- सरकारी सञ्चार माध्यमका हामी, राजाको पक्षमा जनलहर देखाउने अभिनन्दनको नाटक प्रचारमा खटिएका, संस्थानको नम्बर प्लेटसहित राज्यका सुरक्षा निकायको पहुँचबाहिरका शिविरतिर लाग्यौँ । बाटो थाहा छैन । सोध्दै खोज्दै शिविरमा पुगेर केही अन्तर्वार्ता लिइयो । त्यहाँ शरणार्थी अनि कर्मचारीहरूले कसरी आइपुग्नुभयो यहाँ ? धेरै बेर नभुल्नुहोस्, भनेपछि त सहकर्मीहरूको अनुहार कालो निलो हुन थाल्यो !
- राज्यभन्दा विद्रोहीको नियन्त्रण बलियो जस्तो रहेको त्यो ठाउँबाट फर्कंदै गर्दा म आफैँलाई दुस्साहसी भएँ भन्ने लागिरह्यो । विद्रोहीको फेला परिएको भए सरकारी गाडी आगजनी र हामी अपहरणमा पर्ने सुनिश्चित हुने परिस्थिति थियो त्यो । बाटोमा यो कुरा सुनाइदिएको त दुई जना साथी काठमाडौँ फर्किहालौँ भन्न थाले ।
विसं २०५२ मा प्रकाल गोरखापत्रको उपसम्पादक सातौँ तहमा उत्तीर्ण भएर रिपोर्टिङमा खटिएको थिएँ । नेपाल प्रेस इन्स्टिच्युटको प्रशिक्षणमा अत्युत्तम नतिजा हासिल गरेको मैले सोही संस्थाको ‘चतरा नहर’ बारे फेलोसिप रिपोर्टिङ गरेको थिएँ । नेपाल पोस्ट दैनिक, नयाँ करेन्ट साप्ताहिकमा रिपोर्टिङ, सम्पादन गरिरहेकै थिएँ । यी कारणले पनि मेरो रिपोर्टिङ र लेखन शैलीप्रति प्रमुख समाचारदाता वा अरू वरिष्ठहरू सायदै असन्तुष्ट हुनुहुन्थ्यो । प्रारम्भका प्रमुख समाचारदाता रमेश शर्माको सैद्धान्तिक मार्गदर्शन अनि राजेन्द्र शर्माले पुनर्लेखन गरी वाक्य खँंदिलो बनाउन सिकाउनुभयो । म अहिले पनि सम्झिन्छु, नेपाल आयल निगमको एउटा रिपोर्ट आफूले चाहे जस्तो नभएपछि पछि राजेन्द्र शर्माले चार अनुच्छेद च्यार्र काटेर एक अनुच्छेदमा पुनर्लेखन गरिदिनुभएको बाहेक मैले कुनै समाचार पुनर्लेखन गर्नु परेन ।
यो आत्मश्लाघा गोरखापत्र संस्थानले प्रकाशन गर्न लागेको स्मारिकामा ‘गोरखापत्रमा रहँदाका साहसिक स्मरण’ लेख्न अनुरोध भई आएकाले मात्र व्यक्त गरेको हुँ । सुरुवाती दिनमै गोरखापत्रको प्रथम पृष्ठमै मेरा दुई, तीन वटा रिपोर्टिङ हरेक दिन छापिने गरेका थिए । अनि उतिखेर ‘सिनियर’ हरू कामभन्दा चियागफबाट हाकिमहरूको साखुल्ले हुने प्रवृत्ति थियो । म काममा रमाउँथे ।
मेरो उत्साहकै कारण होला भनिठान्छु, २०५६ को निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित लोकेन्द्रबहादुर चन्दले छोडेको बैतडी निर्वाचन क्षेत्रमा उपनिर्वाचनको रिपोर्टिङ गर्न प्रमुख समाचारदाता र प्रधान सम्पादकले मलाई जाऊ भन्नुभयो । सायद त्यहाँ पुग्न बाँकी समय र यात्रा कठिनाइका कारण अरू जान अस्वीकार गरे । म राजी भएँ । अफिसबाट काजमा जाने पहिलो अनुभव मेरो अवसर थियो तर दूरी, भौगोलिक अवस्था, यातायात वा सुविधाबारे केही थाहा थिएन । हाकिमहरूले कार्यालय सहयोगीलाई धनगढी जाने बसको टिकट काट्न लगाएर थमाइदिए ।
