परम्परागत रूपमा सदियौँदेखि चितवनका आदिवासी थारू समुदायले आफूले मागेको पूरा हुने विश्वासले पूजा गर्न थालेपछि अन्य समुदायले पनि सालको रुख खोजी खोजी विक्रमबाबा मान्न थाल्नुभएको रहेछ । ठुलो सालको रुखको आडमा बनेको थानमा बाबाको पूजा हुँदो रहेछ ।
स्कुल बिदा कहिले हुन्छ र घुम्न जाऊँला भन्ने लागिराखेको थियो । नयाँ नयाँ स्थानमा जान केही कुरा सिक्न मलाई मन पर्छ । विद्यालयले हरेक वर्ष जाडो मौसममा वनभोज तथा नयाँ स्थानमा घुमाउन लैजाने गरेको छ । यसरी लैजादा नयाँ विषय थाहा पाउन सकिन्छ । सामाजिक विषय र स्थानीय पाठ्यपुस्तक पढ्नका लागि नयाँ स्थान घुम्दा धेरै कुरा सिक्न पाउने भएकाले मलाई रमाइलो लाग्छ ।
यस वर्ष चितवनको इतिहास बोकेको कविलासगढी घुम्न गयौँ । भरतपुरबाट आधा घण्टामा पुग्न सकिने यो ठाउँबाट भरतपुर, गैँडाकोट, टाँडी सजिलै देख्न सकिने रहेछ । मङ्सिर महिनामा विद्यालयले घुमाउन लगेको थियो । यसपछि मलाई इतिहास थाहा पाउन अझ इच्छा जाग्यो । कहिले पढाइ सकिएला र विक्रमबाबा पूजामा जान पाइएला भन्ने लागिराखेको थियो । स्थानीय पाठ्यक्रममा समेत धार्मिक पर्यटीय स्थल भनेर राखिएको ठाउँ कस्तो होला भन्ने थियो । कक्षाकोठामा शिक्षकले थारूको मौलिक पूजा रहेको यो स्थानमा अहिले सबै समुदायले पूजा गर्नुहुन्छ भनेर पढाउनुभएको थियो ।
चितवनको पहिचान निकुञ्ज हो भनेर धेरै सुनेको पढेको थिएँ । किताबमा अध्ययन गर्दा चितवन निकुञ्जमा गैँडा, बाघ, हात्ती, गोही, चरा छ भनेर लेखेको थियो तर हेर्न पाएको थिइन । यस पटक बुवाआमा, मामालाई धेरै कर गरेपछि लैजानुभयो । कहिले जाऊँला र हेर्न पाइएला भन्ने लागिरहेको थियो । थारू जातिले मात्र पूजा गर्ने ठाउँ कस्तो होला, अरू जातिले पनि पूजा गर्नु हुन्छ, धेरै मानिसको भिड लाग्छ भन्ने लागिरहेको थियो ।
चैतेदसैँका दिन जाने तयारी भयो । विद्यालयको परीक्षा सकिएको र शनिबार पनि भएकाले मलाई फुर्सद थियो । बिहान कतिबेला होला र जान पाइएला जस्तो भएर अघिल्लो दिन सुतेँ । २०८१ चैत २३ गते बिहान त्यसतर्फ जाने तयारी भयो । घरबाटै पुलाउ, तरकारी, अचार बनाएर लैजाने तयारी भयो । मोटरसाइकल र स्कुटरमा चढेर सानो भाइ, ठुलीआमासमेत भएर हामी बिहान हिँड्यौँ । भरतपुरबाट करिब ३० किलोमिटर दक्षिण जगतपुर पुगेपछि साधन त्यहीँ राखेर पैदल हिँड्न थाल्यौँ ।
शनिबार भएकाले होला मानिसको भिड थियो । मसँग विद्यालय पढ्ने अन्य साथी पनि बाबाआमासँग आएका थिए । जगतपुरको घैलाघारी मध्यवर्ती वननजिकैको खाली ठाउँमा धेरै गाडी पार्क गरेर सबै जना हिँड्दा रहेछन् । पाँच किलोमिटर पैदल हिँडेपछि पूजा स्थल पुगिने थाहा पाएँ । भिडमा हराइएला भनेर बाबाको हात समातेर हिँड्न थालेँ । केही समय हिँडेपछि राप्ती नदीको पुलमा पुग्यौँ । पुलबाट नदीको डिलमा घाम तापिरहेको गोही, चर्दै गरेको गैँडा हेर्दा धेरै रमाइलो लाग्यो ।
किताबमा पढेको निकुञ्जको जङ्गलनजिकैबाट हेर्न पाउँदा खुसीको सीमा रहेन । पुलपारि पुगेपछि नेपाली सेना सुरक्षाका लागि खटिनुभएको देखेँ । उहाँहरूले देखाउनुभएको बाटो भएर हिँड्यौँ । हल्ला नगर्न सूचना टाँसिएको थियो । त्यती धेरै मानिस भए पनि हल्ला भने गरेको सुनिएन । मानिसको भिडले हराइएला भन्ने डर लागिरहेको थियो । पुलपारिबाट जङ्गलको बाटो हुँदै जानु पर्दो रहेछ । केही पर पुगेपछि निकुञ्जको मुख्य कार्यालय कसरा देखेँ । नजिकै नेपाली सेनाको कार्यालय पनि थियो ।
बन्दुक बोकेर बस्नुभएको सेना देखेपछि मनमा डर लाग्यो । नजिकै काठले बनेका पक्की घर देखेँ । जङ्गलभित्र यसरी बस्दा डर लाग्दैन भनेर बाबालाई सोधेँ । निकुञ्जका वन्यजन्तु तथा वनस्पतिको सुरक्षा गर्न बस्नुभएको उहाँहरू डराउनु हुन्न भनेर थाहा पाएँ । चितवनको सबैभन्दा पुरानो पहिलो पक्की घर कसरामा बनेको रहेछ । यसलाई दरबार पनि भन्दा रहेछन् । केही पर पुगेपछि हात्तीसार थियो । सुरक्षाकर्मी चढेर गस्ती गर्नका लागि पालिएको हात्ती भन्ने थाहा पाएँ । यति नजिकैबाट हात्ती जङ्लभित्र देख्दा डर र रमाइलो दुवै लाग्यो । यतिकैमा बाजा बजाएर सेनाको टोली हामीभन्दा अगाडि बढ्यो । मैले सोधेँ किन बाजा बजाएर यसरी हिँड्नु भएको । चैतको अष्टमीमा सेनाले विक्रमबाबाको पूजा गर्ने चलन रहेछ ।
चैतेदसैँका बेला औँसीमा सुरु भएर पूर्णिमासम्म हुने पूजामा सबै समुदाय सहभागी हुने, यहीँ आएर देख्न पाएँ । किताबमा मात्रै पढ्न पाएको विषय आफैँले देख्न पाउँदा धेरै रमाइलो लाग्यो । केही पर जङ्लभित्र अझ धेरै मानिसको भिड, सालको रुख खोज्दै हिँडेकाहरू, सालको रुखमा पूजा गरेको देखेँ । फेरि अचम्म लाग्यो । सालको चोखो बोट खोजेर पूजा गर्ने र यसरी पूजा गर्दा आफूले मागेको कुरा पुग्ने विश्वास रहेछ । मन्दिरभित्र भगवान्को मूर्ति, फोटोमा पूजा गरेको देखेको थिएँ तर जङ्गलभित्र सालको रुखमा मात्र पूजा गरेको देखेको थिइन । मैले नयाँ कुरा थाहा पाएँ ।
परम्परागत रूपमा सदियौँदेखि चितवनका आदिवासी थारू समुदायले यसरी पूजा गर्दै आउनु भएको रहेछ । आफूले मागेको पूरा हुने विश्वासले पूजा गर्न थालेपछि अन्य समुदायले पनि सालको रुख खोजी खोजी विक्रमबाबा मान्न थाल्नुभएको रहेछ । ठुलो सालको रुखको आडमा बनेको थानमा बाबाको पूजा हुँदो रहेछ । सप्तमीदेखि दशमीसम्म पूजा गर्न आउनेको घुइँचो लाग्दो रहेछ । अन्य दिन पनि ठाउँ ठाउँबाट विक्रमबाबाको पूजा गर्न आउने गर्दा रहेछन् ।
थारूहरूले मान्ने ठुलो शक्तिमध्येको एक विक्रमबाबा रहेको थाहा पाएँ । चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएपछि पूजा गर्न आउनेको सङ्ख्या कम भएको रहेछ । पहिला थारूहरू मात्रै विक्रमबाबामा पूजा गर्न आउने, सन्तान होस् भनेर भाकल गर्ने चलन रहेछ । भाकल पूरा भए कुखुराको भाले वा बोकाको बलि दिने गर्दा रहेछन् ।
विक्रमबाबाको पूजाको कुरा अझ थाहा पाउन मन लाग्यो । पहिला चैतेदसैँमा विक्रमबाबामा भन्दा माडी गोद्धकमा ठुलो मेला लाग्दो रहेछ । निकुञ्ज घोषणा भएपछि माडी जान आउन समस्या हुन थाल्यो र विक्रमबाबामा मेला लाग्ने र पूजा गर्नेको सङ्ख्या बढेको रहेछ । खासमा थारूहरूले पूजा गर्दा गुरौँ (थारूको पुजारी) लाई लिएर जाने गरेका रहेछन् । पूजामा निश्चित विधि पूरा गर्ने परिपाटी रहेछ । अचेल हरेक ठाउँबाट पूजा गर्न आउनेको सङ्ख्या बढ्दा गुरौँको विधिभन्दा पूजा गर्न आउनेले आफ्नै शैलीमा पूजा गर्न थालेका रहेछन् । यो पूजामा नेपाल र भारतका धेरै स्थानबाट पाँच लाखभन्दा धेरै जना बढी भक्तजन आउने गरेका रहेछन् ।
पूजा गरिसकेर नजिकै रहेको घडियाल गोही प्रजनन केन्द्र जान मन लाग्यो । बस्ने ठाउँ देखेपछि घरबाट ल्याएको खानेकुरा निकालेर खायौँ । त्यसपछि सानाठुला गोही हेर्न गएँ । नजिकैबाट यसरी गोही हेर्दा डर लाग्दो रहेछ । यो हेरेर हामी सबै जना घर फर्कियौँ । यहाँ आउँदा धेरै कुरा सिक्ने मौका पाएँ । अब स्थानीय पाठ्यक्रममा निकुञ्ज, धार्मिक पर्यटन, धार्मिक स्थल, संरक्षण क्षेत्र, हात्तीका विषयमा लेख्न सक्छु ।