दीना शनिचरलाई सन् १८०० को मध्यमा भारतको एउटा वनमा जङ्गली अवस्थामा फेला पारिएको थियो । सिकारीहरू उनलाई घनघोर जङ्गलमा जीवित देखेर मात्र होइन ब्वाँसाको हुलको सदस्य भएको देखेर तीन छक्क परे । विश्वास गर्न नै गाह्रो ब्वाँसाको हुलमा एक मानिस, त्यो पनि जङ्गली । यसै कारण दीनालाई ‘वुल्फ ब्वाय’ भनियो । दीनाको जीवनीबाट प्रभावित भएर नै ‘जङ्गल बुक’को प्रसिद्ध चरित्र मोग्ली रचना गरियो ।
जङ्गलबाट बाहिरको दुनियाँमा दीनाले केही दशक सामाजिक मूल्यमान्यता सिक्ने कोसिस गरे, भलै उनले पशुवत् व्यवहार गर्दथे । आजसम्म उनको कथालाई प्रकृति र पालनपोषणबीचको तुलनात्मक अन्तर अध्ययनमा प्रयोग गरिन्छ ।
सन् १८६७ मा भारतको उत्तर प्रदेशमा पर्ने बुन्देल सहरको जङ्गलमा सिकारीहरूको एक समूह खोजतलासमा जुटेको थियो । हालैका दिनमा ब्वाँसाको आक्रमणबाट आहत मानिसहरू जङ्गलमा अगाडि बढ्दै गर्दा धेरै सचेत थिए । उनीहरूका आँखा केही कुरा खोज्दै थिए । खोज्दै जाँदा उनीहरूले ब्वाँसाको एक हुल नजिकैको एउटा गुफामा छिर्दै गरेको देखे । डर लागे पनि सिकारी समूह ब्वाँसालाई मार्न तथा स्थानीय बस्तीमा शान्ति ल्याउन अधिकतम प्रयास गर्न दृढ निश्चयी थियो ।
सिकारी समूहले गुफाको मुखमा आगो बाल्ने निर्णय लियो । आगो बालेर धुवाँ गुफाभित्र पठाएर ब्वाँसालाई मार्ने योजनामा उनीहरूले काम गर्न थाले । धुवाँ सहन नसकेर ब्वाँसा बाहिर निस्कने बेला ताकेर गोली हान्ने गरी सिकारी दाउ छोपेर तयार भए ।
अनि उनीहरूले जस्तो सोचेका थिए त्यस्तै भयो । गुफाबाट ब्वाँसो बाहिर निस्कन थाले, सिकारीले गोली हानेर एक एक गरी तिनलाई मारे । लगभग सबै ब्वाँसा मरेपछि सिकारीले गुफाभित्र कसैले खोकेको हल्का आवाज सुने । खोकीको आवाज बाहिर आउँदै थियो । उनीहरूले यो आवाज अन्तिम ब्वाँसोको भएको अनुमान गरी बन्दुक तेस्र्याए । केही छिनमा एउटा कालो छवि धुवाँ भरिएको गुफाको मुखमा देखियो । त्यो दृश्यमा सिकारीहरूलाई विश्वास भएन र उनीहरू तर्सिए पनि ।
जब बाहिरको उज्यालो त्यो छविमा प¥यो सिकारीहरूले हातखुट्टा टेकेर हिँड्दै गरेको एक भर्खरको केटा देखे । ती केटा कुकुरसरह ङ्यार्र ङुर गर्दै थिए । सिकारीहरू ती केटालाई देखेर स्तब्ध भए । सहयोग गर्न उनीहरूले ती केटालाई समात्न खोजे तर केही फाइदा भएन । ती केटा ब्वाँसोसरह खतरनाक थिए । जब ती केटा मरेको एक ब्वाँसोको छेउमा गएर बसे अनि मात्र उनीलाई वशमा लिन सकियो र सिकारीहरूले उनलाई जङ्गल बाहिर लिएर आए ।
दीनालाई जङ्गलबाट ल्याएर आगरामा रहेको सिकन्दरा मिसन अर्फानेजमा राखियो । उनलाई देख्ने र उनको व्यवहारले हरेक व्यक्ति चकित भए । उनको व्यवहारको अध्ययन गरिन थालियो । दीनालाई स्वयम्सेवीहरूले लुगा लगाइदिन्थे तर उनी तुरुन्तै लुगा च्यात्दथे । उनीसँग संवाद गर्न भाषा पनि थिएन । ङ्यार्र ङुर गर्ने, गुर्रिने गर्दथे ।
साथै उनले हातखुट्टा टेकेर हिँड्न र काँचो मासु मात्र खान छाडेनन् । आफ्नो जीवनको सुरुका दिनमा उनी जङ्गलमा हराएको र ब्वाँसाले उनलाई लगेर पालेको अनुमान गरियो । त्यही कारण उनको व्यवहार नितान्त ब्वाँसोको जस्तो थियो ।
एकाकी जीवनमा बसेका कारण दीनाले मानिसको जस्तो सामान्य भावसमेत देखाउँदैनथे । उनी कहिल्यै हाँस्दैनथे वा मुस्कुराउँदैनथे तथा कुनै पनि स्वयम्सेवीसँग मानवीय सम्बन्ध वा व्यवहार देखाउन उनले चासो नै दिएनन् । अर्फानेज अर्थात् अनाथालयमा जङ्गली जस्तो देखिने अर्को बालक ल्याएपछि दीनाको व्यवहारमा मानव सङ्गतको केही लक्षण देखिन थाल्यो । ती दुवै बालकबीच सम्बन्ध विकास हुन थाल्यो र एउटा बगैँचामा दुई कुकुर खेलेजसरी हातखुट्टा टेकेर दुवै यताउता खेल्न थाले । राति सँगै टाँसिएर दुवैजना सुत्दथे ।
दुर्भाग्यको कुरा दीनाका साथीको मृत्यु भयो । उनको मृत्युले दीना धेरै समय दुःखी देखिए । उनी ब्वाँसो जसरी कराउने गर्थे र थकित देखिन थाले । पहिलो पटक दीनामा मानवीय संवेदना देखिएको थियो ।
समय व्यतित हुँदै गयो दीना सम्भ हुँदै गए । उनको जङ्गली जीवनशैलीलाई घरेलुमा रूपान्तरण गर्ने कोसिस स्वयम्सेवीबाट जारी रह्यो तर दीनाको जीवनशैलीमा निकै कम सुधार आयो । विस्तारै दीना कपबाट पिउन, पकाएका केही खानेकुरा खान, लुगा लगाउन र दुई खुट्टाले मात्रै हिँड्न सक्ने भए । उनले बोलचालका केही शब्द सिके तर कहिल्यै पढ्न र लेख्न सिक्न सकेनन् ।
दीनाले मानिसको आधारभूत व्यवहार सिक्न सकेनन् तर उनीमा धूमपानको बानी प¥यो र जीवनको अन्त्यसम्म उनले धूमपान गरे । क्षयरोगले गर्दा सन् १८९५ मा दीनाको मृत्यु भयो ।
दीनाको कथाले आजपर्यन्त केही प्रश्न उठाउने गरेको छ । उनको कथाले भन्छ, बाल्यकालको वातावरणले भाषा र व्यवहारमा फरक पर्दछ ।
–युवामञ्च