मध्याह्नमै रात्रि बस चढेर त्यसतर्फ लागियो । कोहलपुर पुग्दा उज्यालो भयो । कर्णाली तरेपछि बसमा गीतका भाका, शब्द फेरिन थाले । उतिखेर कर्णाली पार गरी धनगढी पुग्ने सडकका खोला खहरेहरूमा पुल बनेका थिएनन् । डाइभर्सन जस्ता सडकमा बाँकटे हान्दै गुडेको गाडीले उडाएको धुलोले ढाकिएको ज्यान राति ९.३० बजे धनगढी पुग्दा बजार सुनसान । धन्न एक होटेल खुला रहेछ । भित्र पसेर होटेल सञ्चालकलाई परिचय दिँदै प्रमुख जिल्ला अधिकारीलाई फोन लगाइदिन भनेँ ।
प्रजिअले सुनाए, “यहाँबाट बैतडी जाने बसमा भोलि राति जानुभयो भने पर्सि राति मात्र पुग्नुहोला । बरु भोलि बिहान ३ बजे सुरक्षा टोली दुइटा बसमा जाँदै छ । उनीहरूले लैजान माने भने ...नम्बरमा फोन गर्नुस् ।” दिइएको नम्बरमा फोन गर्दा सिट त छैन, मुढामा बसेर जाने भए आउनुहोला भनियो ।
त्यसै गरेँ । टोली नायक इन्स्पेक्टर अर्जुन चन्द एउटा बस पठाएर आफू चढेको बस मलाई पर्खेर रोकिरहेका रहेछन् । उनैले बन्दोबस्त गरिदिए–ढोका अड्याएर कन्डक्टर बस्ने फोल्डिङ सिट ।
हिउँको यात्रा
गोदावरीको उकालो चढेर भाक्सुको भिर तल हेर्दा पनि मलाई चाहिँ डर लागेन किनकि म भिरका तलेत्राहरूमा घाँस काटेर हुर्केको मान्छे । बरू त्यता ‘बागबजार’ ‘कीर्तिपुर’, ‘पोखरा’ आदि स्थान परिचयबोर्ड देख्दा सुन्दा अचम्म लाग्यो । डोटीको बुडरमा एक हातले झिङ्गा धपाउँदै चिसो भात खाएर हगुल्टे लेकतर्फ उकालो चढ्दै गर्दा हिउँ फुस्फुसाउन थाल्यो । एक डेढ किमी जति त कपास जस्तो हिउँ थिच्दै बस गुड्यो । हिउँले ढाकिएको पाखोको सडक नदेखिए पनि टोलीमा रहेका स्थानीयको अड्कलमै गुड्दै थियो बस तर अब हिउँ पन्छाएर अगाडि बढ्ने प्रयास पनि काम लागेन । बसबाट ओर्लेर उनै पथप्रदर्शकका पदचाप पछ्याउँदै राति ८ बजे अनारखोली पुगियो ।
पाँच/छ वटा ससाना घर, पसल र चिया नास्ता गर्ने यो ठाउँ हामी पुग्दा हिउँले अलपत्र परेका यात्रुले भरिइसकेको रहेछ । पसलका चाउचाउ र बिस्कुट पनि रत्तिइसकेछन् । जवानहरूले सुत्ने ठाउँ पाउने कुरै भएन, आगो तापेर बसे । इन्स्पेक्टर चन्दले सबै हतियार आफू मातहत राख्नुपर्ने भएकाले एक पसलको साहुलाई उनी सुत्ने उपल्लो तलाको खाटमुनि हतियार राख्ने र आफू सुत्ने चाँजो मिलाए । मलाई आफूसँगै सुताउने भए । ज्ञानी साहुजी रहेछन् कताबाट चाउचाउ निकालेर सुप बनाई चिउरासहित हामीलाई दिए ।
