मिर्गौलाभित्र पिसाबको मसिना गुजुल्टिएका नलीको सतही कोषबाट मिर्गौलाको क्यान्सर सुरु हुन्छ। मिर्गौला क्यान्सरको आशङ्का पिसाबको प्रारम्भिक जाँचबाट गर्न सकिन्छ। महिलाको दाँजोमा पुरुषमा मिर्गौलाको क्यान्सर हुने सम्भावना डेढ गुणा बढी देखिएको छ। मिर्गौलाको क्यान्सर मानिस ६० वर्ष पुगेपछि बढ्ता लाग्दछ। भौगोलिक, जनसाङ्ख्यिक र वंशाणुगत आधारमा मिर्गौलाको क्यान्सर प्रत्येक दशकमा दुईदेखि तीन प्रतिशतले वृद्धि हुने क्रममा छ।
जोखिम तत्व
मिर्गौलाको क्यान्सर जीवनशैलीसँग सम्बन्धित छ। धूमपान, मोटोपना, उच्च रक्तचाप यसका केही जोखिम तत्व हुन्। यसका साथै एस्बेस्टस, क्याड्मियम, सिसा (लिड), क्लोरिनयुक्त सोल्भेन्ट (घोलक), पेट्रोकेमिकल, पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बनलगायतका रसायनसँग सम्बन्धित उद्योगमा काम गर्ने मानिसमा मिर्गौलाको क्यान्सर हुन सक्ने व्यवसायजन्य जोखिम बढ्ता छ। त्यसै गरी ब्रुफेन, डिक्लोफेनाक, निम्स जस्ता पीडा कम गराउने औषधी लामो समय प्रयोग गर्ने व्यक्तिमा पनि मिर्गौलाको क्यान्सर देखिएको छ।
कारण स्पष्ट नभए पनि पाठेघर निकालिसकेको महिलामा पनि कालान्तरमा मिर्गौलाको क्यान्सर हुने जोखिम देखिएको छ र मिर्गौलाको क्यान्सर प्रभावित मानिसको नजिकका आफन्तमा वंशाणुगत रूपमा यो क्यान्सर हुने जोखिम दुईदेखि चार गुणासम्म बढी छ।
लक्षण
पिसाबमा रगत देखा पर्नु पहिलो र प्रमुख लक्षण हो। त्यसैले विशेषतः ६०–७० वर्षका पुरुषले आफ्नो पिसाबमा रगत देखा पर्ने समस्यालाई गम्भीर रूपमा लिनु पर्दछ। पिसाब रातो हुनुका साथै कम्मरदेखि तल्लो करङको किनारमा पीडा हुनु र त्यसै क्षेत्रमा मासुको डल्लो देखा पर्नु पनि यस रोगका मुख्य लक्षण हुन्।
यसका साथै शरीरको तौल घट्नु, ज्वरो आउनु, रक्तचाप बढ्न थाल्नु, राति पसिना आउनु, बिसन्चो महसुस हुनु मिर्गौलाको क्यान्सरका अन्य लक्षण हुन्। त्यसै गरी क्यान्सर मिर्गौला बाहिर लिम्फनोड (गिर्खा), फोक्सो, कलेजो, मिर्गौलामाथि हुने एड्रिनल ग्रन्थी, मस्तिष्कलगायतका अन्य अङ्गमा फैलिसकेको खण्डमा प्रभावित अङ्ग अनुसारका थप लक्षण पनि देखा पर्दछन्।
खाद्य प्रणाली अन्तर्गत खान मन नलाग्ने, वाकवाकी लाग्ने, बान्ता आउने, पखाला लाग्ने तथा श्वास प्रणाली अन्तर्गत खोकी लाग्ने, सास फेर्न गाह्रो हुने हुन्छ। त्यसै गरी रक्त प्रणाली अन्तर्गत रक्तचाप बढ्ने, स्नायु प्रणाली अन्तर्गत मस्तिष्कमा रगत जम्ने, मस्तिष्काघात हुने हुन्छ। शरीरको प्रतिरोधात्मक क्षमतामा असर पुगेर सङक्रमणको जोखिम बढ्ने तथा आलस्य लाग्ने हुन्छ भने मूत्र प्रणाली अन्तर्गत मिर्गौलाको काममा असर पुग्दछ।
