• १७ चैत २०८२, मङ्गलबार

फर्क है फर्क नेपाली तिमीलाई डाक्छ हिमाल...

blog

आजभन्दा झन्डै साढे छ दशकअगाडिको कुरा हो । राजा महेन्द्र दार्जिलिङ भ्रमणमा रहेका बेला जातीय कवि अगमसिंह गिरीको गीतिसिर्जना ‘नौलाखे तारा उदाए, धरतीको आकाश हाँसे छ, शरद् लाग्यो वनैमा फूलले पिरती गाँसेछ...’ बोलको नेपालीत्वको चिनारीलाई वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले राजाकै अगाडि गुन्जाएथे ।

हुन त आज भारतीय भूभागमा रहेका रैथाने नेपालीहरू त्यो गीतलाई भावनात्मक रूपमा मर्मस्पर्शी तर राजनीतिक रूपमा भारतीय नेपालीलाई विदेशी बनाउने मसला मान्दछन् । छिमेकीको हेपाहा प्रवृत्ति, राजनीतिक भूगोल र जातीय अस्मिताबीचको थप छुद्र चलखेलको नमुना हो यो । यही चलखेलका कारण अम्बरले त्यहाँ टिक्न नसकी नेपाल भित्रिनु प¥यो । हुन त यो भित्रिनुमा राजा महेन्द्रको विशेष आमन्त्रण पनि थियो ।

उता गिरीले ‘नौलाखे तारा...’ मार्फत जातीय चिनारीको भाखा उराले भने यताबाट ‘फर्क है फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल...’ भन्दै प्रत्युत्तर दिए गीतकार लक्ष्मण लोहनीले । लक्ष्मण लोहनीको यो प्रत्युत्तर भाखाको गीतमा सुरिलो सङ्गीतसहित स्वर रचेका थिए उनै पुष्प नेपाली र बच्चुकैलाश बस्नेतले । काठमाडौँको डिल्लीबजारमा बाबु पृथ्वीलाल जोशी र आमा कृष्णकुमारीको सम्मिलनबाट विसं १९८८ पुस १९ गते जोशी खलकमा जन्मेका पुष्प समयक्रममा पुष्प नेपालीका नामले नेपाली सङ्गीतकाशमा विचरण गरेका हुन् । काठमाडौँको चोक चोक र डबलीमा नाट्य अभिनयमार्फत उनको कला जीवन सुरु भयो । आज पनि नाचगानमा लाग्ने महिलालाई त्यति सोझो आँखाले हेरिँदैन भने २००५ सालतिर उनले महिलाको अभिनय गरी नाटक प्रस्तुत गरेका थिए ।

त्यतिखेर एउटी महिलालाई नाट्य रङ्गमञ्चमा पाइलो राख्ने सामाजिक परिस्थिति नै थिएन । एउटा हिन्दी सिनेमाको भावानुवाद गरी बनाएको ‘स्वर्गीय मिलन’ नामक नाटकमा नायक हरिप्रसाद रिमाल थिए भने नायिकाका रूपमा उनै पुष्प नेपाली तर महिलाको भेषमा । यसरी यसै समयमा उनले नाटकबाट आफ्नो परिचय बनाउँदै गर्दा राणाविरोधी आन्दोलन सुरु भयो । कसो कसो पुष्प नेपाली कांग्रेसको मुक्तिसेनामा संलग्न भई भारत प्रवासपछि बन्दुक बोकेर प्रजातन्त्र प्राप्तका लागि सशरीर लागिपरे ।

पुष्प जस्ता धेरै नेपालीको त्याग र बलिदानले नेपालमा प्रजातन्त्र आयो । उनको उच्च मूल्याङ्कन गर्दै नेपाली कांग्रेसका नेता गणेशमान सिंहको सिफारिसमा उनी रेडियो नेपालमा प्रवेश गर्न पुगे । नाट्यसम्राट बालकृष्ण सम, पुष्पसहित वरिष्ठ गायक पन्नाकाजीको गायन क्षमतासित परिचित छँदै थिए । यही कारण पनि समको सदाशयताबाट उनीहरू दुवै जना रेडियो नेपालको स्वर परीक्षामा उत्तीर्ण भए ।

