• २४ असार २०८२, मङ्गलबार

सामाजिक सञ्जालका फाइदा र बेफाइदा

blog

विश्वभरिका मानिसलाई एकै मालामा गाँस्ने माध्यम हो– सामाजिक सञ्जाल । आधुनिक युगमा सर्वोत्तम आविष्कार भनेकै सामाजिक सञ्जाल हो । सूचना तथा प्रविधिको तीव्र विकासले गर्दा फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, टिकटक जस्ता सामाजिक सञ्जालका प्लेटफर्ममा मानिस सक्रिय भएका छन् । यसले व्यक्ति, समाज, व्यापार, रोजगारीलाई गहिरो प्रभाव पारेको हुन्छ । सामाजिक सञ्जालको प्रयोगले विश्वको जुनसुकै कुनामा बसोबास गर्ने मानिससँग कुराकानी गर्न सकिन्छ ।

हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । सामाजिक सञ्जालको पनि यी दुवै पक्ष छन् । तुलनात्मक रूपमा भन्दा सामाजिक सञ्जालका सकारात्मक पक्ष धेरै छन् । यसलाई विभिन्न प्रयोजन छन्–

सूचना तथा सञ्चारः सामाजिक सञ्जालको सहायताले विश्वको जुनसुकै कुनाको जानकारी तुरुन्तै थाहा पाउन सकिन्छ । विश्वमा भएका घटना तत्कालै थाहा पाउन सकिन्छ । आफूभन्दा टाढा रहेका आफन्तजनका बारेमा थाहा पाउन सकिन्छ । टाढा भएका व्यक्तिसँग सहज रूपमा कुराकानी गर्न सकिन्छ ।

शिक्षा तथा ज्ञानवृद्धिः कोरोना जस्तो महामारीमा दुरी राखेर कुराकानी गर्नुपर्ने अवस्था सिर्जना भएको बेलामा विद्यार्थीले अनलाइन कक्षाका माध्यम (जुम) बाट नियमित रूपमा पढ्न पाए । सामाजिक सञ्जालको प्रयोगबाट सहज रूपमा शिक्षा प्राप्त गर्न सक्छौँ । गुगल, मिट, जुम जस्ता सामाजिक सञ्जालमा प्लेटफर्मबाट देश तथा विदेशमा बसोबास गर्नुभएका विज्ञ तथा शिक्षकबाट हामीले ज्ञान हासिल गर्न सक्छौँ । सामाजिक सञ्जालको सही सदुपयोग गर्न सक्यौँ भने यसले ज्ञान, अवसर र प्रगतिमा सहयोग गर्दछ ।

व्यवसाय तथा रोजगारीः अहिले घर घरमै बसेर मानिसले रोजगारीको अवसर खोज्न सक्छन् । सामाजिक सञ्जालको प्रयोगबाट व्यवसाय सञ्चालन गर्न सकिन्छ । पहिलेको जस्तो रोजगारी पाइएन भनेर चिन्ता लिइराख्नु पर्दैन । मानिसले आफ्नो व्यापार, व्यवसायको प्रचारप्रसार गरी सामाजिक सञ्जालका प्लेटफर्मको प्रयोगबाट मुनाफा कमाउन सक्छन् । कुनै संस्था, कार्यालयमा कामदारको आवश्यकता भयो भने यसमै विज्ञापन दिन सकिन्छ ।

मनोरञ्जनः सामाजिक सञ्जालको प्रयोग गरेर खेल, चलचित्रलगायतका मनोरञ्जनात्मक गतिविधि घरमै बसेर हेर्न सकिन्छ । मानिसले मनोरञ्जनका लागि भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्छन् । जसबाट नाम र दाम दुवै कमाउन सकिन्छ । नयाँ नयाँ सिप, कुनै खानेकुरा पकाउने तरिका आदि सामाजिक सञ्जालबाट सिक्न सकिन्छ । 

सामाजिक सम्बन्ध सुदृढका लागि विभिन्न ठाउँमा बस्नुभएका साथीभाइ तथा आफन्तसँग कुराकानी गर्न सक्छौँ । पहिले चिठीको प्रयोग गरिन्थ्यो । पछि टेलिफोनको प्रयोग गर्न थालियो । त्योबेला आफूले पठाएका चिठी पुगे वा पुगेनन् भन्ने थाहा हुँदैन थियो भने सबैका घरमा टेलिफोन हुँदैन थियो तर अहिले सामाजिक सञ्जालको प्रयोगबाट भिडियो कल गरेर जतिसुकै टाढा भएकासँग पनि मुहार हेरेर कुराकानी गर्न सकिन्छ ।

