• २८ असार २०८२, शनिबार

पूरा हुँदै ओली सपना

blog

अहिले जबरजस्त एउटा भाष्य निर्माण गरिँदै छ– ‘गणतन्त्र आएपछि सबै बर्बाद भयो । नेपालमा केही हुन्न । अर्थतन्त्र डामाडोल भइसक्यो ।’ यस्तो भाष्य निर्माण गरी समाजलाई निराश बनाइँदै छ । नकारात्मक कुरा दोहोर्‍याइ–तेहेर्‍याइ भनिरहने प्रवृत्तिले भएका कामभन्दा नभएका र असत्य कुराले बजार पाउने गर्छ । तथ्याङ्कमा टेकेर सत्य कुराभन्दा नपत्याउने तर मिथ्याङ्कले बजार मात्र नभएर सम्मानित संसद् नै गर्माउने अवस्थामा छ । तथ्याङ्कमा टेकेर वस्तुनिष्ठ मूल्याङ्कनको कल्पना विद्यमान नेपाली समाजको सपना जस्तै बन्न थालेको छ । 

पछिल्ला तथ्याङ्क हेर्दा देश बर्बाद भएको देखाउँदैन । गणतन्त्रले नागरिकलाई जुन अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गरेर धेरै परिवर्तन भएका छन् । सरकारका नीति तथा कार्यक्रम लोक कल्याणकारीतर्फ उन्मुख छन् । अपेक्षित प्रगति नभएको हुन सक्छ, तर हुँदै नभएको भन्दा आफ्नै आँखाले आफँैलाई छलेसरह हो । यद्यपि सबै क्षेत्रको इच्छाशक्ति भएको भए देशले अहिलेभन्दा अझ धेरै प्रगति हासिल गर्न सक्थ्यो ।

देशका विभिन्न क्षेत्रमा धेरै परिवर्तन भएका छन् । विकास निर्माण र पूर्वाधारका क्षेत्रमा धेरै काम भएको छ । दूरदर्शी नेतृत्वकै कारण देशको विकासले आसलाग्दो गति लिएको छ । नागरिकलाई समृद्धिको सपना देखाउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य पूरा गर्न वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विकासका परिकल्पनालाई खिस्सीट्युरीको विषय बनाउने समाजकै अघि देश बन्ने थुप्रै आधार छन् । जसमध्ये केही प्रमुख आधार यहाँ उल्लेख गरिएको छ । 

जलजलेमा पेट्रोलियम अन्वेषण 

दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ भएको अन्वेषणमार्फत नेपाली नागरिकमा प्रधानमन्त्री ओलीले जगाएको महत्वपूर्ण आशा हो । बर्सौंदेखि ज्वाला बलेको अनुमानका आधारमा ओली नेतृत्वको सरकारले २०८१ वैशाख २८ गतेदेखि सुरु गरेको ड्रिलिङको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास भेटिएको छ । चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा भैरवी गाउँपालिका –१ जलजलेमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्रामाणित खानी तथा भूगर्भ विभागले गरेको छ ।

नेपालले ग्यास विदेशबाट आयात गरेर प्रयोग गरिरहेको अवस्थामा स्वदेशमै ठुलो परिमाणमा ग्यास रहेको पुष्टि भएको जलजले आसपासका क्षेत्रमा थप अन्वेषणको कामलाई अघि बढाउने लक्ष्य प्रधानमन्त्री ओलीको छ । प्राकृतिक रूपमा ग्यास भएको प्रमाणित भएका स्थानमा ग्यास उत्पादनको काम अघि बढाउने र थप स्थानमा अन्वेषण गर्दै पश्चिम नेपालबाट समृद्ध नेपालको ढोका खोल्ने सपना प्रधानमन्त्री ओलीको छ । ओलीकै पालामा ‘चिनियाँ विज्ञले गरेको अध्ययनमा एक सय १२ अर्ब घनमिटर ग्यास रहेको प्रारम्भिक प्रतिवेदनले आमनेपालीमा मात्र नभए विश्व समुदायलाई आशाको सञ्चार गरेको छ । २०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा प्रधानमन्त्री ओलीले पेट्रोलियम पदार्थको विकल्पबारे छलफल सुरु गर्दै यो आयोजना अघि बढाउनु भएको थियो । 

