ललित बसेल
सुर्खेत, भदौ १५ गते । कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र करार जनशक्तिका भरमा चलिरहेको छ । कर्णालीमा स्थायी दरबन्दीकै हाराहारीमा करार सेवामा नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीको स्वास्थ्य क्षेत्रमा स्वीकृत दरबन्दी तीन हजार १३४ रहेको छ । जसमध्ये स्थायी स्वीकृति दुई हजार ३४६ छ भने करार सेवामा दुई हजार १५९ जना छन् । अझै ८४७ पद रिक्त रहेको छ । प्रदेश तथा स्थानीय तहले करार जनशक्ति नियुक्त गरेका छन् । स्वास्थ्य अवस्था कमजोर रहेपछि स्थायी साथै करारमा नियुक्त गरेर पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रयास थालिएको हो ।
सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको ‘कर्णाली स्वास्थ्य पाश्र्वचित्र २०८२’ मा कर्णालीमा स्वास्थ्य जनशक्ति प्रमुख समस्या रहेको उल्लेख गरिएको छ । यहाँका १० जिल्लामा स्वीकृत दरबन्दी पूर्ति गर्न कठिनाइ भएको भन्दै उक्त पाश्र्वचित्रमा धेरै जसो प्राविधिक जनशक्ति पूर्ति हुन नसकेको जनाइएको छ । पारामेडिक्स र नर्सिङ पद केही हदसम्म पूर्ति गरिए पनि प्राविधिक पद धेरै जसो रिक्त छन् । प्रयोगशाला प्राविधिक, एक्सरे प्राविधिक र मेडिकल अधिकृत जस्ता प्राविधिक पद रिक्त रहेको सो पाश्र्वचित्रमा उल्लेख गरिएको छ ।
सुर्खेत, जाजरकोट, डोल्पा जस्ता जिल्लामा धेरै स्वीकृत दरबन्दी भए पनि रिक्त पद सङ्ख्या पनि बढी नै छ । यी जिल्लामा पारामेडिक्स र नर्सिङ पदमा पूर्ति गरिए पनि अन्य प्राविधिक पदपूर्तिको अवस्था कमजोर रहेको जनाइएको छ । धेरैजसो स्वास्थ्य संस्थाले करारमा स्वास्थ्य जनशक्ति पूरा गरेर भए पनि सेवा प्रदान गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वीकृत दरबन्दी नभएका पदमा करार नियुक्त गरेर भए पनि सेवा दिनुपर्ने बाध्यता रहेको बताउनुभयो । नियमित सेवाका साथै कहिलेकाहीँ महामारीका बेला पनि करारमा कर्मचारी राख्नुपर्ने उहाँको भनाइ छ । विशेषज्ञ चिकित्सकलगायत प्राविधिक पदमा करारमै भर पर्नु परेको उहाँले जनाउनुभयो ।
पाश्र्वचित्रमा सबैभन्दा धेरै पारामेडिक्स र स्टाफ नर्स तथा अनमी राखिएको छ । पारामेडिक्समा ५७५ जना र स्टार्फ नर्स, अनमीमा ८८४ जना तथा प्रयोगशाला, एक्सरे तथा अन्य प्राविधिक पदमा ५०३ जना जनशक्ति करारमा राखिएको छ । पारामेडिक्स जनशक्ति डोल्पामा २६ जना, सल्यानमा ४७ जना, मुगुमा २९ जना, दैलेखमा ४७ जना, कालीकोटमा १२१ जना, सुर्खेतमा ९० जना, हुम्लामा ४७ जना, जुम्लामा ३६ जना, रुकुमपश्चिममा ७१ जना र जाजरकोटमा ६१ जना करारमा राखिएको छ । यस्तै स्टाफ नर्स, वरिष्ठ अनमी ,अनमीमा डोल्पामा ३० जना, सल्यानमा ९० जना, मुगुमा ५२ जना, दैलेखमा ११७ जना, कालीकोटमा ८७ जना, सुर्खेतमा १५६ जना, हुम्लामा ४२ जना, जुम्लामा १३९ जना, रुकुमपश्चिममा ८० जना र जाजरकोटमा ९१ जना जनशक्ति करारमा राखेर स्वास्थ्य सेवा प्रदान गरिएको पाश्र्वचित्रमा उल्लेख छ ।
प्रदेशभर विशेषज्ञ चिकित्सक ४८ जना करारमा राखिएको छ । मेडिकल अफिसर डाक्टर ९८ जना, डेन्टल सर्जन १० जना, वरिष्ठ जनस्वास्थ्य अधिकृत सात जना, नर्सिङ अफिसर ३० जना पनि करारमा राखेर सेवा प्रदान गरिएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख शाहीले जनशक्ति अभावले करारबाट पूर्ति गरेर पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो । सधैँ करारको भर पर्नुभन्दा स्थायी स्वीकृत दरबन्दी पूर्तितर्फ सरकार लाग्नुपर्ने सुझाव उहाँको छ । कर्णालीको स्वास्थ्य सेवा गुणस्तरीय र दिगो गरी प्रवाह गर्न आवश्यक दक्ष जनशक्तिकोउपलब्धता मुख्य माग भएको जनाइएको छ ।