त्यहाँ एउटा सोलार प्यानलमार्फत चलाइएको भिएचएफ टेलिफोन रहेछ । ब्याट्री सकिनै लागेको । बल्लबल्ल अफिसको रात्रि डेस्कमा टेलिफोन गरेर यस क्षेत्रमा भीषण हिमपात भई निर्वाचन सुरक्षाका लागि खटिएको टोली फसेको समाचार टिपिदिन अनुरोध गरेँ । डेस्कबाट जवाफ फर्काइयो–टिप्ने फुर्सद छैन । फ्याक्स गर्नु।
कागज, फ्याक्स नभएको दुर्गम ठाउँमा हिउँमा फसेको छ रिपोर्टर, ढाडस दिनु त कहाँ, सानो विवरण टिपिदिन आग्रह गर्दा त्यस्तो ठाडो जवाफ पाएपछि मन भरङ्ग भयो । सायदै रिपोर्टिङमा हिँडेका, डेस्कमा बसेर अर्थको अनर्थ लाग्ने गरी शब्द वाक्य काट्ने, फिल्डको परिस्थिति नबुझ्ने सम्पादक सम्पादन डेस्कमा रहेपछि रिपोर्टरहरूले दुःख पाउँछन् नै ।
“हिउँमा बाटो देखिन्न, सम्मै लाग्छ, बाहिर ननिस्कनु होला है,” भनेर सुझाव त दिएका थिए घरधनीले तर पिसाब थाम्नै नसकेपछि राति सुटुक्क ढोका खोलेँ र अलि उता पुगेँ । त्यो जङ्गल पूरै हिउँले ढाकिएको, जुन टल्किएको जस्तो थियो । पहिलो पटक हिउँको सानिध्य पूर्णिमाको रात झैँ उज्यालो मात्र । मलाई चिसोभन्दा बढी रोमाञ्च महसुस भइरहेको थियो । अनायास ध्याच्चै आधा ज्यान हिउँमा पुरिने गरी भास्सियो । धन्न हातले एउटा सानो सानो बिरुवाको फेद समात्न पुगे छ, त्यसकै सहारामा माथि उक्लिएँ ! झन्डै बितेको म । विस्तारै पाइला घिसार्दै कोठाभित्र छिरेँ । भास्सिएको कुरा सुनाउन लाज लाग्यो ! भनेकै त थिए– बाहिर नजाऊ !
खाटमा पल्टिएपछि मलाई झन्डै हिउँमा पुरिएर मरेको भन्दा अर्को ठुलो डर लाग्यो । स्कुल पढ्दादेखि नै प्रहरीको खोजीमा परी भाग्दै लुक्दै हिँड्नु परेको, प्रहरीलाई ढुङ्गा हानेको र आज सिरानीमुनि पेस्तोल र खाटमुनि बन्दुक राखेर सुतेका इन्स्पेक्टरसँगै टाँसिएर सुतेको थिएँ । राति नै छुस्स पारिदिने पो हुन् कि ? मलाई मनको बाघले खाएको थियो ।
एकाबिहानै सुरक्षा लस्कर जमेको हिउँमाथि लड्दै खेल्दै अगाडि बढ्यो भोकै पेट ! खोड्पे बजार पनि बन्द थियो । स्थानीय मेसो पाएका जवानहरूले खै कता कताका पसल खोल्न लगाएर दुई, चार पोका चाउचाउ र केही बोतल पानी खोजेछन् । अफिसर टोलीलाई एक/दुई मुठी चाउचाउ उपलब्ध गराए । दिनभर हिउँ फुस फुस गरिरहेकै थियो । मोटरबाटोमा हिँड्दै साँझ बैतडीको पाटन पुग्ने बेला असिनासहितको वर्षा भयो । चुपिचल्ल भिजेको, भोकै अवस्थामा पाटनस्थित इलाका प्रहरी कार्यालय पुग्दा खानपिन खाइवरी सुत्ने तरखर हुँदै रहेछ । अनि रासन पनि रहेन छ । न त्यहाँ सुत्ने ठाउँ नै । धन्न इन्स्पेक्टर चन्दले मलाई विमानस्थलसँगै रहेको एक परिचितको घरमा पुर्याउन लगाए । मलाई भोकभन्दा ओभानो ठाउँमा पल्टिन पाउनु ठुलो कुरा थियो ।
हामी ढिला !