यसपछि उनको रङ्गमञ्चको जीवनसँगै गीत/सङ्गीतको युगान्तकारी जीवन पनि सुरु भयो । स्वाभिमानी स्वभावका पुष्प त्यहाँ आठ वर्ष मात्र टिक्न सके र त्यहाँबाट बाहिरिए । राजा महेन्द्र यसै पनि कलाप्रेमी, उनले कसोकसो पुष्प रेडियोबाट बाहिरिएको सुनेपछि उनको प्रतिभाको आकलन गर्दै पुनः रेडियोमा नै फर्किने वातावरण मिलाइदिए । यसपछि उनको साङ्गीतिक जीवनको नयाँ अध्याय सुरु भयो । उही अध्यायमा ‘तितिरी पङ्खी बादलुमाथि सुनौलो बिहानी...’ जस्तो कालजयी सिर्जना पुष्पबाट जन्मियो ।

२०१३ सालमा समाजसेवी प्रेमबहादुर कंसाकारको पहलमा खुलेको नासः खल नामक सांस्कृतिक संस्थामार्फत पुष्पसहित नातिकाजी, पन्नाकाजी, रामलाल जोशी, तारादेवी, कोइलीदेवी, इन्द्रलाल श्रेष्ठ तथा हरि जोशीहरू नाट्य र सङ्गीत यात्रामा निर्मग्न भएर लागेका हुन् । समय क्रममा राष्ट्रिय गीतमार्फत पुष्पले देश भक्तिको स्वरलाई टाढा टाढा फिँजाउन थाले । ‘ब्युँझ हे पहरदार हो...’ तथा ‘नौ मुरी माया छ मुटुभित्र मलाई देशको...’ जस्ता गीतले उनी देशभक्त नेपालीसित एकाकार हुन थाले ।

गीतलेखन, सङ्गीत संयोजन तथा गायन तिनै विधामा उनी अब्बल देखिए । एकताका रेडियो नेपालले बर्सेनि आयोजना गर्ने बृहत् आधुनिक सङ्गीत प्रतियोगितामा उनी लगातार तीन पटक प्रथम हुन सक्नुले पनि उनको साङ्गीतिक क्षमताको पुष्टि गर्दछ । राजा महेन्द्रका केही गीत उनले गाएका छन् आफ्नै कम्पोजिसनमा भने पन्नाकाजी, बच्चुकैलाश, नातिकाजी, प्रेमध्वज प्रधानको सहकर्मी र नेपाली कांग्रेसको मुक्तिसेनाको सदस्य रहेर पनि राजा महेन्द्रको विदेशी दबाबका सामु नझुक्ने तथा राष्ट्रियताप्रतिको समर्पण भावलाई उनले नजिकबाट नियालेका थिए । यही कारण पनि महेन्द्र र उनीबीच एकअर्कामा सदा प्रेमभाव रहन पुग्यो ।

गायनमा आफ्नो नितान्त मौलिक शैली थियो भने हरेक किसिमका गीत गाउने क्षमता उनको थियो । जसका कारण लोकगीत, आधुनिक गीत, राष्ट्रिय गीत तथा भजन आदिमा समेत उनको गाढा उपस्थिति रह्यो । गीतको मूल्याङ्कन, प्रभाव र विश्लेषणलाई नजिकबाट आत्मसात् गर्ने क्षमता रहेका पुष्पमा खाँटी नेपालीपन थियो । सुरुमै उल्लेख गरिसकिएको छ अगमसिंह गिरीको ‘नौलाखे तारा उदाए...’ प्रत्युत्तर स्वरूप ‘फर्क है फर्क नेपाली...’ गाएपछि अम्बर त फर्के नै उनीसहित गोपाल योन्जन, अनुराधा मगर (हाल कोइराला), मनबहादु्र मुखिया, देवदत्त ठटाल, नोर्बु छिरिङ, उदय सोताङ, मनिला सोताङ, मनबहादुर मु्खिया, लैनसिंह बाङ्देल, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली तथा पिटर जे कार्थकहरूको लस्कर नेपाल भित्रियो । हरिभक्त कटुवाल पनि यसै मेसोमा भित्रिएका थिए तर यहाँका रैथानेको कोपभाजनमा परी पुनः उतै आसाम फर्किनु प¥यो ।

