• १२ साउन २०८१, शनिबार

चर्चामा टाइटानिक

blog

आजभन्दा एक सय ११ वर्षअघि उत्तरी आन्ध्र महासागरमा डुबेको ‘टाइटानिक’ पानीजहाज यतिबेला पुनः चर्चामा छ। संसारभरका सञ्चार माध्यममा टाइटानिक छाएको छ। टाइटानिकको भग्नावशेष हेर्न गएका पाँच पर्यटकको समुद्रमै डुबेर निधन भएको छ।

‘टाइटन’ नामक पनडुब्बीमा टाइटानिक हेर्न जानेहरूमा पाकिस्तानी मूलका बेलायती अर्बपति दाउद शाहजादा र उनका १९ वर्षीय छोरा सुलेमान, बेलायती अर्बपति हमिश हार्डिङ, पल–अन्री नार्गेओ र ओसनगेट कम्पनीका प्रमुख स्टक्टन रस थिए।

उनीहरूले आठ दिनको यात्राका लागि प्रतिव्यक्ति साढे दुई लाख अमेरिकी डलर खर्चेका थिए तर उक्त पनडुब्बी २०८० साल जेठ २८ गते पानीभित्र पसेको ४५ मिनेटमै सम्पर्कविहीन भयो।

के थियो टाइटानिक ?

टाइटानिक आयरल्यान्डको बेलफास्टमा निर्मित तत्कालीन समयको निकै सुविधासम्पन्न विशाल पानीजहाज थियो। टाइटानिकको निर्माण ह्वाइट स्टार लाइन नामक कम्पनीले ग-यो। टाइटानिक नाम ग्रिक पौराणिक कथाको ‘टाइटन्स’ बाट राखिएको थियो। टाइटानिकको पूरा नाम भने ‘आरएमएस टाइटानिक’ हो। आरएमएसको अर्थ ‘रोयल मेल स्टिमर’ थियो। सन् १९०९ मा टाइटानिकको निर्माण कार्य सुरु भई सन् १९१२ मा पूरा भयो। २८ मिटर चौडाइ, ५३ मिटर अग्लो र २६९ मिटर लामो टाइटानिक भीमकाय पानीजहाज थियो।

टाइटानिकको लम्बाइ तीन वटा फुटबल मैदान बराबर थियो।  टाइटानिकमा आठ सय ३३ प्रथम श्रेणी, छ सय १४ दोस्रो श्रेणी र एक हजार छ तेस्रो श्रेणीका गरी कुल २४ सय ५३ यात्रुले यात्रा गर्न सक्थे। पौडी पोखरी, व्यायामशाला, धूमपान कक्ष, उच्च श्रेणीको रेस्टुरेन्ट, टर्किस बाथलगायतका सुविधाले टाइटानिक भरिपूर्ण थियो।

टाइटानिकलाई आफ्नो समयको विलासिताको प्रतीक मानिएको थियो। टाइटानिकलाई महासागरमा तैरिने एउटा सानो सहर भनियो, जहाँ सबै खाले विलासिता उपलब्ध थिए। त्यसैले टाइटानिकलाई ‘महासागरको रानी’ उपनामसमेत दिइएको थियो।

टाइटानिक निर्माणमा तत्कालीन समयका सबैभन्दा अनुभवी इन्जिनियरहरूको दक्षता तथा सबैभन्दा अत्याधुनिक प्रविधि प्रयोग भएको थियो। जहाजमा पानी नछिर्ने कक्षहरू निर्माण गरिएका थिए। अर्थात् जहाजको एउटा कोठा पानी भरिए अर्को कोठामा त्यसको असर नपर्ने बनाइएको थियो। समुद्री तुफानको पानी छतसम्म पुग्न सक्दैनथ्यो। सोही कारण सञ्चालक कम्पनी ह्वाइट स्टार लाइनले टाइटानिकलाई ‘डुब्न नसक्ने जहाज’को संज्ञा दिएको थियो। अझ टाइटानिकलाई ‘भगवान्ले पनि डुबाउन सक्दैनन्’ भनियो तर दुःखको कुरा त्यति सुविधासम्पन्न टाइटानिक सुरक्षा सतर्कता नअपनाउँदा पहिलो यात्राकै क्रममा आइसवर्ग (हिमचट्टान) सँग ठोक्किएर डुब्न पुग्यो।

ह्वाइट स्टार लाइन कम्पनीले टाइटानिकका लागि रेडियोटेलिग्राफ उपकरण (वायरलेस टेलिग्राफी) मार्कोनी इन्टरनेसनल मरिन कम्युनिकेसनबाट भाडामा लिएको थियो। त्यसमा पाँच किलोवाटको रोटरी स्पार्क–ग्याप ट्रान्समिटर, वायरलेस टेलिग्राफ कल साइन एमजिवाइ थिए। रोटरी स्पार्क–ग्याप प्रयोग गर्ने यो पहिलो ट्रान्समिटरमध्ये एक थियो। सूचना प्रसारण र रिसिभ गर्न जहाजको लम्बाइमा फैलाएर एलिभेटेड टी–एन्टेना राखिएको थियो। मार्कोनीले आफ्ना दुई कर्मचारी ज्याक फिलिप्स र ह्यारोल्ड ब्राइडलाई रेडियो टेलिग्राफ सञ्चालकका रूपमा जहाजमा पठाएका थिए।

रेडियो टेलिग्राफले २४ सै घण्टा सेवा प्रदान गरेको थियो। उक्त रेडियोग्राफबाट जहाजको यात्रुले टेलिग्राम पठाउन र पाउने सक्थे। रेडियो टेलिग्राफले मौसम र आइसवर्गसम्बन्धी जानकारी तथा नेभिगेसन सन्देश पनि दिन्थ्यो।

महँगो टिकट

टाइटानिकको टिकट त्यतिबेला निकै महँगोमा बिक्री भएको थियो। जहाजमा पहिलो, दोस्रो र तेस्रो श्रेणीका टिकट थिए। टाइटानिकको प्रथम श्रेणीमा सुविधासम्पन्न कक्ष थिए भने दोस्रो र तेस्रो श्रेणीका समेत छुट्टै कक्ष थिए। श्रेणी अनुसार सुविधा पनि फरक फरक थियो। 

उक्त दुर्घटनामा बच्न सफल शार्लोट ड्रेक कार्डेजाले पहिलो श्रेणीको टिकटका लागि ४५ सय ९१ डलर तिरेकी थिइन्। 

चालक दल

टाइटानिकको कमान्ड क्याप्टेन एडवर्ड स्मिथले सम्हालेका थिए। यद्यपि टाइटानिकमा अन्य जहाजमा झै स्थायी चालक दल भने थिएन। चालक दलका अधिकांश सदस्य अनौपचारिक कामदार मात्रै थिए। ती कामदार टाइटानिकले साउथ ह्याम्प्टनबाट प्रस्थान गर्नुअघि मात्रै जहाज चढेका थिए। ह्वाइट स्टार लाइनका क्याप्टेनमध्ये सबैभन्दा वरिष्ठ एडवर्ड जोन स्मिथलाई ओलम्पिक जहाजबाट टाइटानिकमा सारिएको थियो । त्यसै गरी हेनरी टिङ्गल वाइल्ड पनि ओलम्पिक जहाजबाट टाइटानिकमा आएका थिए।


यात्रु सङ्ख्या

निर्धारित तालिका अनुसार टाइटानिक सन् १९१२ अप्रिल १० मा बेलायतको साउथ ह्याम्प्टनबाट अमेरिकाको न्युयोर्कका लागि निस्केको थियो। जहाजमा यात्रा गर्ने तेस्रो श्रेणीका यात्रुको सङ्ख्या धेरै थियो। प्रथम श्रेणीका यात्रुलाई क्याप्टेन स्मिथले स्वागत गर्दै जहाज प्रवेश गराएका थिए। जहाज चढ्नुअघि तेस्रो श्रेणीका यात्रुमा रोग नहोस् भने जाँच गरिएको थियो।

साउथ ह्याम्प्टनमा टाइटानिकमा जम्मा नौ सय २० यात्रु चढेका थिए। तीमध्ये पहिलो श्रेणीमा एक सय ७९, दोस्रो श्रेणीमा दुई सय ४७ र तेस्रो श्रेणीमा चार सय ९४ जना थिए। साउथ ह्याम्प्टनबाट निस्केको टाइटानिकले बाटोमा फ्रान्सको चेरवर्ग र आयरल्यान्डको क्विन्स टाउनबाट थप यात्रु बोकेको थियो।

टाइटानिकमा बेलायत, फ्रान्स र आयरल्यान्डबाट चढेका गरी कुल यात्रु २२ सय २४ जना थिए। तीमध्ये आठ सय सय ८५ त चालक दलका सदस्य नै थिए। टाइटानिकमा यात्रुका साथै तीन हजार पाँच सय बोरा चिठीपत्र र कागजात लादिएको थियो। टाइटानिक सवारमा धनाढ्य मात्र होइन बेलायत, स्क्यान्डिनेभिया र युरोपका विभिन्न मुलुकबाट अमेरिका हिँडेका सयौँ आप्रवासीसमेत थिए।

पहिलो गासमै ढुङ्गा 

व्यावसायिक यात्रामा निस्कनुअघि सन् १९१२ अप्रिल २ मा टाइटानिकको समुद्री परीक्षण गरिएको थियो। त्यसपछि अप्रिल १० मा बेलायतको साउथ ह्याम्प्टनबाट बिदा भएको टाइटानिकलाई पूर्वनिर्धारित तालिका अनुसार सन् १९१२ अप्रिल १७ को बिहान न्युयोर्कको पियरमा पुग्नु थियो। आयरल्यान्डको क्विन्स टाउन छोडेपछि, टाइटानिकले आयरिस तटलाई फास्टनेट रकसम्म पछ्यायो। त्यहाँबाट आन्ध्र महासागर पार गरी ग्रेट सर्कल मार्गमा न्युफाउन्डल्यान्डको दक्षिण–पूर्व ‘द कुना’ भनेर चिनिने महासागरमा पुगेको थियो।

पाँच दिनको यात्रापछि अप्रिल १४ को राति तीव्र गतिमा टाइटानिक ‘द कुना’ बाट ‘नानटकेट शोल्स लाइट’ को ‘रुम्ब लाइन’बाट अघि बढ्दै थियो। त्यति नै बेला जहाजको समय अनुसार राति ११: ४० बजे फ्रेडरिक फ्लिटले जहाजको अगाडि एउटा विशाल आइसवर्ग देखे। उनले चालक दललाई सतर्क गराए। त्यसपछि फस्ट अफिसर विलियम मर्डोकले जहाजलाई मोड्न आदेश दिए तर त्यतिबेला निकै ढिलो भइसकेको थियो। तीव्र गतिमा रहेको जहाजको दिशा परिवर्तनका लागि पर्याप्त समय थिएन। सोही कारण जहाजको स्टारबोर्ड साइड आइसवर्गमा ठोक्किन पुग्यो। आइसवर्गमा ठोकिएपछि जहाजमुनि ठूलो भ्वाङ प-यो।

पाँच वटा ‘वाटरटाइट कम्पार्टमेन्ट’ भत्किई जहाजभित्र पानी पस्यो र जहाज डुब्यो। अन्वेषकहरूले ३० सेकेन्डअघि मात्रै सतर्कता अपनाएको भए जहाज आइसवर्गसँग ठोक्किने थिएन भन्ने दाबी गर्ने गरेका छन्। अन्वेषकहरूका अनुसार ३० सेकेन्डअघि जहाज आइसवर्गबाट १५ सय फिटको दुरीमा थियो। अर्कोतिर आइसवर्ग देख्ने जहाजका अधिकारीले तत्काल जहाज मोड्न आदेश नदिएको कुरा पनि आएको छ। यिनै कारण टाइटानिक आइसवर्गसँग ठोक्किन गई दुई घण्टाभित्रै डुबेको थियो।

अकल्पनीय क्षति

टाइटानिक दुर्घटनामा परी ठूलो मानवीय क्षति भएको थियो। दुर्घटनामा १५ सय यात्रुले ज्यान गुमाए। यसरी ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष थिए। टाइटानिकमा एक सय सात बालबालिका रहेकोमा ५० जनाको जीवितै उद्धार गरिएको थियो। 

टाइटानिकको प्रथम श्रेणीमा रहेका हडसन ट्रेभर एलिसन ११ महिना ८ दिनका मात्रै थिए भने तेस्रो श्रेणीमा पाँच महिने शिशु असस टन्नस थिए। दुर्घटनापछि कतिपय यात्रु समुद्रमा तैरिए। पर्याप्त लाइफबोट नहुँदा अधिकांशको मृत्यु डुबेर भएको थियो। समुद्रको पानी माइनस दुई डिग्री सेल्टिग्रेडभन्दा बढी भएकाले पनि चिसोका कारणले कतिपयको ज्यान गयो। टाइटानिकले यात्रुको जीवन रक्षाका लागि पूर्ण सुरक्षा सतर्कता अपनाएको भनिए पनि जहाजमा जम्मा १६ वटा लाइफबोट थिए। 

टाइटानिक टुर्घटनामा परेर बाँच्न सफल महिला मिल्भिना डिन त्यतिबेला सानै थिइन्। डिनको सन् २००९ मा ९७ वर्षमा निधन भएको थियो। टाइटानिक दुर्घटनामा परी ज्यान गुमाएकामध्ये तीन सयको शव पानीबाट बाहिर निकालियो। ती शवलाई पहिचानका लागि क्यानडाको ह्यालिफ्याक्स (नजिकको बन्दरगाह) लगिएको थियो।

सुरक्षा कमजोरी

टाइटानिक दुर्घटना हुँदाको बखत समुद्री जहाजको सुरक्षा प्रणाली कमजोर थियो। जहाजमा राडारजस्ता उपकरण थिएनन्। क्याप्टेनले अगाडि आइसवर्ग हेरेर सतर्कता अपनाउँथे। जुन सुरक्षा व्यवस्था तीव्र गतिमा चल्ने टाइटानिकका लागि उपयुक्त थिएन। टाइटानिक आइसवर्गसँग ठोक्किनबाट जोगाउन तथा ठोकिइहाले के गर्ने भन्नेबारे पनि पूर्वसतर्कता अपनाइएको थिएन। जहाजमा भित्र पसेको पानी तीव्र गतिमा बाहिर फाल्ने उपकरण त्यहाँ थिएन। जहाज निर्माणमा प्रयोग भएका सामग्री पनि अहिलेको जस्तो बलिया थिएनन्।

टाइटानिकको मुख्य भाग धातुका पाताबाट बनाइएको थियो। जुन सामग्रीको गुणस्तर हालको तुलनामा कमजोर थियो। सोही कारण टाइटानिक आइसवर्गसँग ठोकिँदा जहाजको मुख्य भागको आधा लम्बाइसम्मै भ्वाङ पर्न गई जहाज डुब्न पुग्यो।


कस्मेटिक विपत्

टाइटानिकका मुख्य डिजाइनर अलेक्ज्यान्डर कार्लिस्ले जहाजमा ४८ वटा लाइफबोट राख्न चाहन्थे तर टाइटानिकमा धेरै लाइफबोट राख्दा जहाजको कस्मेटिक स्वरूपमा (जहाजको सौन्दर्य) ह्रास आउने भन्दै लाइफबोटको सङ्ख्या घटाइको थियो। यदि लाइफबोटको सङ्ख्या नघटाएको भए टाइटानिक दुर्घटना हुँदा धेरैको ज्यान बच्ने थियो। 

‘ब्लुब्रान्ड’ को प्रलोभन 

टाइटानिक आइसवर्गसँग ठोक्किएर दुर्घटनामा परे पनि त्यसको वास्तविक कारण भने मानवीय त्रुटि थियो। आइसवर्गले ढाकिएको उत्तरी आन्ध्र महासागरमा जहाज लैजाँदा चालक दलले अपनाउनुपर्ने जति सतर्कता अपनाएको थिएन। त्यसमा पनि टाइटानिक सञ्चालक कम्पनीले जहाजलाई कम समयमा यात्रा पूरा गर्न चालक दललाई दबाब दिएको थियो।

टाइटानिक सञ्चालकले ‘ब्लुब्रान्ड’ हासिल गर्न जहाजको गति तीव्र पार्न आदेश दिएको थियो। सन् १८३९ मा सुरु भएको ब्लुब्रान्ड उपाधि सबैभन्दा छिटो आन्द्रमहासागर पार गर्ने जहाजलाई दिइने गरिन्थ्यो। 

टाइटानिक सञ्चालक कम्पनी कीर्तिमान तोड्दै सो उपाधि टाइटानिकले पाओस् भन्ने चाहन्थ्यो। सोही कारण चालक दलले जहाजको गति तीव्र बनाएका थिए। उक्त दुर्घटनामा बाँचेकाहरूको भनाइ अनुसार क्याप्टेन एडवर्ड स्मिथले आइसवर्गबारे जानकारी पाउँदा पनि जहाजलाई तीव्र गतिमै राखे। फलतः जहाज आइसवर्ग नजिक पुग्दा गति नियन्त्रण हुन सकेन र जहाज आइसवर्गमा ठोक्किन पुग्यो। 

जहाजभित्रै आगलागी

टाइटानिकलाई चलाउन आवश्यक ऊर्जाका लागि कोइला प्रयोग गरिएको थियो। जसका लागि जहाजमा ठूलो मात्रामा कोइला भण्डारण गरिएको थियो। जहाजमा कोइला राख्ने बङ्कर बनाइएका थिए। जहाज दुर्घटनामा परेपछि कोइला भण्डारमा आगो लाग्दा जहाजभित्रै आगो दन्किएको थियो। 

कुकुरको उद्धार

टाइटानिकमा मानिस मात्र नभई १२ कुकुरसमेत सवार थिए। टाइटानिक दुर्घटनापछि पोमेरेनियन र पेकिनिज नामक दुई कुकुरलाई उनीहरूका मालिकले जीवित उद्धार गरेका थिए। 

कुकुरले जोगाएको परिवार

स्कटल्यान्ड क्लार्कको टाइटानिकमा यात्रा गरी परिवारसहित अमेरिका घुम्ने सपना थियो। जसका लागि उनले दुःख गरेर पैसा जोहो गरेका थिए। सोही पैसाबाट उनले छ छोराछोरीसहित सबैका लागि टाइटानिकको टिकेट बुक गरे। यात्राको मिति नजिकिँदै जाँदा क्लार्क परिवारमा खुसी छाएको थियो तर टाइटानिकमा यात्राको सात दिनअघि क्लार्कका कान्छा छोरालाई कुकुरले टोक्यो। डाक्टरले छोरालाई रेबिज लाग्ने आशङ्का गरे। छोरालाई कुकुरले टोकेपछि क्लार्क परिवारको अमेरिका घुम्ने योजना चकनाचुर भयो । क्लार्ककी श्रीमतीले आफू छोराको हेरचाहका लागि बस्ने र बाँकी छोराछोरी लिएर अमेरिका घुम्न जान क्लार्कलाई भनिन् तर क्लार्कले छोरालाई छोडेर जान सकेनन् । 

क्लार्कले जहाजको पैसा फिर्ता नहुने टिकेट किनेका थिए। यसरी एकातिर छोरालाई कुकुरले टोक्दा अमेरिका जान नपाउनु र अर्कोतिर टिकटको पैसा फिर्ता नहुँदा क्लार्क निकै दुःखी भए। उनले कुकुर र छोरालाई सरापे पनि। टाइटानिकमा यात्रा गर्ने उनको धोको अधुरो रहने भयो। तैपनि उनी टाइटानिक प्रस्थानको दृश्य हेर्न डकसम्म पुगे। टाइटानिक बिदा हुँदा उनले हात हल्लाए र आँसु बगाए।

टाइटानिकले बेलायत छोडेको पाँच दिन मात्रै के बितेको थियो एकाएक टाइटानिक आइसवर्गसँग ठोक्किँदा करिब १५ सय मानिसको ज्यान गएको समाचार विश्वव्यापी भयो। सो समाचार सुनेपछि क्लार्क छोरा र कुकुरलाई अँगालो हाल्दै रोए। दुःखद घटनाले सुखद परिणाम ल्याएकोमा कुकुर, छोरा र भगवान्लाई धन्यवाद दिए। 


निरन्तर खोज

टाइटानिक दुर्घटनापछि उक्त जहाजको भग्नावशेष पत्ता लगाउन निकै प्रयास भए पनि लामो समय असफलता मात्र हात लाग्यो। दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा समुद्री वैज्ञानिक डा. रोबर्ट बलार्डको टोलीले टाइटानिकको भग्नावशेष पत्ता लगाएको थियो। डा. बलार्डको टोलीले क्यानडादेखि छ सय किलोमिटरको दूरीमा टाइटानिक समुद्रको गर्भमा रहेको तथ्य सार्वजनिक ग-यो।

टाइटानिकबारे सोधखोज कार्य अहिले पनि जारी छ। विगतमा टाइटानिक दुर्घटनासम्बन्धी थुप्रै वृत्तचित्र र चलचित्र बनेका छन्। तीमध्ये एउटा मौन वृत्तचित्र उक्त दुर्घटनाको एक महिनामै बनाइएको थियो। पछिल्लोपटक सन् १९९७ मा टाइटानिकबारे ‘टाइटानिक’ नामक महँगो र सफल हलिउड चलचित्र बनाइयो।   

Author

हीराकुमारी भण्डारी