बिहानै उठेर बाहिर निस्कँदा पाटन विमानस्थल किनारमा बसी विनयध्वज चन्द, पृथ्वी अवस्थीसँग गफिँदै रहेछन्– काठमाडौँबाट गएका ब्रोडसिट निजी दैनिकका साथीहरू ! भन्थे, “जहाजबाट आएको तीन चार दिन भइसक्यो ।”
मेरा हाकिमहरूले निजी दैनिकमा काठमाडौँबाट गएका रिपोर्टरहरूको स्थलगत रिपोर्टिङ देखेपछि मात्र मलाई पठाएका थिए । त्यो पनि बसबाट त्यहाँ पुग्दा नै मेरा तीन दिन बाटोमै सकिएका थिए ! साथीहरू पाटनमै बसेर पनि त्यस क्षेत्रको रिपोर्टिङ पठाइसकेका थिए र अब सदरमुकाम खलङ्गा जाने भनेर झोला बोकेका थिए । म पाटनमा एक्लै बसेर रिपोर्टिङ गर्ने समय नै थिएन, उनीहरू सँगै जाने निर्णय गरेँ । पाटनबाट खलङ्गा जाने मोटरबाटो कच्ची थियो तर जताततै हिउँ जमेका कारण मोटर चलेका थिएनन् । हामी दिनभर हिउँ कर्याकर्याक गर्दै गोठालापानी पुग्दा साँझ ९ बजिसकेको थियो । दिउँसो कतै होटेल पसल फेला परेनन् । गोठाला पानीमा धन्न एउटा होटेल खुला भेटियो । तीन वटा खाट भएको एउटा कोठा रहेछ, छ जना तिनै खाटमा सुत्यौँ, चिसो दाल र भात घाँटीबाट हुलेर सुत्दा के निद्रा लागोस् ! साथीहरूको त एक दिनको हिँडाइ थियो । म चाहिँ काठमाडौँबाट निरन्तर बस र पैदल यात्राको थकाइमा थिएँ । खुट्टा र ज्यान दुखेर चौपट ।
भोलिपल्ट बिहान खलङ्गा पुगेर त्यहाँको ‘नामी’ होटेलमा पुग्यौँ । एक शिक्षकले चलाएको छापाखानासहित ‘होटेल’ (खाना खान पाइने) मा एउटा कोठा रहेछ तीन चार वटा खाट रहेको । त्यसमा झोला राखेर खाना खाई मुख्य निर्वाचन अधिकृतलाई भेट्यौँ । पर्सिपल्टदेखि प्रचारप्रसार गर्न नपाइने थियो । त्यस दिन त्यही कार्यालयका फोन र फ्याक्स सुविधा प्रयोग गरी समाचार पठाइयो । भोलिपल्ट निर्वाचनको अन्तिम तयारीबारे समाचार पठाएर पञ्चदेवल, सहिद दशरथ चन्दको जन्मस्थल गाउँ हुँदै त्रिपुरासुन्दरीको अवलोकन गर्यौँ । तीन/चार वटा स्टोरी तयार पारेँ । महाकालीपारि (भारत) पाखामा सुलुत्त देखिने सडक छ, टल्कने पक्की घर छन्, वारि बल्ल सदरमुकाम पुगेको कच्ची बाटो, पुरानै घर र दुःख ! महाकालीमाथिको भिरपाखाका विरही भाका सुनेँ ।
राणाकालमै राजनीतिक जागरण फैलाएर प्रजातन्त्र निम्ति प्राणाहुति दिएका दशरथ चन्दको खण्डहर घर–गाउँ र क्षेत्र, मुलुकको प्रधानमन्त्री पाएको जिल्लाको पिछडिएको अवस्था देखियो ।
निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको तर मतपेटिकाहरू ल्याइपुर्याउन छ/सात दिन लाग्ने भनिएपछि काठमाडौँ फर्कने भइयो । हिउँ जमेकै थियो । दिनभर हिँडेरै पाटन फक्र्यौं । भोलिपल्ट त्यहाँबाट बल्ल बसमा चढ्यौँ र धनगढीमा बस्यौँ । रात्रि बसमा काठमाडौँ फर्कंदा राति पेट बिग्रेर लौन रोक भन्दा पनि चालक नमान्ने । बिहान डेरामा पुग्दा लगाएका लुगा खोलेर सबै पोको पारी फाल्नु पर्यो ।
अहो, त्यो रोमाञ्चक हिउँको यात्रा ! हिउँमा हिँड्दा सामान्य जुत्ता र पाइन्ट भए पनि छालाको ज्याकेटले, हिँडाइ र उत्साहले चिसो भगाएको थियो ।
संयोगले बाँचेको जीवन
२०५९ मध्य वैशाख । माओवादी विद्रोह चर्कंदो थियो । नेपाली सेना अगाडि सारेर सरकारले रोल्पाको गाममा एकीकृत सरकारी सेवा सञ्चालन गरेको थियो ।
एक दिन संस्थान अध्यक्ष किशोर नेपालले बोलाएर भन्नुभयो– “तँ गाममा गएर एकीकृत सेवा प्रवाहको प्रभावकारितासम्बन्धी रिपोर्टिङ गर । सेनाले लैजान्छ । खाने बस्ने चिन्ता नगर । लागेको खर्च हामीलाई सेनाले नै दिने छ ।”
बढुवा प्रक्रिया चलेको थियो । मैले मभन्दा सिनियर साथी तर व्यवस्थापन, सम्पादकीय–सबैतिर रजगज भएकाहरूले हेपिरहेका एक साथीको बढुवा हुने भए म जान्छु नत्र म जाँच दिन बस्छु भन्ने सर्त राखेँ । अध्यक्ष किशोर दाइले ल ढुक्क भएर जा, म त्यो काम गर्छु भन्नुभयो ।
म र फोटोग्राफर भरत देउराली नेपालगन्जका लागि उड्न विमानस्थल पुग्यौँ । एउटै जहाजको टिकट थियो । विमान सेवाको अनुरोधमा हामी दुईमध्ये एक अघिल्लो र एक पछिल्लो उडानमा जानुपर्ने भयो र म पहिले गएर बास गाँसको बन्दोबस्त गर्दै रहने, पछिल्लो उडानमा भरतजी आउने कुरा मिलायौँ ।
म चढेको जहाजले भुइँ छोडेर आकाशतिर उचाइ लिँदासाथ अचानक आँधीबेहरी चल्यो । जहाजमा सबैले राम राम कराए । एयर होस्टेज आँखा चिम्लेर अनुहार कालो निलो बनाउँदै थचक्क बसिन्– अवाक् । धन्य ! ढलपलाउँदै जहाजले आँधीबेहरी पार गर्यो ।
नेपालगन्जमा ओर्लंदासाथ सबै यात्रुले नयाँ जीवन पाएको टिप्पणी गरे । भरतजी आएर भन्नुभयो, “तपाईंहरूको त इहलीला सकिने भयो भनेर हामी एयरपोर्टमा बसेकाहरूले रक्षा गर्देऊ भगवान् भनी पुकारा गरिरहेका थियौँ ।”
अध्यक्ष किशोर दाइले ‘नेपालगन्ज पृतनापति सदीप शाहलाई भेट्नु, उहाँले सबै मिलाउनुहुने छ’ भने अनुसार पृतनामा सम्पर्क गर्दा पृतनापतिलाई भेट्न के पाउनु ? एक क्याप्टेन पठाएर हामीलाई होटेलमा पुर्याइयो ।
भोलिपल्ट यत्तिकै बित्यो । पर्सिपल्ट रोल्पा खलङ्गा जानका लागि हेलिकोप्टरमार्फत सुर्खेतस्थित बाहिनीमा पुर्याइयो । एक दिन त्यहीँ भुल्नुपर्ने भयो । त्यहाँ हाम्रा लागि खटाइएका क्याप्टेन आफ्नै गाउँ तिलाहारका, एसएलसीको एउटै ब्याची रहेछन् । जेल, जिल्ला प्रशासनमा गएर माओवादी आरोपमा पक्राउ परेका सर्वसाधारणसँग स्वतन्त्रतापूर्वक कुराकानी गरियो । निर्दोष सर्वसाधारण कसरी द्वन्द्वको चपेटामा परेका छन् भन्ने बुझियो । बुलबुले ताल, काँक्रेबिहार अवलोकन गरियो । जेहोस्– दुई/चार स्टोरी तयार हुने भए ।
भोलिपल्ट हेलिकोप्टर आयो र बन्दोबस्तीका सामानसहित एक जना बारुदी सुरुङविज्ञ लप्टनसमेत हामीलाई खलङ्गास्थित ब्यारेकमा लगियो । भोलिपल्ट दिनभर ब्यारेकको सञ्चार कक्ष र अधिकृत मेस रहेको ठाउँमा बस्यौँ । गौथलीले गुँड बनाएको हेर्यौँ । तल पाखोमा कृष्णबहादुर महराको दैलो लगाएको घर, बजारमा सबैभन्दा अग्लो सुरेन्द्र हमालको घर देखियो अनि घुम्यौँ पनि !
भोलिपल्ट आज हेली आउँछ र गाम जाने भनियो । अपराह्नतिर हेली आयो तर सुर्खेतै फर्कियो । अर्को भारतले दिएको सानो हेली आयो एकाध घण्टा त्यहीँ रह्यो अनि फक्र्यो । हामीसँग कोही कसैले सम्पर्क नै राखेन । बारुदी सुरुङविद् भनिएका लप्टनले भन्दै थिए, “हाकिमहरूको कुरा थाहा हुँदैन ।” राति हामीलाई सुताइएको कोठा सञ्चार कक्षसँगै थियो । रातभर त्यहाँ सन्देश प्रवाह भइरहेको आवाज आएकाले निद्रा कचपचिएको थियो । एकाबिहानै हेलिकोप्टरको आवाज आयो । ब्यारेकमा कुदाकुद चल्यो
अहो ! गामस्थित संयुक्त शिविरमा माओवादीबाट आक्रमण भएछ । गाममा रहेको सेनाको बेसमा रहेका आधाभन्दा बढी सैनिक पेट्रोलिङमा रहेका बखत भएको त्यो आक्रमणमा शिविर रहेकामध्ये अधिकांश मारिएछन् । घाइते दुई जनालाई लिएर आएको हेलिकोप्टरमै राखेर हामी पाहुनालाई पनि नेपालगन्ज ल्याइयो ।
अहो ! हिजो हामीलाई पनि गाममा लगेर शिविरमा राखिएको भए हामी पनि सिद्धिने रहेछौँ ।
विस्तृत कुरो भन्ने कोही थिएन । घाइतेले सेन्ट्री बसेका बेला गोली लागेपछि कान्लामुनि झाडीमा हामफालेर घिस्रिँदै पर पुगी लुकेकोसम्म भने । नेपालगन्जबाटै भिडन्त भएको, दुई घाइते नेपालगन्ज ल्याइएकोसम्म समाचार लेखेर पठाएको, छापियो । विस्तृत विवरण सुनाउने कोही भएनन् । त्यति समाचार पनि गोरखापत्रमा छापिएको सेनाले नरुचाएको पछि बुझियो ।
हाम्रो गाम मिसन असफल भए पनि द्वन्द्वसम्बन्धी स्टोरीहरू लिएरै जानु पर्छ भनेर सेनासँग भनेपछि चिसापानीस्थित ब्यारेकमा लगियो । त्यहाँका क्याप्टेनले द्वन्द्वबाट अतिप्रभावित रहनीयापुरमा लगे । पहिले माओवादीको ज्यादती अनि पछि सेनाले स्थानीयलाई प्रोत्साहन दिएर माओवादीलाई जोखिमग्रस्त बनाएको त्यहाँको कथा बटुल्यौँ । अध्यक्ष किशोर नेपालले ‘सदीप शाहले भेट्ने छन्’ भन्नुभएको थियो । न त्यहाँ पुगेपछि न त फर्कने बेलासम्मै उनले भेट दिए । त्यतिखेरका पृतनापति न परे ! जहाज उड्दा मर्न र गाममा मारिन नजुरेको त्यो काजबाट फर्कंदा स्टोरीहरूले नोटबुक भरिएको थियो ।
शाही अभिनन्दन
दरबार हत्याकाण्डपछि राजा घोषित ज्ञानेन्द्र शाहको सत्ता आएपछि ज्ञानेन्द्रको क्षेत्रीय अभिनन्दन अभियान सुरु भयो ।