अप्ठ्याराहरू पुष्पको जीवनमा प्रशस्त आए । रेडियो नेपालबाट स्वर परीक्षा पास गरे पनि उनले आफ्नो पहिलो र दोस्रो गीत कोलकाताको एचएमभी रेकर्डबाट रेकर्ड गराउनु प¥यो । २०२२ सालतिर इलामकी मीना देवानसित अन्तर्जातीय बिहे गरेपछि उनले परिवारलाई सामान्य गर्न निकै पापड बेल्नु परेको हो । बालकृष्ण सम शमशेरबाट सम भएपछि पुष्प जोशीले पनि आफूलाई पुष्प नेपाली बनाए । त्यो बेलाको जातीय असमानता भएको मुलुकमा नेपाली शब्द आफ्नो नाममा जोडेर नेपाली भूमिका आदिवासी सबै समान हुन्छन् भन्ने सन्देश सारा नेपाली आकाशमा प्रक्षेपण गरे पुष्पले । अर्कातिर कथित पानी नचल्ने जातले लेख्ने नेपाली थरलाई आफ्नो नाममा जोडेर उनले ल्याएको अभूतपूर्व क्रान्तिलाई नेपालका आफूलाई उधुम क्रान्तिकारी भन्ने पार्टीका नेताले कसरी लिँदा हुन् ? यो प्रश्न अनुत्तरित नै छ ।


राजा महेन्द्र र कुनै बेलाका प्रधानमन्त्रीसमेत रहेका कुँवर इन्द्रजित सिंह (केआई सिंह) लाई समेत आफ्नो जुझारुपन, स्वावलम्बी स्वभाव र उच्च प्रतिभाका कारण प्रभावमा पारेका पुष्पको सुन्दर कला र गला नपाएको भए मविवि शाहका गीतले पनि यत्रो प्रसिद्धि पाउन सक्ने थिएनन् । पुष्पको दोस्रो रेडियो प्रवेश र दार्जिलिङमा भइरहेको नेपाली सङ्गीतमा आधुनिकताको खोजीले गर्दा २०२० देखि २०३० को दशकको नेपाली सङ्गीतको चरण इतिहासकै एउटा स्वर्णकाल सिद्ध हुन पुग्यो । विसं २०१५ सालमा पुष्प र बच्चुको पहलमा खुलेको कलाकुञ्जमार्फत गीत/सङ्गीतमा मौलिकताको खोजी निकै अर्थपूर्ण रहेको छ ।

रचनाका अर्थमा पुष्पमा गीतमा प्रेमप्रणय, दुखान्तपनको प्राचुर्य, ईश्वरभक्ति, देशभक्ति, मानवताको खोजी तथा प्रकृति चित्रण प्रचुर मात्रामा पाइन्छ । काव्यात्मकता भन्दा सङ्गीतात्मकताको खोजी उनको गीतलेखनको परिचय रहेको छ । उनका गीत धेरै जसो आफ्नै कम्पोजिसन तथा गायनमा सार्वजनिक भएका छन् भने कतिपयमा नातिकाजी र शिवशङ्करको सङ्गीत संयोजन रहेको छ । एकल, युगल तथा कोरससहित तिनै किसिमको सहभागिता उनको गायनमा छ भने पुण्यप्रसाद सुवेदी, बालकृष्ण सम, विश्ववल्लभ, प्रदीप रिमाल, राममान तृषित, तुलसी दिवस, धर्मराज थापा, शरण प्रधान तथा किरण खरेललगायत थुप्रै स्रष्टाका गीतमा उनले न्याय गरेका छन् ।

भैरवबहादुर थापा, शरण प्रधान, शान्ति ठटाल तथा ज्ञानबहादुर श्रेष्ठको सङ्गीतमा उनको गायकी खुलेको छ । यसो भए पनि उनी गीत मविवि शाहकै रोज्थे भने सङ्गीतमा नातिकाजी र शिवशङ्करको । गला मिलाउनु पर्दा आत्मीय मित्र बच्चु कैलाशकै । बाबु धिमेबाजाका धुरन्धर वादक र दाजुहरू पनि सङ्गीतका उस्ताद रहेबाट उनलाई पारिवारिक रूपमै सङ्गीतमा लाग्ने बाटो खुलेको थियो । किशोरावस्था भारतमा बिताएका उनी सैद्धान्तिक सिकाइलाई भन्दा व्यावहारिक प्रयोगलाई सङ्गीतका अर्थमा प्रभावशाली ठान्थे । आजको उपभोक्तावादी जमानामा सबै आत्मप्रशंसामा लट्ठिन्छन् तर पुष्प यस्ता मानसम्मानका दोसल्ला ओढ्न निकै अल्छी मान्थे ।    

