हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २० गते । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका धालुङको चरनक्षेत्रमा ठुलो सङ्ख्यामा चर्दै गरेका गधा भेटिएका छन् । समुद्री सतहदेखि करिब पाँच हजार मिटरको उचाइमा रहेको चीनको तिब्बतसँग सिमाना जोडिएको धालुङको चरनक्षेत्रमा सयभन्दा बढीको सङ्ख्यामा चर्दै गरेका गधाको बथान देखिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय ल्होमन्थाङका प्रमुख उमेश पौडेलले दुर्लभ स्तनधारी जङ्गली गधा (कियाङ) देखिएका जानकारी दिनुभयो । तिब्बतसँग सिमाना जोडिएको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, दामोकरकुण्ड आसपासका क्षेत्रमा छिटपुट कहिलेकाहीँ भेटिने गरे पनि पहिलो पटक यति ठुलो सङ्ख्यामा देखिएकोे पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जङ्गली गधा उपल्लो मुस्ताङको चरनक्षेत्रमा मौसमी रूपमा देखिने गरेका छन् । यिनीहरूको वासस्थान फराकिलो हुन्छ । स्थायी रूपमा निश्चित क्षेत्रमा बस्दैनन् ।”
ट्रान्स हिमालय क्षेत्र (तिब्बत–मुस्ताङ) मा भेटिएका जङ्गली गधाको बथानले उपल्लो मुस्ताङको हावापानी र चरनक्षेत्रमा आहारा राम्रो रहेको सङ्केत गरेको पौडेलले बताउनुभयो । यहाँ देखिने जङ्गली गधा चैतको अन्तिम सातादेखि असारको अन्तिमसम्म यहाँको चरनक्षेत्रमा दिन बिताएर तिब्बततर्फ जाने गरेको बताइन्छ ।
विगतमा ३०–४० सङ्ख्यामा भेटिने गरेको जङ्गली गधा यस पटक ठुलो सङ्ख्यामा भेटिएपछि अनुसन्धानकर्तालाई दुर्लभ वन्यजन्तुमा सूचीकृत रहेको जङ्गली गधाको अनुसन्धानमा सहज भएको छ । जङ्गली गधाको गर्मी महिनाको अन्त्यतिर प्रजननको समय हुने गर्छ भने गर्भावस्थाको अवधि ११–१२ महिना हुने गरेको बताइन्छ । सामान्यतया एउटा बछेडा जन्मेको केही समयपछि बछेडाहरू उभिन र दौडन सक्ने हुन्छन् ।
अध्ययन अनुसार ६० किलोमिटर प्रतिघण्टा दौडिन सक्ने जङ्गली गधाको शारीरिक विशेषतामा सबैभन्दा ठुलो जङ्गली गधाको काँध उचाइ १३०–१४० सेन्टिमिटर र तौल २५०–४०० किलोग्राम हुने गरेको छ । घरपालुवा गधाभन्दा फरक हुने जङ्गली गधा नेपालमा पहिलो पटक सन् २००१ मा तिब्बतको सिमानासँग जोडिएको दामोदरकुण्डको माथिल्लो क्षेत्रमा पत्ता लागेको थियो ।
अनुसन्धानकर्ताको खोज तथा अनुसन्धानबाट उपल्लो मुस्ताङको ल्होमन्थाङको छोसेर र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको याराघारा, दामोदरकुण्डको तिब्बतसँग सिमाना जोडिएको क्षेत्रलाई मौसमी चरनक्षेत्र बनाएर आवतजावत गर्न गरेको पाइएको पौडेलले बताउनुभयो ।