पोखरा–भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल 

हवाई माध्यमबाट नेपालका प्रमुख पर्यटकीय सहरहरू जोड्ने लक्ष्य ओलीको अहिलेको होइन । ओली नेतृत्वको सरकारले पोखरा, भैरहवा र बाराको निजगढमा एकै साथ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अघि सारेको थियो । २०७४ को कात्तिक महिनादेखि निर्माण सुरु भएको पोखरा विमानस्थल २०७९ पुस १७ गते निर्माण सम्पन्न भयो । द्रुतगतिमा भएको निर्माण कार्य अघि बढाइएका पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सरकारले नागरिकलाई हवाई क्षेत्रमा जगाएको अर्को आशा हो । २०७१ पुसमा निर्माण प्रारम्भ भई २०७९ वैशाख १ गते परीक्षण उठान भएको गौतम बुद्ध विमानस्थल जेठ २ गते बुद्ध पूर्णिमाको अवसर पारेर सञ्चालनमा आयो । 

बाराको निजगढमा पनि लगभग अन्तिम चरणमा छ । पर्यटन क्षेत्रबाट आर्थिक समृद्धिको मानकका रूपमा अघि सारिएका यी तीन अन्तर्राष्ट्रिय विमानस्थलले पनि देश विकास हिसाबले ठुलो फड्को मार्दै छ भन्ने अर्को महत्वपूर्ण सन्देश हो । 

नौबिसे–काठमाडौँ सुरुङ निर्माण 

विसं २०७६ कात्तिक ७ मा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको बहुप्रतिक्षित नौबिसे–काठमाडौँ सुरुङमार्ग निर्माणको काम पनि प्रधानमन्त्री ओलीको अर्को महत्वपूर्ण आयोजना हो । कोरोना महामारीले सिर्जना गरेको लकडाउनको बेलामा सुरुङमार्गको निर्माण काम सञ्चाल भएको यो आयोजना ‘ब्रेक थ्रु’ गर्दै लगभग अन्तिम चरणमा छ । ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य लिइएको उक्त सुरुङमार्ग निर्माणमा १६ अर्ब रकम जापान सरकारले सहुलियत ऋणमार्फत उपलब्ध गराएको छ । सुरुङमार्ग सम्पन्न भएसँगै घण्टौँ हुने जाम र यातायात सञ्चालनमा भएको समस्या दीर्घकालीन रूपमा हल हुने मात्र छैन, आधा घण्टा लाग्ने दुरी बढीमा पाँच मिनेटमा पूरा गर्ने छ । नेपालको सडक निर्माणको क्षेत्रमा ओली सरकारले देखेको अर्को सपना हो । 

पुष्पलाल राजमार्ग (मध्यपहाडी) 

पूर्वको चिवाभन्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाटसम्मका मध्यपहाडी क्षेत्रको बस्तीलाई जोड्ने अर्को महत्वपूर्ण आयोजना हो । मध्य पहाडका निमित्त जीवनमार्गका रूपमा अघि सारिएको गौरवको आयोजना पुष्पलाल राजमार्ग निर्माणको काम करिब अन्तिम चरणमा छ । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको एक हजार ८७० किमी लामो यो राजमार्ग निर्माण कम्पनीले देखाएका विभिन्न समस्याले निर्धारित समयभन्दा केही पर धकेलिएको छ । यद्यपि नेपाल–भारत सीमा पूर्व पाँचथरको चियोभन्ज्याङबाट सुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी) सम्म गएर टुङ्गिने यो लोकमार्ग पनि नेपालको सडक पूर्वाधार क्षेत्रको अर्को महत्वपूर्ण उपलब्धि हो । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालको बेला २०७३ भदौमा भएको निर्माणको ठेक्का सम्झौता भएर अघि बढेको यो आयोजना पनि नागरिकमा निराशा छर्नेहरूका लागि देश बन्दै छ भन्ने चोटिलो जवाफ हो । 

