• २० वैशाख २०८३, आइतबार

नाली अतिक्रमण गरी बनाएका अस्थायी संरचना हटाइयो

blog

अमरराज नहर्की

 तनहुँ, वैशाख २० गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सडकको नालीमाथि अनाधिकृत रूपमा निर्माण गरिएका अस्थायी पुल र स्ल्याबहरू अधिकांश स्थानमा हटाइएका छन् । नगरपालिकाले यही वैशाख १५ गते सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र त्यस्ता संरचना हटाउन आग्रह गरेपछि स्थानीयवासी आफैँले ती संरचना हटाएका हुन् ।

नगरपालिकाले तोकेको समय सकिनु अघि नै नगर प्रहरीको सक्रियता र स्थानीयको सहयोगमा सेराटारदेखि कोत्रेसम्मका अधिकांश स्थानमा यस्ता संरचनाहरू हटाइएका थिए । व्यक्तिगत प्रयोजनका लागि बनाइएका त्यस्ता संरचनाले ढल निकासमा अवरोध पुग्नुका साथै सडक दुर्घटनाको जोखिम बढाएकाले नगरपालिकाले हटाउने अभियान चलाएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले अनाधिकृत संरचनाले समस्या निम्त्याएको बताउनुभयो । प्रमुख पण्डितले भन्नुभयो, “राजमार्गको नालीमाथि राखिएका संरचनाले ढल थुनिएर बजार क्षेत्र डुबानमा पर्ने र सडकको आयु समेत घट्ने जोखिम भएकोले हटाउन सूचित गरेका हौं ।”

यसैबीच, राजमार्गको बजार क्षेत्रमा मुख्य लेनको दायाँ–बायाँ बेरियर (डिभाइडर) हाल्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ । यसले जथाभावी सडक पार गर्ने प्रवृत्तिलाई रोकेको छ र दुर्घटना न्यूनीकरणमा थप मद्धत पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।

नगरपालिकाले तोकेको समयभित्र नहटाइएका संरचनाहरू भने आफैँ हटाउन सुरु गरेको छ । नगर प्रमुख पण्डितले भन्नुभयो, “हामीले आग्रह गरेपछि धेरैजसो नागरिकले आफैँ हटाइदिनुभयो । अटेर गरिएका संरचना भने नगरपालिकाले हटाएर सामग्री जफत गर्न सुरु गरेको बताउनुभयो ।”