राधा लुइटेल
फिदिम, असार २७ गते। पाँचथर जिल्लाका दुई फरक स्थानमा बुधबार फेला परेका दुई शवको पहिचान खुलेको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बा र फाल्गुनन्द गाउँपालिका–७ सुलुम्फी क्षेत्रमा एकैदिन दुई वटा शव भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ को सुलुम्फी देउराली भिरको झाडीमा भेटिएको शव कुम्मायक गाउँपालिका–१ यासोक बजारका ३५ वर्षीय किरण खत्रीको रहेको पुष्टि भएको छ। मृतकको झोलामा भेटिएका नागरिकता र अन्य कागजातका आधारमा पहिचान गरिएको पाँचथर प्रहरीले जनाएको छ। खत्रीका काका केदारका अनुसार किरण १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो।
खत्रीको शव यासोक सडकखण्डमा सडकबाट करिब सय मिटर तल झाडीमा फेला परेको थियो । उता मिक्लाजुङ गाउँपालिका–५ मा भेटिएको अर्को शव इलामको माङ्सेबुङ गाउँपालिका–२ निवासी धनबहादुर राईकी ४५ वर्षीया श्रीमती निर्मला राईको रहेको पुष्टि भएको छ।
मृतकको सनाखत उहाँका दाजु चन्द्रप्रसाद राईले पाँचथर आधारभूत अस्पताल रविमा पुगेर गर्नुभएको हो। दुवै शव पहिचान भएसँगै पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) कौशल बुढाथोकीले जानकारी दिनुभयो।