सिमकोट राष्ट्रिय सडक सञ्जालमा

नेपालको दुर्गम हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कुरा २६ वर्ष अगाडिदेखि सरकारले ल्याउने हरेक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्दै आएको थियो । सुस्त गतिमा अघि बढेको कर्णाली कोरिडोरको निर्माण कार्यलाई द्रुतत्तर गतिमा अघि बढाउने कामको नेतृत्व मात्र होइन, ७७ औँ जिल्ला सदरमुकामका रूपमा सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने काम प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै पूरा गरेको छ । निरन्तर रूपमा निर्माण कार्य अघि बढेको खार्पुपुल निर्माणमा ढिलाइ भएपछि २० कात्तिक २०८१ को मन्त्रीपरिषद् बैठकले अघि सारेको खार्पु बेलिब्रिजको निर्माण लगत्तै प्रधानमन्त्री ओलीले २२ असार २०८२ मा हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको घोषणा गर्नुभएको छ । विकासोन्मुख देशको सूचीबाट नेपाललाई स्तरोन्नति गर्ने अन्तिम चरणमा पुगेका बेला मानव विकास सूचकाङ्कको महत्वपूर्ण सूचक मानिने सडकमार्फत नेपालका सबै जिल्ला जोडेर विश्व समुदायसमक्ष ओली नेतृत्वको सरकारले सडक पूर्वाधार क्षेत्रमा महत्वपूर्ण फड्को मारेको प्रमाण हो । 

पूर्वपश्चिम राजमार्ग विस्तार

सरकारले नेपालको सुदूरपूर्व र सुदूरपश्चिम जोड्ने पूर्व पश्चिम राजमार्गलाई विस्तारको योजना अघि सार्‍यो । ओली नेतृत्वको सरकारको दोस्रो कार्यकाल सुरु भएसँगै प्रधानमन्त्री ओलीले २०७५ चैत्रमा बुटवल पुगेर सडक विस्तार तथा स्तरोन्नतिको शिलान्यास गर्नुभयो । काम सुरु गर्दा १२ अर्बको बजेट विनियोजित भएको यो काम पनि अहिले धमाधम निर्माणको क्रममा छ । सरकारले पूर्व पश्चिम राजमार्गलाई कतिपय ठाउँमा चार लेन र कतिपय ठाउँमा छ लेनको फराकिलो बनाउँदै छ । खण्ड खण्ड गरी अघि बढाइएको राजमार्ग विस्तारको कामले पनि देश बन्दै गरेको सन्देश दिएको छ । पूर्वदेखि पश्चिमसम्म सडकमा भइरहेको कामले नागरिकमा देश बन्दै गरेको नमुना पेस गरेको मात्र छैन, केही भएन भन्ने कुतर्क गर्नेहरूका लागि देश समृद्धिको मार्गमा अघि बढेको छ भन्ने प्रमाणको काम गरेको छ । 

जनकपुर–जयनगर रेल

प्रधानमन्त्री ओलीले नागरिकमा बाँडेको पानीजहाजको सपनालाई केही समय हाँसोमजाकको विषय पनि बनाइयो । ओली सरकारमा आउनुअघि र आएसँगै पनि रेल र पानीजहाजको विषयमा निकै चर्चा चल्यो । ओलीले देखेको रेल चलाउने सपना पूरा भयो । २०६१ माघ महिनादेखि बन्द जनकपुर–जयनगर रेल सेवा सुचारु भएको छ । ओली नेतृत्वको सरकारले २०७६ वैशाखमा भारतको सरकारी कम्पनी कोनङ्कन रेल्वेज कर्पोरेसनसँग ८४ करोड ६५ लाखको लागतमा रेल किन्ने सम्झौता भयो । रेल २०७८ चैत १२ देखि सञ्चालनमा आयो । तत्कालका लागि ३५ किमी र त्यसपश्चात् ५२ किमीमा जनकपुर–जयनगर रेल सञ्चालनमा आएको जयनगर रेलमार्फत पनि ओली सरकारले गर्न खोज्यो भने देशमा छोटो अवधिमै थुप्रै काम हुन्छन् भन्ने प्रस्तुत गरेको अर्को प्रमाण हो । 

