• २५ पुस २०८२, शुक्रबार

देशभक्त नागरिक हुनुको पीडा

blog

आधुनिक राजनीतिक इतिहासदेखि आजसम्मको यथार्थ इमानदारीपूर्वक भन्ने हो भने, देशले जनचाहना अनुसार प्रगति गर्न सकेको छैन । शासनप्रणाली फेरिए, संविधान फेरिए, शक्ति संरचना फेरिए तर नागरिकको जीवनस्तर, उत्तरदायित्वपूर्ण शासन र संस्थागत स्थायित्व भने सधैँ प्रतीक्षामै सीमित रह्यो । हरेक राजनीतिक परिवर्तनलाई ‘क्रान्ति’ भनियो । हरेक सत्तारोहणलाई ‘जनताको विजय’ भनेर घोषणा गरियो । यथार्थमा ती क्रान्तिहरू सत्ताको चरित्र बदल्ने होइन, सत्ताधारीको नाम बदल्ने अभ्यास मात्र बने । व्यवस्था परिवर्तनको नाममा जनतालाई सडकमा उतारियो, परिणामस्वरूप प्राप्त भयो अझ गहिरो अस्थिरता, अझ कमजोर संस्थाहरू र अझ बलियो राजनीतिक अहङ्कार ।

राष्ट्रवाद यहाँ भावनात्मक एकताको आधार बन्न सकेन; यो सत्ताको संरक्षण गर्ने हतियार बन्यो । राष्ट्रको नाममा प्रश्न गर्न नपाइने वातावरण सिर्जना गरियो । असहमति देशद्रोह ठहरियो । आलोचना ‘एजेन्डा’ बनाइयो र सोच्ने नागरिकलाई राष्ट्रविरोधीको सूचीमा राखियो । यही कारणले आज राष्ट्रवाद प्रेम होइन, डर र मौनताको भाषा बनेको छ । राजनीतिक दलहरूले राष्ट्रवादलाई आफ्नो असफलता ढाकछोप गर्ने पर्दा बनाए । भ्रष्टाचार, कुप्रशासन, नातावाद र अक्षम नेतृत्वमाथि प्रश्न उठ्दा तुरुन्तै ‘राष्ट्र सङ्कटमा छ’ भन्ने नारा घन्काइयो । जब संस्थाहरू कमजोर भए, तब भावनालाई बलियो बनाइयो । जब नीति असफल भए, तब झन्डा अगाडि सारियो । म देशलाई माया गर्दिनँ भन्ने होइन । म यो भूमिमा जन्मिएको हुँ, यही समाजको उत्पादन हुँ । म त्यो राष्ट्रवादलाई अस्वीकार गर्छु, जसले नागरिकलाई होइन, नेताको अहङ्कारलाई केन्द्रमा राख्छ । म ती राजनीतिक आन्दोलनलाई स्वीकार गर्न सक्दिनँ, जसले बलिदानको नाममा केवल सत्ता हस्तान्तरण सुनिश्चित गर्छन् । आज देशभक्ति भनेको प्रश्न नगर्नु, सहमतिमा टाउको हल्लाउनु र भिडसँगै हिँड्नु जस्तो बनाइएको छ । नागरिक चेतना भनेको भिडभन्दा फरक सोच्न सक्ने क्षमता हो । देशप्रेम भनेको गल्तीलाई स्वीकार नगर्ने होइन, गल्ती सच्याउन आग्रह गर्ने साहस हो । त्यसैले म भन्छु, म देशभक्त होइन । म त्यो राजनीतिक परिभाषामा देशभक्त होइन, जहाँ मौनता नै निष्ठा हो र आलोचना नै अपराध । म राजनीतिक प्रचारबाट थाकिसकेको छु । म बारम्बार दोहोरिने झुटा क्रान्तिहरूबाट थाकेको छु । म भविष्यको नाममा वर्तमान बलिदान गर्नुपर्ने यो अनन्त चक्रबाट थाकेको छु । म नागरिक हुँ । जिम्मेवार, सचेत र प्रश्न गर्ने नागरिक र आजको समयको सबैभन्दा इमानदार राष्ट्रप्रेम यही हो, सत्तालाई होइन, सत्यलाई प्राथमिकता दिनु ।

इतिहास आफैँ साक्षी छ, आधुनिक राजनीतिक कालखण्डदेखि आजसम्म यो देश निरन्तर राजनीतिक उथलपुथलको चक्रमा फसेको छ । क्रान्ति, परिवर्तन, आन्दोलन, गणतन्त्र, सङ्घीयता शब्दहरू फेरिए, नारा फेरिए, झन्डाहरू फेरिए । जनताको जीवनमा आएको स्थायित्व, न्याय र समृद्धि भने आजसम्म पनि केवल भाषणमै सीमित रह्यो ।

हरेक राजनीतिक कालखण्डले आफूलाई ‘ऐतिहासिक मोड’ भनेर चिनायो । हरेक आन्दोलनले आफूलाई ‘जनताको अन्तिम मुक्ति’ को रूपमा प्रस्तुत ग¥यो । प्रश्न यो हो, के साँच्चै जनताको मुक्ति भयो ? कि केवल सत्ताको हस्तान्तरण मात्र भयो ?

राष्ट्रवादको नाममा गरिएका धेरै कार्यलाई जब आलोचनात्मक दृष्टिले हेर्छु, तब मभित्र गर्व होइन, गहिरो थकान पैदा हुन्छ । राष्ट्रवाद यहाँ प्रेमको भावना होइन, एक राजनीतिक औजार बनेको छ, जहाँ असहमति देशद्रोह ठहरिन्छ, प्रश्न अपराध मानिन्छ र सोच्नु नै शङ्कास्पद व्यवहार ठानिन्छ ।

म यहाँको माटो, भाषा, संस्कृति र जनतालाई गहिरो सम्मान गर्छु । म ती राजनीतिक शक्तिहरूप्रति नतमस्तक हुन सक्दिनँ, जसले राष्ट्रवादलाई ढाल बनाएर आफ्ना असफलता लुकाउँछन् । म ती क्रान्तिप्रति ताली बजाउन सक्दिनँ, जसको अन्त्य सधैँ उही अनुहार, उही प्रवृत्ति र उही शोषणमा हुन्छ ।

आज देशभक्ति भनेको प्रश्न नगर्नु, सहनु, मौन बस्नु र भिडको पछि लाग्नु जस्तो बुझाइएको छ । मेरा लागि देशभक्ति भनेको आँखा चिम्लिनु होइन, आँखा खोल्नु हो । सत्य बोल्नु हो, चाहे त्यो असहज किन नहोस् । म देशभक्त होइन, किनकि म राजनीतिक प्रचारबाट थाकिसकेको छु । म झुटा आश्वासनबाट थाकेको छु । म ‘अबको परिवर्तन अन्तिम हो’ भन्ने वाक्य सुन्न सुन्न थाकेको छु । म त्यो राष्ट्रवादबाट थाकेको छु, जसले जनताको पीडालाई होइन, सत्ताको निरन्तरतालाई प्राथमिकता दिन्छ । सायद म राष्ट्रवादी होइन । 

म राष्ट्रवादी होइन, किनकि म कसैको लासमाथि राखिएको कुर्सीमा बसेर सत्ता उपभोग गर्न सक्दिनँ । मलाई त्यो कुर्सी असहज लाग्छ, जहाँ पुग्नका लागि मानवीय पीडालाई सिँढी बनाइएको हुन्छ । मलाई त्यस्तो राजनीति स्वीकार्य छैन, जहाँ मृत्युलाई “आवश्यक क्षति” भनेर सामान्यीकरण गरिन्छ ।

म देशभक्त होइन, किनकि म सिंहदरबार जलाउन सक्दिनँ, न त न्यायालय ध्वस्त पार्न सक्छु । राज्यका संस्थाहरू अपूर्ण हुन सक्छन्, भ्रष्ट हुन सक्छन् तर तिनलाई जलाउनु सुधार होइन, अराजकताको उत्सव हो । कानुनलाई जलाएर न्याय प्राप्त हुँदैन; केवल कानुनविहीन भिड जन्मिन्छ ।

म राष्ट्रवादी होइन, किनकि म जनताले आर्जेको सम्पत्ति लुटेर खान सक्दिनँ । आन्दोलनको नाममा पसल फुटाउनु, घर जलाउनु, श्रमको अपमान गर्नु प्रतिरोध होइन, यो अपराध हो । पीडितको नाम लिएर अर्को पीडित सिर्जना गर्नु कुनै नैतिक क्रान्ति होइन ।

म देशभक्त होइन, किनकि म आफ्नो अहङ्कारलाई देशभन्दा ठुलो बनाउन सक्दिनँ । म आफूलाई इतिहासको केन्द्र ठान्न सक्दिनँ । म ‘म’ लाई राष्ट्रमाथि राख्ने राजनीति बुझ्दिनँ । जहाँ नेताको अहङ्कार नै राष्ट्रिय स्वार्थ घोषित हुन्छ, त्यहाँ राष्ट्र कमजोर बन्छ । म देशभक्त होइन, किनकि म कानुनलाई अनुचित र अर्थहीन बनाउन सक्दिनँ । कानुन सत्ताको सेवक होइन, नागरिकको ढाल हो । कानुनलाई कुल्चेर न्यायको कुरा गर्नु आत्मविरोध हो । भिडको आवेगले संविधानको ठाउँ लिन सक्दैन ।

म राष्ट्रवादी होइन, किनकि म अर्काको सम्पत्ति लुटेर खान सक्दिनँ । गरिबी र असन्तोषको नाममा अपराधलाई वैधता दिनु, अन्ततः समाजलाई नै खोक्रो बनाउने बाटो हो । म देशभक्त होइन, किनकि म आन्दोलनको नाममा संसद् जलाउन सक्दिनँ । म देशभक्त होइन, किनकि म आन्दोलन गर्ने नागरिकमाथि दमन गर्न सक्दिनँ ।’