धनगढी समाचारदाता
धनगढी, वैशाख २० गते । धनगढीका अर्पण चौधरीको दायाँ हात र पिठ्युँको दायाँ भाग दुख्ने समस्या थियो । हात झमझमाउने, दुख्ने समस्या लिएर चौधरी पटक पटक अस्पताल धाउनुभयो । चिकित्सकले विभिन्न परीक्षण गराए । औषधी पनि दिए । तर समस्या समाधान भएन ।
डाक्टरको उपचारले निको नभएपछि अन्ततः चौधरी परम्परागत तरिकाले हाड, नसाको उपचार गर्ने वैद्यको शरणमा पुग्नुभएको छ । “मैले हात झमझाउने र दुख्ने समस्या छ भन्नेबित्तिकै वैद्यले मेरो समस्या थाहा पाउनुभयो,” चौधरीले भन्नुभयो, “उहाँ (वैद्य) ले सामान्य, हल्का मसाज (मालिस) गरेर नसा ठिक पारिदिनुभयो ।”
वैद्यका परम्परागत उपचार विधिलाई विज्ञानले स्वीकार गरेको छैन । तर चिकित्सा उपचार पद्धतिलाई नै चुनौती दिँदै कैलालीको कैलारी गाउँपालिका–९, गदरिया ७७ वर्षीय हरिलाल चौधरीले नसा र हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई ठिक पारिरहनुभएको छ । सानै उमेरदेखि परम्परागत तरिकाले मसाज गरेर नसासम्बन्धी समस्या समाधान गरिरहनुभएका उहाँले दैनिक ५०/६० जनाको उपचार गरिरहनुभएको छ ।
आफूकहाँ आउने धेरै जसो बिरामी अस्पतालमा उपचार गराएर निको नभएकाहरू रहने गरेको वैद्य चौधरीले सुनाउनुभयो । “भारतको लखनउसम्म उपचार गराएर ठिक हुन नसकेका टाढा टाढाका बिरामीसमेत मकहाँ आउने गर्दछन्,” उहाँले भन्नुभयो, “मैले एक चोटि मालिस गरेपछि उनीहरूको समस्या समाधान हुने गर्दछ । अर्को पटक फर्केर आउनु पर्दैन । कोही कोही मात्रै एक पटकले निको नभएको भन्दै आउँछन् । ठिक भएर जान्छन् ।”
चौधरीले हातखुट्टा, काँसीहाड भाँचिएका व्यक्तिको पनि परम्परागत तरिकाले उपचार गरेर ठिक पारेको सुनाउनुभयो । जडीबुटीको सहायताले गरेको उपचारले सबैको हाड जोडिएको उहाँको भनाइ छ । “वश, मलाई एक्सरे मात्रै देखाउनु पर्छ,” उहाँले भन्नुभयो, “मैले सफल उपचार गर्न नसकेको अहिलेसम्म उदाहरण छैन ।”
नसासम्बन्धी समस्या समाधानको उपाय आफ्नै अनुभवले सिकेको बताउने चौधरी भाँचिएको हड्डीको उपचारका लागि भने गाउँकै एक व्यक्तिले जडीबुटी चिनाएको उल्लेख गर्नुभयोे । सो जडीबुटी भनिदिनका लागि अस्पतालका व्यक्तिहरूले पनि आग्रह गर्ने गरेको उहाँको भनाइ छ । “छिमेकी वनकट्टा गाउँका एक महिलाको खुट्टा भाँचियो । लखनउमा उपचार गराउन लगे । डेढ लाख भारु खर्च लाग्ने बताएपछि उनीहरू फर्के,” वैद्य चौधरीले भन्नुभयो, “मैले डेढ खोरिया जाँरमै महिलालाई हिँड्ने बनाइदिएँ ।”
अनुभवले निखारिनुभएका चौधरीले बिरामीका समस्या सुन्नेबित्तिकै फलानो ठाउँमा नसा डल्लो परेको (च्यापिएको) छ भन्ने जवाफ फर्काउने गर्नुभएको छ । दुखेको ठाउँ एकतिर भए पनि उहाँले अर्कोतिर मसाज गर्ने गर्नुभएको छ । एकैछिनमा डल्लो हराएर नसा सामान्य अवस्थामा फर्किने गरेको छ । बिरामीले राहत महसुस गर्ने गरेका छन् ।
“हात दुख्ने, झमझमाउने समस्या मैले धेरै ठाउँमा देखाएको थिएँ,” उपचार गराउन आउनुभएका गौरीगङ्गा नगरपालिका–१, चनौराका शेरबहादुर चौधरीले भन्नुभयो, “उहाँले मसाज गर्नुका साथै भित्र पसेको हड्डी उठाइदिएपछि धेरै राहत महसुस भइरहेको छ ।”
हात, कम्मर, ढाडको नसासम्बन्धी समस्या लिएर दाङदेखि बझाङ, बाजुराका मान्छे मात्रै नभई भारतका मानिस पनि उपचारका लागि आउने गरेको वैद्य चौधरीले जनाउनुभयो ।
उहाँले आफूले सबैको उपचार निःशुल्क रूपमा गर्ने गरेको बताउनुभयो । “कोही कोही खुसी भएर जे जति दिन्छन्, त्यो मैले लिने गरेको छु,” उहाँले भन्नुभयो, “पैसा भने आजसम्म कसैसँग मागेको छैन ।”