आहाना शाह
कक्षाः २, विश्व आदर्श स्कुल
इटहरी, सुनसरी
मामुको कार्यालयबाट एकाएक हाइकिङ जाने योजना सुनेर म एकदमै खुसी भएँ । मसँग हाइकिङ जाने जुत्ता नभएकोले हामी अघिल्लो दिन हाइकिङ गर्ने जुत्ता किन्न गयौँ । एउटा राम्रो जुत्ता किनेर ल्यायौँ । म धेरै उत्साहित थिएँ । मेरो मनमा धेरै कुरा खेल्न थाल्यो । के होला, कस्तो होला, कसरी जाने आदि । म सबेरै उठेर जान तयार भएँ ।
हामी २५ जना थियौँ । हामी दुई वटा गाडीमा चढेर वराहक्षेत्र मन्दिरतिर लाग्यौँ । मन्दिरअगाडि गाडी राख्यौँ । ढिलो भएर हामीले दर्शन गर्न पाएनौँ । हामी सप्तकोशीको किनारमा पुग्यौँ । हामी नाउमा चढ्यौँ । १५ जना एउटा नाउमा, १० जना अर्को नाउमा । त्रिवेणी हुँदै भोजपुरको अन्तिम बोटिङ विन्दु कोप्चे भन्ने ठाउँ पुग्यौँ । हामीले त्यहाँ थुक्पा, अन्डा र चाउचाउ खायौँ । त्यहाँदेखि हाम्रो पैदलयात्रा सुरु भयो ।
हामीले पहिले झोलुङ्गे पुल पार गर्यौँ । मलाई त एकदमै डर लागेको थियो । मैले मामुको हात समातेर झोलुङ्गे पुल पार गरेँ । मलाई हिँड्न सजिलो होस् भनेर देव अङ्कलले लट्ठी भाँचिदिनुभयो । हामी उकालो, ओरालो हुँदै आफ्नो गन्तव्यतिर लाग्यौँ । हामीले अर्को झोलुङ्गे पुल पार गरेर धनकुटा पुग्यौँ । बाटो साँघुरो र डरलाग्दो हुँदै गयो । मलाई डर लाग्न थालिसकेको थियो । त्यो बाटो ढुङ्गा काटेर बनाइएको थियो । पहिला पहिला व्यापार गर्न प्रयोग गरिन्थ्यो । हामी धेरै उचाइमा पुगेपछि पिङ जस्तै रुखमा झुन्डेका हाँगा भेट्यौँ । मलाई सबै जनाले हाँगामा बसाएर पिङ जस्तै हल्लाइदिनुभयो । मलाई खुबै मजा आयो । अलि अलि डर पनि लाग्यो ।
हामी सबै जनालाई भोक लागिसकेको थियो । हामीले एउटा गोलो घेरा बनाएर बस्यौँ । बिचमा तागत बढाउने खानेकुरा जस्तैः चकलेट, ग्लुकोज, फलफूल, काजु, किसमिस आदि राख्यौँ र खायौँ । खाएर सबै जना छिटो छिटो हिँड्न थाले तर म, मामु, मनकुमार अङ्कल, मुकेश अङ्कल र प्रतीक्षा आन्टी विस्तारै दृश्य हेर्दै मजा लिँदै हिँड्यौँ । हामी भिरमा पुग्यौँ । तल झरे भनेँ सिधै सप्तकोशीमा पुगिन्थ्यो । मलाई मुकेश र मनकुमार अङ्कलले हात समातेर हिँड्न सहयोग गर्नुभयो । मेरो नयाँ जुत्ताले मलाई धेरै दुःख दियो ।
एक ठाउँमा ज्वालामुखी निस्किएको ठाउँ जस्तै देखिन्थ्यो । त्यहाँ मूलको पानी पनि आइरहेको थियो र हामी सबैले मूलको पानी पियौँ । सिमले हुँदै कोकहा खोलाको पुल तरी हामी सुनसरी पुगे छौँ । दामोदर अङ्कल छिटो छिटो हिँडेर पाँच घन्टाको हाइकिङ तीन घन्टामै सक्नुभयो । उहाँ अगाडि पुगेर माछा मार्दै हुनुहुन्थ्यो । हामी पनि वराहक्षेत्र मन्दिर पुग्यौँ ।
मैले एकै दिनमा तीन जिल्ला भोजपुर, धनकुटा र सुनसरी टेकेछु । मैले यत्रो लामो यात्रा गरेकोमा म आफैँ चकित भएँ । म यो हाइकिङको सम्झनालाई कहिले बिर्सिने छैन । मलाई हाइकिङ गर्न एकदमै रमाइलो भयो ।