एचएमभी कोलकाता, रेडियो नेपाल, रत्न रेकर्डिङ संस्थान तथा इन्द्रेणी रेकर्डबाट उनका झन्डै पाँच सय गीत रेकर्ड भएका छन् भने उनका डायरीमा उनले लेखेका थुप्रै गीतको कम्पोज हुन बाँकी नै रहेको पाइन्छ । देवानबाट जोशी बनेकी मीनाका मायालु श्रीमान् तथा पुकार, पुनम र पूजा जोशीका मार्गदर्शक बाबु पुष्प नेपाली आफूले गाउने गीतको गाम्भीर्य र प्रभावलाई आकलन गरेर मात्र गाउँथे । श्यामदास वैष्णवका जागरण गीत उनले गाए, अझ लक्ष्मण लोहनीको ‘फर्क है फर्क नेपाली...’ गीतले त भारत–चीन युद्धका कारण प्रतिबन्धको सामना नै गर्नु परेको हो भनिन्छ तर यसको पुष्टि गर्ने आधारहरू पाइएका छैनन् । मातृभूमिप्रतिको जिम्मवारी बोध गराउने देशभक्तिपूर्ण शब्दहरूको चयनबाट उनका गीतले युवामनलाई जुरुक्क उचाल्ने सामथ्र्य राख्छन् । उनका जीवनमा तीन क्यासेट एल्बम उनी आफैँले निकाले भने म्युजिक नेपालले एउटा निकालिदियो । उनी धाएर नजाने, आजको स्वार्थी युगमा उनलाई खौज्दै को आउने ?

बच्चुकैलाशबाहेक दिलमाया खाती, अरुणा लामा, तारादेवी तथा रुवि जोशीसित गरेको सहकार्य उनलाई चित्त बुझेको छ । आफ्ना साक्खै भतिजा रुविबाट उनले प्रशस्त सहयोग पाए । भूपि शेरचनसितको गीतकार र गायकीको नाताले मन खाएको छ । मुक्तिसेनामा रहँदा थकित मुक्तिसेनालाई हरेक साँझ मन बहलाउन उनले गीत गाइदिनु पथ्र्यो । यसबाट उनको रियाज पनि भयो । लडाकुलाई मनोरञ्जन पनि । यसरी स्वर खारेका उनले महाकवि देवकोटाका झ्याउरे कृति र रामायण आदिका श्लोक लय हाली गुनगुनाउँदै आफ्नो गायकी तिखारेका हुन् । उस्ताद बद्री, नरराज ढकाल, यज्ञराज शर्मा आदिको गुरुकुलका प्रिय शिष्य पुष्प नेपाली साङ्गीतिक इतिहासको अलग्गै पहिचान बनाउने प्रतिनिधि पात्र रहे ।

छापा र विद्युतीय मिडियाबाट टाढै रहने स्वभाव उनको बच्चुकैलाशको जस्तै थियो । एउटा असल जोडी थियो उनीहरूको । जसको आगमनले एक जमानामा स्टेज नै तात्थ्यो आज मह जोडीको आगमनले ताते जस्तै । २०४० सालसम्म उनी रेडियो नेपालमा रहे तर २०३०/३२ सालदेखि नै गीत/सङ्गीतमा उनी पातलिँदै थिए । यसो हुनुको कारण उनको घरव्यवहार तथा व्यवसाय आदि हुँदो हो । अझ २०४६ सालमा बहुदल आएपछि त उनले लेखेका, गाएका र कम्पोज गरेका धेरै गीत रेडियोबाट गुमनाम भए । कारण थियो ती गीतमा राजा र रानी भन्ने शब्दको प्रयोग हुनु । यो पुष्पकै भनाइ हो ।

पछिल्लो कालखण्डमा कुनै पनि मन्त्रीका हातबाट पुरस्कार तथा मानसम्मान नलिने प्रण गरेका उनी त्यही भनाइमा अडिग रहँदारहँदै विसं २०५८ कात्तिक २७ मा अनन्तमा बिलाए । ‘बिदा हुने भैगयो बेला फेरि भेट होला कि नहोला...’ बोलको गीतबाट जनमनको मुटुमा राज गर्ने कालजयी गायक बिदा भए फेरि भेट नहुने गरी । 

  –युवामञ्च 

Author

कमल सुवेदी