• १९ फागुन २०८२, मङ्गलबार

बारामा १४५ मतदान स्थल अति संवेदनशील सुरक्षा योजनामा कडाइ

blog

शिवशङ्कर मिश्रा

बारा, फागुन १९ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित बारामा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाभरका मतदान स्थलको संवेदनशीलता मूल्याङ्कन गरी सुरक्षा तयारी तीव्र पारेको जनाएको हो ।

प्रहरीका अनुसार जिल्लाका ३०५ मतदान स्थलमध्ये १४५ स्थललाई अति संवेदनशील, १०८ स्थललाई संवेदनशील र ५२ स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।

भौगोलिक अवस्था, यातायात पहुँच, विगतका निर्वाचनका अनुभव, सामाजिक–सांस्कृतिक परिवेश तथा भौतिक पूर्वाधारको अवस्थालाई आधार मानेर वर्गीकरण गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुवँरले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार संवेदनशीलताको स्तरअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । “उच्च जोखिम भएका क्षेत्रमा थप जनशक्ति खटाइएको छ । मोबाइल गस्ती, एम्बुस टोली, द्रुत प्रतिक्रिया टोली (क्युआरटी) तथा सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालित छन”, उहाँले भन्नुभयो ।

जिल्लामा ३०८ मतदान स्थल अन्तर्गत ५८७ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सुरक्षाका लागि करिब एक हजार छ सय नेपाल प्रहरी र दुई हजार ६३८ म्यादी प्रहरी परिचालन गरिएको छ । 

साथै, उनीलाई इलाका र क्षेत्र अनुसार १३ जना प्रहरी निरीक्षक तथा  सात जना प्रहरी नायब उपरीक्षकले नेतृत्व तथा समन्वय गर्ने व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता पण्डितले बताउनुभयो ।

यसका अतिरिक्त नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले पनि छुट्टाछुट्टै सुरक्षा टोली परिचालन गरेका छन् । ती निकायले मतदान केन्द्र बाहिर घेराबन्दी सुरक्षा, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक अवस्थाको प्रतिकार्यको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रहरीले निर्वाचन आचारसंहिता कार्यान्वयन, अवाञ्छित गतिविधि नियन्त्रण तथा मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्न सहयोग पुर्‍याउन सबै सुरक्षा संयन्त्रबिच उच्च समन्वय कायम गरिएको जनाएको छ ।

 साथै, मतदातालाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

व्यापक जनशक्ति परिचालन, रणनीतिक सुरक्षा योजना तथा निरन्तर निगरानी मार्फत बारामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको सुरक्षा निकायले जनाएको छ ।