऊर्जा सङ्गठन, इरानी विदेश मन्त्रालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्लाई लेखेको पत्रमा यो आदेश जारी गर्नुभयो । इरानी संसदले गत बुधबार पारित गरेको र भोलिपल्ट संवैधानिक परिषद्ले अनुमोदन गरेको कानुन संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानको राष्ट्रिय सार्वभौमिकताको उल्लङ्घन र देशको क्षेत्रीय अखण्डता साथै शान्तिपूर्ण आणविक सुविधाहरूमाथिको आक्रमणका कारण लागू गरिएको हो ।

जुन १३ मा, इजरायलले इरानका आणविक तथा सैन्य स्थलहरूसहित धेरै क्षेत्रहरूमा ठुला हवाई आक्रमणहरू गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू, आणविक वैज्ञानिकहरू र धेरै नागरिकहरू मारिएका थिए । इरानले इजरायलमा धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूको जवाफ दिएको थियो । जुन २२ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले तीन इरानी आणविक स्थलहरू – फोर्डो, नातान्ज र एस्फहानमा हवाई आक्रमण गरेको बताउनुभयो ।

प्रतिक्रियामा इरानले कतारमा रहेको अमेरिकी अल उदेइद हवाई अड्डामा क्षेप्यास्त्र आक्रमणहरू गरेको थियो । १२ दिनको लडाई पछि, जुन २४ मा इरान र इजरायलबिच युद्धविराम भएको हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल