• २४ पुस २०८२, बिहिबार

नाकामा कडा सुरक्षा : फेस डिटेक्सन क्यामेरा जडान

blog

सीमा नाकामा सुरक्षा चेकजाँच गर्दै भारतीय सुरक्षाकर्मी । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, पुस २३ गते । नेपाल भारत सीमा नाकाको भारततर्फ रुपैइडिहामा रहेको चेकपोष्टमा भारतीय सुरक्षा निकाय एसएसबीले सुरक्षा कडा पार्दै पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान गरेको छ।

भारत र नेपालबाहेक अन्य देशका नागरिक अवैध रूपमा भारत प्रवेश गर्न नपाउन भन्ने उद्देश्यले भारत–नेपाल सीमामा सशस्त्र सीमा बल (एसएसबी) ले फेस डिटेक्सन क्यामेरा जडान गरेको एसएसबीका कमान्डेनट गंगासिंह उरावतले बताउनुभयो । 

उहाँले सीमामा घुसपैठ रोक्न तथा विभिन्न अपराधिक गतिविधी गरेर एक अर्काको देशमा पुगि लुकेर बस्नेहरुमाथि निगरानी बढाउन यो व्यवस्था सुरु गरिएको बताउनुभयो । 

अहिले सो नाकाबाट आवागमन गर्नेहरुले एकछिन उभिएर क्यामेरामा अनुहार देखाउनुका साथै आफ्नो आधिकारिक परिचयपत्रलाई पनि एकछिन क्यामेरामा देखाएर रेकर्डिङ गराउनु पर्ने व्यवस्था गरिएको छ ।    

एसएसबीका अनुसार यस प्रणालीबाट आवागमन गर्नेलाई अलिकति बढी समय लाग्ने भए पनि सुरक्षा दृष्टिकोणले यो निकै आवश्यक र प्रभावकारी रहेको छ । 

रुपैइडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले केन्द्रबाट आएको निर्देशन अनुसार यो नाकाको सुरक्षा व्यवस्था कडा पार्नकै लागि फेस डिटेक्सन क्यामेराबाट हरेकको अनुहार र परिचयपत्रको डिजिटल रेकर्डिङ गर्न थालिएको बताउनुभयो ।