ट्युमरप्रति शारीरिक प्रतिक्रियाका कारण ट्युमरले सिधै प्रभाव नपारेका तन्तु वा अङ्गलाई असर पुगेर शरीरमा क्याल्सियमको मात्रा बढ्ने, प्लेटलेट्सको सङ्ख्या बढ्ने एवं एमाइलोइड भनिने एक खालको प्रोटिन मिर्गाैला, कलेजो र फियोमा जम्मा हुने गर्छ। त्यसै गरी मिर्गौलाको क्यान्सरका कारण इरिथ्रोपाइटिन भनिने हर्मोनको अधिक उत्पादनले रातो रक्तकणको सङ्ख्या बढाई रगत बाक्लो बनाउने वा यस हर्मोनको कम उत्पादनले रक्तअल्पता गराउने हुन्छ। यसका साथै स्नायु (नसा) झमझम हुने, हातखुट्टा कमजोर हुने, शरीरको सन्तुलन गुम्ने, शरीरका विभिन्न भागमा कम्पन छुट्ने, आँखा अस्वाभाविक ढङ्गमा यताउति चल्ने, मानसिक समस्या उत्पन्न हुने गर्छ।
निदान
विगतमा मिर्गौलाको क्यान्सर ढिलो गरी पत्ता लाग्थ्यो। अचेल नियमित स्वास्थ्य परीक्षण वा अन्य रोगको निदान गर्ने क्रममा गरिने रगत परीक्षण एवं अल्ट्रासाउन्डको व्यापक प्रयोगले तुलनात्मक रूपमा मिर्गौलाको क्यान्सर अलि आरम्भिक चरणमै पत्ता लाग्न थालेको छ। प्रभावित व्यक्तिसँग लक्षणको विवरण, गुनासो, तिनको शारीरिक परीक्षणका साथै पिसाबको सामान्य जाँचको क्रममा रातो रक्तकण, मधुमेह, प्रोटिन, ब्याक्टेरियाको परीक्षण गरी मिर्गौलाको क्यान्सरको सङ्केत पाउन सकिन्छ।
यसका साथै मिर्गौलाको काम गराई, कलेजोको काम गराई, हेमोग्लोबिन, प्लेटलेट्सको सङ्ख्या, रगत जम्ने पदार्थको परीक्षण, रगतमा लवण पदार्थको विश्लेषणका साथै अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआईको जाँचबाट मिर्गौलाको क्यान्सरको निदान गरिन्छ। विशेष खालको औषधी दिई मिर्गौलाको काम गराई, पिसाब निष्कासनको विश्लेषण, मिर्गौला एवं पिसाब नलीको बनावटबाट पनि यस क्यान्सरको निदान एवं जटिलता पत्ता लगाइन्छ।
प्रभावित मिर्गौलाको भागका कोष र तन्तुहरूको विश्लेषण गरी मिर्गौलाको क्यान्सरलाई विभिन्न स्तरमा वर्गीकरण गर्ने गरिएको छ। त्यसै गरी ट्युमरको आकार, यसको सीमितता, सँगैको तथा टाढाका अङ्गमा विस्तारको आधारमा मिर्गौलाको क्यान्सर कुन चरणमा पुग्यो भनेर निक्र्योल गरिन्छ।
उपचार
उपचारको हकमा शल्यक्रिया नै प्रमुख उपचारात्मक उपाय हो। क्यान्सर प्रभावित मिर्गौलालाई शल्यक्रियाद्वारा आंशिक वा पूर्ण रूपमा निकालेर निको पार्न सकिन्छ। यो क्यान्सर मिर्गौला बाहिर फैलिन सकेको अवस्थामा उपचारपछि प्रभावित व्यक्ति पाँच वर्ष बाँच्ने सम्भावना ६५ देखि ९० प्रतिशतसम्म हुन्छ।
अन्य धेरैथरीका क्यान्सरमा उपयोगसिद्ध केमोथेरापी र रेडियोथेरापी मिर्गौलाको क्यान्सरको हकमा त्यति प्रभावकारी देखिएका छैनन् । तर पछिल्लो समय इम्युनोथेरापी र टार्गेट थेरापीका माध्यमबाट फैलिसकेको मिर्गौलाको क्यान्सरको उपचारमा केही आशा जागेको छ।
यसरी शल्यक्रिया, इम्युनोथेरापी र टार्गेट थेरापी नै मिर्गौलाको क्यान्सरका लागि उपचारात्मक विकल्प हुन्। यस क्यान्सरको रोकथामको सवालमा शारीरिक तौल नियन्त्रणमा राख्नु बुद्धिमानी हुन्छ। यस क्यान्सरको उपचार व्यवस्थापन एवं सफलता प्रभावित व्यक्तिको उमेर, तिनको शारीरिक तन्दुरुस्ती, क्यान्सरको चरण, जीर्ण खालका अन्य चिकित्सा समस्या (उच्च रक्तचाप, मधुमेह, मुटु तथा रक्तनलीको समस्या), क्यान्सरको विस्तार, उपचार गर्ने अस्पतालको एवं चिकित्सकको दक्षतामा भर पर्दछ।