• २८ असार २०८२, शनिबार

सडक एक कुलो दुई

blog

पाटन नगरपालिका–५, वसन्तपुर सडकमा बनेको नयाँ र पुरानो कुलो ।

गोकर्ण दयाल 

बैतडी, असार २८ गते । गाडी, मोटर चलाउन निर्माण भइरहेको सडकमा कुलोमाथि कुलो बनाएर योजना पास भएको छ । सडकमा पहिलेदेखि नै कुलो थियो । त्यसमाथि नगरपालिकाले कुलोसँगै जोडेर नयाँ कुलो बनाएपछि चौतर्फी आलोचना भएको छ । 

पाटन नगरपालिका–५, वसन्तपुर जोड्ने ग्रामीण सडकमा कुलोमाथि कुलो बनेको वडाध्यक्ष फुनी बोहराले बताउनुभयो । कुलोबाट स्थानीयलाई सिँचाइ सुविधा हुने भए पनि दीर्घकालीन नभएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पाँच वर्षपहिले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सडकमा निर्माण गरेको एउटा पुरानो कुलो थियो । चालु आर्थिक वर्षमा नगरपालिकामा २७ लाख रुपियाँ योजना परेपछि गौदेवल सिँचाइ योजनाको नयाँ कुलो थपिएको छ । सडकमा कुलो नबनाऊँ भन्दा पनि प्राविधिकले मानेनन् । मैले वडाको सिफारिस दिएको छैन ।”

उहाँले सडकभन्दा तल्तिर कुलो निर्माण गर्न सकिने विकल्प भए पनि त्यसो नगरिएको बताउनुभयो । सडकमा दुई वटा सिँचाइ कुलो बनेपछि सडक विस्तार गर्ने कि कुलो बनाउने भन्ने अन्योल सिर्जना भएको उहाँले बताउनुभयो ।पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले भुलवश सडकमा कुलो बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय सरकारको अनुदानप्राप्त भएपछि कुलो बनेको हो । यसअघि सोही सडकमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइ कुलो निर्माण गरेका कारण हामी पनि झुक्कियौंँ । त्यसो नगर्नुपर्ने रहेछ ।”

सडकमा कुलो निर्माण भएको विषयमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रामरत खरेलले पुरानो कुलो सिँचाइ कार्यालयले बनाएको बताउनुभयो । नयाँ कुलोबारे सिँचाइ कार्यालयलाई कुनै जानकारी नभएको उहाँले बताउनुभयो । 

करोडौँका सिँचाइ योजना अलपत्र

सिँचाइ डिभिजन कार्यालयले विगतका वर्षमा निर्माण गरेका करोडौंका योजना अलपत्र अवस्था रहेका छन् । जिल्लाको मेलौली नगरपालिका–८, भम्तखोरडमा लिफ्ट सिँचाइमा करिब एक करोड रुपियाँ खर्च भए पनि खेत बाँझै रहेको छ । भम्तखोरडमा सुदूरपश्चिम प्रदेश सरकारले नमुना कृषि गाउँको योजना बनाएर दुई करोड रुपियाँ खर्च गरेर फलामका पाइप भएको पोलिहाउस वितरण गरे पनि खेतमा अलपत्र छाडिएका छन् । बाँझो खेतमा पशु चौपाया चर्ने गरेका भेटिन्छन् । 

नमुना कृषि गाउँको योजनामा मुद्दा परेपछि वितरण भएका पोलिहाउस अन्यत्र सार्न सकिने कृषि ज्ञानकेन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । त्यसै गरी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुई वटा सिँचाइ योजनामा लाखौँ रुपियाँ खर्च गरेर अधुरै छाडेको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले आफ्नो वडामा दुई वटा सिँचाइ कुलोमा आधा बजेट खर्च गरेर योजनाका पाइप अलपत्र पारेको बताउनुभयो । सिगास गाउँपालिका–१ को स्यापागैर सिँचाइ योजना र टकेरे सिँचाइ अलपत्र छाडिएको वडाध्यक्ष ऐरीले बताउनुभयो ।