• २७ असार २०८२, शुक्रबार

नेपालीले भारतमा चोरेको गहना र पैसा सम्बन्धित धनीलाई बुझाइयो

blog

भारतमा गहना, नगद चोरी गरेर नेपालमा पक्राउ परेका व्यक्ति। तस्बिर : जिल्ला प्रहरी कार्यालय

अविनाश चौधरी

धनगढी, असार २६ गते। नेपालीले भारतको बेङ्गलोरबाट चोरेर ल्याएको गहनासहित विभिन्न देशको मुद्रा कैलाली प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाएको छ। 

प्रहरीले बेङ्गलुरु सहरको कर्नाटक बस्ने एस रमेश बाबुलाई गरगहनासहित नगद पैसा फिर्ता दिएको हो। गत मे महिनामा नेपाली कामदार कालीकोटको नरहरीनाथ गाउँपालिका–२ बस्ने उदय विष्टसमेतले रमेशको घरमा राखेका गरगहना र नगद रुपियाँ चोरी गरेको भारतीय प्रहरी सूचना जाहेरीका साथ जिल्ला प्रहरी कार्यालयमा आएका थिए। 

घटनाको अनुसन्धान गर्दै जाँदा नरहरीनाथ–२ का ४६ वर्षीय उदय विष्ट र ४५ वर्षीय भैरे विष्टलाई पक्राउ गरिएको थियो। अनुसन्धानको क्रममा उनीहरुले चोरी पश्चात आफ्नो हिस्सामा परेको गरगहना कैलालीको लम्कीचुहा–१ बस्ने ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको बताएका थिए। प्रहरीले सुनारलाई पक्राउ गरेको छ। उनको साथबाट गरगहना र नगद बरामद गरिएको सह प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। 

प्रहरीले सुनको चुरा नौ थान, सुनजस्तो देखि वस्तु ४६४ ग्राम, सुनका सानाटिना टुक्रा २३ थान, २१६ ग्राम सुनका र ४०० ग्राम चाँदीका विभिन्न गरगहना बरामद गरेको छ। 

यसैगरी, भारतीय रुपैया ४४ हजार १२१, नेपाली रुपियाँ १२ लाख ९२ हजार ३२० र विभिन्न देशका विदेशी मुद्रा १५ हजार ४६५ बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बरामद सुनचाँदी, गरगहना र मुद्रा सम्बन्धित धनी एसलाई हस्तान्तरण गरिएको छ।