जनकपुर–जयनगर रेलमार्फत पूर्व पश्चिम रेलमार्ग, उत्तर दक्षिण छिमेकी जोड्ने रेलमार्ग, काठमाडौँ र अन्य सहरमा मेट्रो र मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन जस्ता नीति तथा कार्यक्रम अघि सारेको ओली सरकारले समृद्ध नेपाल निर्माणमा नागरिकलाई देखाएको महत्वपूर्ण सपना हो । 

अन्तरदेशीय पेट्रोलियम पाइप लाइन

प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट ओली र तत्कालीन भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेको बहुप्रतिक्षीत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना ओलीको दोस्रो कार्यकालमा सम्पन्न भएको अर्को महìवपूर्ण परियोजना हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन २०७५ भदौ २४ देखि सञ्चालनमा ल्याइएको हो । पाइप लाइन सञ्चालनमा आएको एक वर्षको अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल पाइप लाइनबाट आयात गरिएको आयल निगमको तथ्याङ्क छ । ६९ किलोमिटर लामो उक्त पाइप लाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडाबापत मात्र निगमलाई एक वर्षमा ८० करोडभन्दा बढीको बचत हुने गरेको छ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन सफल भएपछि वास्तवमै सरकारले नेपाल बन्दै गरेको सन्देश प्रवाह गरेको छ । 

मदन भण्डारी राजमार्ग निर्माण 

ओली नेतृत्वको सरकारले नै २०७५ जेठमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजनाको घोषणा गरेको थियो । पञ्चायतकालमा निर्माण गरिएको महेन्द्र राजमार्गको विकल्पको रूपमा सरकारले मदन भण्डारी राजमार्गलाई अगाडि सा¥यो । एक हजार दुई सय किलोमिटर लामो यो राजमार्गले नेपालको पूर्वी जिल्ला र पश्चिमी जिल्लालाई जोड्ने छ । यो राजमार्ग १० वटा विभिन्न टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु¥याउने गरी बनाइएको छ । ५० अर्ब खर्चमा बन्ने यो बहुप्रतिक्षीत परियोजना नेपालको यातायात पूर्वाधारको विकासमा कोसेढुङ्गा साबित हुने छ । सरकारले राष्ट्रिय गौरवको यस राजमार्ग निर्माणका लागि तीन अर्ब सात करोड रुपियाँ बजेट विनियोजन गरेर काम अघि बढाएको छ । 

प्रतिव्यक्ति आय वृद्धि 

विकास, समृद्धि र जनताको जीवनस्तर मापन गर्ने एउटा मापक ‘प्रतिव्यक्ति आम्दानी’ हो । नेपालीको प्रतिव्यक्ति आम्दानी आव ०६१/६२ मा ३२९ अमेरिकी डलर थियो । चालु आव २०८१–८२ को अन्त्यसम्म एक हजार ४५६ डलर पुग्ने अनुमान छ । यो राम्रो उपलब्धि हो । विश्व बैङ्कको हालैको प्रतिवेदन भन्छ, ‘३० वर्षअघि ५५ प्रतिशत नेपाली असाध्यै विपन्न अवस्थामा थिए । उनीहरूको आम्दानी प्रतिदिन २.१५ डलरभन्दा कम थियो । त्यही मापदण्डका आधारमा आज गरिबी ०.३७ प्रतिशतमा झरेको छ ।’ सम्मानजनक आम्दानी भनेर प्रतिदिन ६.८५ डलरलाई आधार मान्ने हो भने ३० वर्षअघि ९० प्रतिशत नेपाली त्यो सीमाभन्दा तल थिए । अहिले ५० प्रतिशतमा झरिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ३० वर्षमा लाइफ एक्स्पेटेन्सी २२ वर्षले सुधार भएको छ । अहिले नेपालीको जीवन प्रत्याशा ७० वर्ष पुगेको छ । विश्वको औसत उमेर ७१ वर्ष छ । यसले पनि नेपालले विकासमा गरेको प्रगतिकै कारण विभिन्न सूचकहरूमा आफूलाई अब्बल साबित गर्दै गएको देखाउँछ ।