अफिसको आफू चढ्ने गाडी नै दिएर महाप्रबन्धक लोकदीप थापाले मेरो नेतृत्वमा फोटोग्राफर राजेन्द्र चित्रकार र ‘दी राइजिङ नेपाल’ का ऋतु सुवेदीलाई केही दिनअघि नै विराटनगर पठाउनुभयो । स्थानीय समाचारदाता शरदराज सुवेदीको सहयोगमा स्टोरी बनाउन लागियो । हामीलाई नक्कली कथाहरू सिर्जना गरेर होस्, राजाको पक्षमा माहोल खडा भएको देखाउनुपर्ने जिम्मेवारी तोकिएको थियो । दौरा सुरुवालको व्यापारसमेत पञ्च उद्योगपति आदिका भनाइहरू साथै एउटा विशेषाङ्कका सामग्री तयार पारियो, अभिनन्दन कार्यक्रम पनि सकियो । मलाई अरू स्टोरी पनि खोज्ने हुटहुटी थियो । साथीहरूसँग भनेँ, “भोलि बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जाने है !”
साथीहरूलाई ती ठाउँको बारेमा थाहा थिएन । मैले सुनेको थिएँ–त्यो क्षेत्रमा माओवादीको जोखिम रहेको छ तर मलाई त्यता माओवादी प्रभाव साँच्चै हो कि हल्ला मात्र ? अनि शरणार्थी शिविरको अवस्था पनि बुझ्ने हुटहुटी थियो । माओवादी नै भेटिइहाले पनि सम्पर्क सूत्रहरू प्रयोग गरौँला, के पो गरिहाल्लान् भन्ने मनोबल थियो ।
सरकारी सञ्चार माध्यमका हामी, राजाको पक्षमा जनलहर देखाउने अभिनन्दनको नाटक प्रचारमा खटिएका, संस्थानको नम्बर प्लेटसहित राज्यका सुरक्षा निकायको पहुँचबाहिरका शिविरतिर लाग्यौँ । बाटो थाहा छैन । सोध्दै खोज्दै शिविरमा पुगेर केही अन्तर्वार्ता लिइयो । त्यहाँ शरणार्थी अनि कर्मचारीहरूले कसरी आइपुग्नुभयो यहाँ ? धेरै बेर नभुल्नुहोस्, भनेपछि त सहकर्मीहरूको अनुहार कालो निलो हुन थाल्यो !
राज्यभन्दा विद्रोहीको नियन्त्रण बलियो जस्तो रहेको त्यो ठाउँबाट फर्कंदै गर्दा म आफैँलाई दुस्साहसी भएँ भन्ने लागिरह्यो । विद्रोहीको फेला परिएको भए सरकारी गाडी आगजनी र हामी अपहरणमा पर्ने सुनिश्चित हुने परिस्थिति थियो त्यो । बाटोमा यो कुरा सुनाइदिएको त दुई जना साथी काठमाडौँ फर्किहालौँ भन्न थाले ।
हिजोको शिविर यात्राको त्रासबाट राहत दिन मोरङ, सुनसरीका स्टिन्जर साथीहरूलाई समेत धरानमाथि भेडेटार लगेर एक रात बिताइयो । माथि हिलेसम्म जाउँ न त भन्ने थियो तर एक जना साथी भेडेटारमै पनि यति आत्तिए कि अरू घुमघाम नगरी काठमाडौँ फर्किनु पर्यो । राजाको प्रचारमा खटिएको भनेर माओवादीले राजमार्गमा पनि गाडीसहित आफूलाई जलाइदिने हुन् कि भन्ने त्रासले उनले आँखा झिमिक्क पारेनन् !
लेखक गोरखापत्र दैनिकका प्रमुख समाचारदाता (निमित्त कार्यकारी सम्पादक) हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘हिउँको यात्रा नजुरेको मृत्यु’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।