धर्वेन्द्र झा
जनकपुरधाम, पुस २३ गते। मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार जनकपुरधाममा शान्तिपुर्णरुपमा मनोयन पत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ।
मधेस प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यका चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रिक्त सिट अन्य महिला, दलित, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूहअन्तर्गतका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट अल्पसङ्ख्यक समूहमा रञ्जित कर्ण र दलित समूहमा धर्मेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी नेपाली कांग्रेससँगको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट महिलातर्फ महोत्तरीकी रेखा झा तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरले अन्य समूहबाट उम्मेदवारी दिएका छन्।
यसैबीच, गठबन्धनमा आबद्ध रहेको भनिए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले भने अन्य समूहमा महन्थ ठाकुरको उम्मेदवारीबाहेकका तीन सिटमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ। जसपा नेपालले अल्पसङ्ख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली देवी दासलाई उम्मेदवार बनाएको छ।
गठबन्धनबाट नेकपा बाहिरिएपछि लोसपा र जसपा नेपाललाई एक–एक सिट दिने सहमति भएको तर त्यसको कार्यान्वयन नभएकाले अलग उम्मेदवारी दर्ता गर्नुपरेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद प्रसाद साहले बताउनुभयो।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले अलग्गै चार सिटमा उम्मेदवारी दर्ता गराएको छ। नेकपाले दलिततर्फ शम्भु पासवान, अन्यतर्फ लक्ष्मण पौडेल, अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ रामानन्दप्रसाद र महिलातर्फ समी अग्रवाललाई उम्मेदवार बनाएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरीले जानकारी दिनुभयो।
मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका मतदातामा १०४ जना प्रदेशसभा सदस्य छन्। त्यसैगरी, २६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन्।