गाजा सिटी, असार २६ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ । गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो ।
एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ । एजेन्सीका अधिकारी मोहम्मद अल-मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल-बलाहमा १२ जनाको मृत्यु भएको बताउनुभयो । मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए ।
नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ । दक्षिणमा खान युनिसको अल-मवासी क्षेत्रमा पालमा बसेका पाँच जना व्यक्ति रहेको उहाँले बताउनुभयो । इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । रासस/एएफपी