काठमाडौँ, असार २६ गते । हेल्थ फाउन्डेसन नेपाल, युएसए (एचएफएन)को १३ औँ सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ ।
आगामी सेप्टेम्बर १३ देखि १५ सम्म तीन दिन हुने सो सम्मेलनमा नेपाल र अमेरिकाबाट चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी हुने फउण्डेसनका निर्देशक डा.आदित्य जोशीले जानकारी दिनुभयो ।
वार्षिक साधारणसभा समेत रहेको यो सम्मेलनले नेपालको स्वास्थ्य सेवा विकासमा सहयोगका लागि नयाँ रणनीति निर्माण गर्ने र भविष्यका कार्यक्रम तय गर्ने डा.जोशीको भनाइ छ । सम्मेलनमा १५० भन्दा बढी स्वास्थ्य क्षेत्रका विज्ञहरू न्युयोर्कमा भेला हुने अनुमान गरिएको छ ।
सम्मेलनको पहिलो दिन मानसिक रोग तथा नसर्ने रोग सम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुने र ती कार्यपत्रमाथि छलफल हुने डा.जोशीले जानकारी दिनुभयो । साथै, सम्मेलनमा नेपाली खानाका साथै सांस्कृतिक कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिनुभयो ।
फाउन्डेसनका अध्यक्ष डा. श्रीधर पौडेलले यो सम्मेलन अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासलाई नेपालको स्वास्थ्य प्रवर्द्धनमा उत्प्रेरित गर्ने साझा थलो हुने बताउनुभयो ।
फाउन्डेसनले सन् २०१३ बाट नेपालमा मानसिक स्वास्थ्य, डिजिटल र स्वास्थ्य साक्षरता, दीर्घ रोग परीक्षण तथा उपचार, कुपोषण न्यूनीकरण र नेपाली चिकित्सकलाई मेरिटसिप प्रदान गर्दै आएको छ ।