• २५ पुस २०८२, शुक्रबार

लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यको शपथ

blog

नवनियुक्त प्रदेश अध्यक्ष बस्यालले पद तथा गोपनीयताको शपथ लिँदै ।

छविलाल पाण्डे 

बुटवल, पुस २४ गते । लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्याल र सदस्य ताराप्रसाद भुसालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

अध्यक्ष बस्यालले उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष शपथ ग्रहण गर्नुभयो । यस्तै, नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोकसेवा आयोगका अध्यक्ष बस्यालसमक्ष शपथ ग्रहण गर्नुभयो । 

नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ । 

सोही व्यवस्थाअनुसार नवनियुक्त अध्यक्ष बस्यालले शपथ ग्रहण गर्नुभयो । यस्तै प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रावधान छ । 

सोहीअनुसार नवनियुक्त सदस्य ताराप्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुनुहुन्छ ।