जीवनको प्रारम्भका दिनलाई नियाल्दा पेलेले विश्वमा यस्तो तहल्का मच्चाउलान् भन्ने कसैले सोचेकासम्म थिएनन् । नाङ्गो खुट्टाले झुम्राको बल खेलेर फुटबल सिकेका पेले फुटबलका भगवान् बन्न सफल भए जादुगर नै कहलिए । १७ वर्षको उमेरमा उनी ब्राजिलको स्थानीय टिममा आबद्ध भएका थिए । फुटबल खेलेको दस वर्षमा उनले एक हजार गोल गरेर रेकर्ड राखिसकेका थिए । खेल जीवनबाट सन्न्यास लिनुअघि उनले १३६३ म्याच खेलेर १२८१ गोल गर्ने सफलता पनि प्राप्त गरे ।
ब्राजिललाई तीन पटक विश्वकप जिताएका उनै पेलेको २२औँ विश्वकप फुटबल खेल सम्पन्न भएको बाह्रै दिनका दिन ८२ वर्षको उमेरमा निधन भएको छ । २३ अक्टुबर १९४० मा ब्राजिलको एउटा फुटबलप्रेमी गरिब परिवारमा जन्मिएका पेलेको नाम सुरुमा पेले थिएन । घरपरिवारमा उनलाई सबैले डिको भन्थे जब उनले फुटबलमा सफलता हासिल गरे त्यसपछि उनी पेलेको नामले विश्वविख्यात बने ।
पेले साँच्चै नै फुटबलका जादुगर नै भएर निस्के । जादुगर मात्रै होइन उनी वास्तवमा फुटबलका भगवान् नै थिए । पेलेलाई धेरैवटा उपनामले समेत चिनिने गरेको छ । कसैले उनलाई बादशाह पनि भने, कसैले कालो मोती भनेर पुकारे । जसले जे जे उपमा दिए पनि वास्तवमा फुटबलको दुनियाँका पहिलो सुपर स्टार थिए पेले । पेलेले खेलको माध्यमबाट ब्राजिल देशको नाम विश्वमा सुनौला अक्षरले लेखाउन थालेपछि त्यहाँको सरकारले उनलाई राष्ट्रिय सम्पत्ति नै घोषणा ग¥यो । ब्राजिलमा पेलेको योगदानको कदर गर्दै पेले दिवससमेत मनाउने गरिएको छ । पेलेले फुटबलको माध्यमबाट देशलाई विश्वविख्यात बनाएकै कारण उनलाई ब्राजिलका जनताले खेलकुदमन्त्री समेत बनाएर सम्मान गरे । यो उनको जीवनको एउटा अर्को महङ्खवपूर्ण उपलब्धि थियो । उनी यति प्रसिद्ध भए कि उनलाई युरोपलगायतका विश्वका धनी मुलुकले किन्न खोजे पनि उनी बिकेनन आफ्नै टिमबाट खेलिरहे । पछि भने सेमी सन्न्यास लिएर बसेका बेला एउटा अमेरिकी टिममा आबद्ध भए अनि कतै खेलेनन् रिटायर्ड भए । साँच्चै भन्नुपर्दा पेलेको जीवन एउटा किंवदन्तीको नायकभन्दा कम छैन ।
सुरुका दिनमा पैसाको अभावमा फुटबल किन्न नसकेर अर्काको जुत्ता पालिस गरेर जोहो गरेको पैसाले फुटबल किन्ने र खेल्ने पेले समयक्रमसँगै नाम र दामका बादशाह कहलिए, विश्वकै एक सुपरस्टार बन्न सफल भए । वास्तवमा भन्नुपर्दा फुटबल खेललाई उचाइमा पु-याउन लोकप्रिय पेलेको अद्वितीय योगदान रहेको छ भन्दा अत्युक्ति नहोला । आज हामीमाझ उनको पार्थिव शरीर नभए पनि पेले उनैको कीर्तिका कारण युगौँयुगसम्म बाँचिरहने छन् । यी महान् खेलाडीप्रति हाम्रो पनि शब्द श्रद्धाञ्जलि ।