शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनिला, फागुन १९ गते । फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मङ्गलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ ।
हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको बताइएको छ । रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पाङ्गाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गर्नु भएको छ । पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको जनाउँदै पाइलटको अवस्था गम्भीर रहेको बताउनु भएको छ ।
प्रहरी अधिकारी पाङ्गाले हेलिकोप्टरको इन्जिनमा समस्या आएकाले थाहा पाएपछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा गर्दै दुर्घटना भएको बताउनु भएको छ । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस/एएफपी