सामाजिक सञ्जालका नकारात्मक पक्ष पनि छन्–

गोपनीयता र सुरक्षाको कमीः मानिसले व्यक्तिगत कुरा सामाजिक सञ्जालमा हाल्ने गर्दछन् । सामाजिक सञ्जालमा हाल्नु भनेको विश्वसामु प्रदर्शन गर्नु हो । जसले गर्दा व्यक्तिगत कुराको गोपनीयता सामाजिक सञ्जालका माध्यमबाट रहन सक्दैन । सुरक्षाको कमी पनि यही सामाजिक सञ्जालको अर्काे नकारात्मक पक्ष हो । मानिस बलात्कृत हुनुको मुख्य कारणमध्ये सामाजिक सञ्जाल पनि हो । चिन्दै नचिनेका मानिससँग च्याट गर्ने, उनीहरूसँग नचाहिँदा कुरामा समय बिताउने जस्ता कार्यले समस्या थपिदिएको छ । 

नसा र समयको दुरूपयोगः विद्यालय नजाने उमेरका बालबालिका पनि बिहान उठ्ने समयदेखि रातिसम्म मोबाइल फोनमै झुन्डिरन्छन् । मोबाइल फोनको प्रयोग गर्न नदिँदा झर्किने, रिसाउने गर्दछन् । बालबच्चा, विद्यार्थी, ठुला मानिस सबैले नचाहिने कुरा हेरेर समय खर्च गर्छन् । यसको गलत प्रयोग गर्नाले मानिस डिप्रेसन जस्ता समस्यामा फस्छन् । त्यसैले सामाजिक सञ्जालको सही सदुपयोग र समयको व्यवस्थापन गर्न जान्नु पर्छ ।

सामाजिक सम्बन्धमा असरः पहिले घरमै आएर भेटघाट गर्ने मानिस अहिले सामाजिक सञ्जालका कारण भेटघाट गर्न छाडिसके । यसले सामाजिक सम्बन्ध बिग्रँदै जान्छ । यसले भावनात्मक रूपमा नजिक बनाए पनि सम्बन्धलाई टाढा राख्ने काम गरेको छ ।

सामाजिक सञ्जालको प्रयोग गरी घरमै बसेर संसारलाई हेर्न सक्छौँ । आफूलाई मनपर्ने वा चाहिएका सामग्री अर्डर गरेर घरको दैलोमा प्राप्त गर्न सक्छौँ । बत्ती–पानीको बिल तिर्न, रेस्टुरेन्ट वा सामान खरिद गरेपछि रकम तिर्न, अरूलाई रकम दिन सामाजिक सञ्जालको प्रयोग गर्न सक्ने भइसकेका छौँ । विद्यालयमा नबुझेका कुरा सामाजिक सञ्जालका माध्यमबाट बुझ्न सक्छौँ । पहिले धेरै व्यक्ति समयमा उपचार नपाएर मर्थे भने अहिले भिडियो कलमार्फत डाक्टरको सरसल्लाहबमोजिम घरमै बसेर बिरामीको उपचार गर्न सकिन्छ । घरमै बसी बसी अर्थाेपार्जन गर्न सकिन्छ । सामाजिक सञ्जालको सही सदुपयोग ग¥यौँ भने स्वर्ग पनि यहीँ छ र यसको दुरुपयोग ग¥यौँ भने नर्क पनि यहीँ छ । सामाजिक सञ्जालकै माध्यमबाट मानिस सफल हुन सक्छ र जिन्दगी बर्बाद हुन पनि सक्छ । 

सामाजिक सञ्जालको प्रयोग ध्यानपूर्वक गर्नु पर्छ । यसको प्रयोग गर्दा अरूलाई हानि नोक्सानी हुने काम गर्नु हुँदैन । चिन्दै नचिनेका मानिससँग गफ गरेर धेरै समय बिताउनु हुँदैन । सामाजिक सञ्जालबाट दुव्र्यवहार गर्न कसैले खोजेमा नजिकैको प्रहरी चौकीमा सम्पर्क राख्नु पर्छ । हामीले नचाहिने कामका लागि सामाजिक सञ्जालको बढी प्रयोग गरिरहेका छौँ । 

सामाजिक सञ्जालको प्रयोगले हाम्रो जीवनलाई सहज बनाएको छ । सामाजिक सञ्जालका माध्यमबाट अरूलाई ठग्ने, फसाउने व्यक्तिलाई कडाभन्दा कडा सजाय दिनु पर्छ । त्यसो हुन सक्दा कसैले पनि गल्ती गर्ने आँट गर्दैनन् । यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारेमा जनचेतना अभिवृद्धि गर्नु पर्छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तकमा यससम्बन्धी विषय पठनपाठन गर्नु पर्छ । सामाजिक सञ्जालको सही उपयोग गरौँ र एक असल नागरिक बनौँ ।   

 मुना