बैतडी समाचारदाता
बैतडी, वैशाख २० गते । सुदूरपश्चिम प्रदेशमा हरेक तीन घण्टामा दुई जना लागुऔषध ओसारपसार गर्ने युवा पक्राउ पर्ने गरेको तथ्य बाहिर आएको छ । यो सङ्ख्या दैनिक रूपमा १० जनाभन्दा बढी देखिएको छ । पक्राउ पर्नेमा १६ वर्षदेखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या अत्यधिक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशका नौ जिल्लामध्ये बैतडी, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलाली गरेर पाँच जिल्ला भारतसँग खुला सीमा जोडिएका छन् । खुला सीमाका कारण लागुऔषध मुख्य चुनौती बन्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार खैरो हेरोइन, चरेस र गाँजाको ओसारपसार बढी हुने गरेको छ ।
यस प्रदेशमा लागुऔषध, आर्थिक अपराध र आत्महत्याका घटना बढी देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । उहाँले लागुऔषध मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले औसतमा दैनिक १० जना लागुऔषध ओसारपसार र सेवनकर्ता पक्राउ पर्ने गरेको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिबाट दैनिक ८ देखि १० ग्राम लागुऔषध बरामद हुने गरेको छ ।
तथ्याङ्क अनुसार गएको चैत महिनामा मात्रै प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषधसम्बन्धी ६९ वटा मुद्दा दर्ता भएका छन् भने १०७ जना पुरुष र आठ जना महिलामाथि मुद्दा चलाइएको छ । प्रदेशभरि नै लागुऔषध मुख्य चुनौती बनेपछि प्रहरीले सबै जिल्लामा लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरेको छ । जसमा अवैध गाँजा खेती नष्ट, सर्वसाधारणसँग भेटघाट, विद्यालय र क्याम्पसका विद्यार्थीसँग सचेतनामूलक कार्यक्रम रहेका छन् ।
गरिबी अर्को चुनौती
नेपालमा तय गरिएको गरिबीको औसत दर २०.२७ प्रतिशतभन्दा तल झार्ने लक्ष्य भए पनि सुदूरपश्चिममा ३४.१६ प्रतिशत गरिबी रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल जीवनस्तर सर्वेक्षण चौथो प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश देशभरिमै सबैभन्दा बढी गरिब रहेको उल्लेख छ । यस प्रदेशका ३४ प्रतिशत जनसङ्ख्याले न्यूनतम मापदण्ड अनुसार खान लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप र साधनमाथिको पहुँच पुग्न नसकेका बेला दक्ष जनशक्ति मानिएका युवा भने लागुऔषधको दुष्प्रभावमा फस्न थालेका छन् ।
बैतडी जिल्लाको गरिबी ४८.६५ प्रतिशत रहेको छ । यस जिल्लाको शिवनाथ र सिगास गाउँपालिका देशका १० वटा गरिब स्थानीय तहको सूचीभित्र छन् । शिवनाथ गाउँपालिको गरिबीको दर ६४.०७ प्रतिशत र सिगास गाउँपालिकाको गरिबीको दर ६६.८७ प्रतिशत रहेको छ । बैतडी जिल्लाका ४९ हजार ४०५ घरधुरीमा दुई लाख ४१ हजार १५७ जनङ्ख्या रहेको छ । यीमध्ये एक लाख १७ हजार ४६३ जनसङ्ख्याले ४८.६५ प्रतिशत गरिबीको दर झेलिरहेको छ । प्रदेशका नौ जिल्ला, एक प्रदेश सरकार र ८८ वटा स्थानीय तहको सरकारले स्थानीय रोजगारी सिर्जना गर्न नसक्दा गरिबी र बेरोजगारी बढेको सामाजिक अभियन्ता महेशदत्त भट्टले बताउनुभयो ।