सन् १९४२, द्वितीय विश्वयुद्ध चर्केको समय । विश्वका कैयौँ देश विनाश र अस्तित्वको सङ्घर्षमा दिनरात लागिपरेका थिए । विभिन्न देश युद्धको मोर्चामा डटेका बेला आन्ध्र महासागरको मध्यमा एउटा सानो काठेडुङ्गा समुद्रको छालमा कहिले यता त कहिले उता पछारिँदै थियो । त्यसमा एक मात्र यात्रु थिए पुन लिम । चिनियाँ नागरिक लिमले एक बेलायती जलसेनाको व्यापारिक पानीजहाजमा आफ्नो यात्रा सुरु गरेका थिए ।
नोभेम्बर १० मा बेनलोमोन्ड नामको जहाजमा सवार भए । अन्य देशबाट सहयोग प्राप्तिका लागि अनुरोध गरेको बेलायतलाई सहायता प्रदान गर्ने उद्देश्यले जहाजमा चढेका लिमले सोचेको भन्दा अत्यन्त विषम यात्रा भयो । उनले सोचेका पनि थिएनन् दिन यत्तिको कष्टकर र जीवन सङ्कटमा पर्नेछ ।
आत्मसन्तुष्टिका लागि लिमले बेलायती जहाजमा एक परिचारकका रूपमा चालक दलसँग काम गर्न सुरु गरेका थिए । दक्षिण अमेरिकाको उत्तरपूर्वमा आन्ध्र महासागरको तटीय क्षेत्रमा अवस्थित देश सुरिनाम गन्तव्य बनाएर लिमसहितको जहाज केपटाउनबाट प्रस्थान गरेको थियो । यात्रामा निस्केको १३औँ दिनमा जर्मनीको एउटा यू–बोटको नजरमा बेनलोमोन्ड जहाज प-यो । बेनलोमोन्डले उम्कने
अवसर पाएन ।
यू–बोटको निसानामा परेर बेनलोमोन्ड ध्वस्त भयो र अमेजन नदीको मुहानबाट पूर्वमा १२ किलोमिटर पर जहाज समुद्रमा डुब्यो । यू–बोटले दुई मिनेटभित्र एक जोडी टोरपिडोको प्रहारबाट जहाज डुबायो । त्यस जहाजमा ५३ जना थिए र लिम मात्र बाँचे । लिम सवार जहाज पनि हतियारले सुसज्जित थियो तर यसको गति सुस्त भएकाले टोरपिडोबाट बच्न सकेन ।
लिम हामफालेर समुद्रमा पुगे र त्यसपछि केही समय उनले समुद्रमा तैरिएर बिताए । दुई घण्टापछि अन्ततः उनले सुस्ताउने मौका पाए । लिमले एउटा डुङ्गा देखे र त्यसतिर पौडिन थाले । आफ्नो अकल्पित तनावले थकित र निथ्रुक्कै भिजेका लिम जसोतसो डुङ्गा (कार्ले फ्लोट लाइफ राफ्ट)मा सवार भए । लिमले आफ्नो चारैतिर हेरे, एकछिन उनलाई ठूलो आनन्द महसुस भयो किनभने असीम समुद्रमा उनले एउटा जीवनदायी डुङ्गा फेला पारेका थिए । डुङ्गामा खानपिनका सामग्रीसमेत भरिएको देखेर उनलाई ठूलो राहत महसुस भएको थियो ।
डुङ्गा आठ वर्ग फिट आकारको थियो र त्यसमा बिस्कुट, ४० लिटर पानी, केही चकलेट, एक झोला चिनी, एउटा फ्ल्यास लाइट आदि थिए ।
तर उनी एक छिनलाई बिर्सिए, समुद्रको एकाकी जीवन कहिले सकिने हो । उनलाई के थाहा त्यस जलसंसारमा आफूले एक सय ३३ दिन एक्लै बिताउनुपर्ने छ ।
लिमले पहिलो दिन त छुट्टी मनाउन गएझैँ बिताए । खाए, पिए र संसारको कुनै फिक्री नगरी जीवन जिए । लिमले सोचेका थिए, “मलाई बचाउन कोही न कोही त पक्कै आउने छ ।” समय थाहा होस् भनेर लिमले दिनगन्तीका लागि डोरीमा गाँठो पार्न थाले । उनले आफ्नो नाडी र डुङ्गामा समेत एउटा डोरी बाँधे किनभने राति निदाएका बेला समुद्रमा खसिएला भन्ने डर उनलाई थियो ।
दिन बित्दै गए, लिमसँग पिउने पानी सकियो । उनले यसको विकल्प निकाल्न बेर गरेनन् । वर्षाबाट जोगाउने आफ्नो ज्याकेट र एउटा छत्र (पाल) दुवै प्रयोग गरेर उनले वर्षाको पानी सङ्कलन गर्न सक्ने भए । उनकोे मानसिक अवस्था पूर्ववत् रहेन, उनी अब डराउन थालेका थिए । उद्धार नहुने हो कि भन्ने त्रास उनीमाथि हाबी हुँदै गएको थियो । लिमले अब त दिनगन्ती गर्न डोरीमा गाँठो पार्न पनि छाडे र पूर्णिमा गन्न थाले ।
पानीको समस्या त उनले हल गरे तर अब उनको अगाडि भोक विकराल समस्या बनेको थियो । डुङ्गामा भएका बिस्कुट र चिनी खाएर उनले केही दिन त भोक मेटाए तर ती सबै सकिएपछि भोक उनको जीवनका लागि ठूलो चुनौती बन्यो । अब उनले माछाको सिकारमा आफ्नो जीवन देखे तर उनीसँग माछा मार्ने साधन थिएन । यसमा पनि उनले जुक्ति लगाए । माछा मार्न लिमले डुङ्गामा रहेका डोरी, किलाको प्रयोग तथा फ्ल्यास लाइटको स्प्रिङबाट बल्छीहरू बनाए । उनको प्रयास प्रभावकारी भयो । उनले माछा समात्ने र काँचै खान सक्ने भए ।
बाँच्नका लागि आफूमा सामथ्र्य हुनु महìवपूर्ण भएको महसुस गरी लिमले दिनमा दुई पटक समुद्रका लहरका साथ अगाडि बढ्न थालेका थिए । उनले आफ्ना मांसपेशीलाई बलियो बनाइराख्नु जरुरी थियो । केही दिनमै वर्षाको पानी र साना साना माछाको आहारा उनलाई पर्याप्त नहुने भयो । एक पटक त माछा मार्ने क्रममा लिमले सार्क नै समाते । तानेर डुङ्गामा ल्याउँदा सार्कले लिममाथि नै आक्रमण ग-यो ।
पानी राख्ने भाँडाले हिर्काएर उनले सार्कलाई मारी आफ्नो ज्यान जोगाए । सार्कलाई मारेपछि लिमले त्यसको कलेजो झिकेर रगत पिएका थिए । पानी नपरेको धेरै दिन भएको थियो र लिमसँग पिउनलाई पानी थिएन । यस कारण सार्कको रगतबाट उनले तिर्खा मेटाए । त्यसपछि उनले सार्कको पखेटा काटेर घाममा सुकाए, पछि खानका लागि ।
लिमले माछाको मासु काट्न बिस्कुट राखिएको जस्ताको बट्टाबाट एउटा चक्कु बनाएका थिए । लिमले बाँच्नका लागि गरेका अन्य प्रयासको कुरा गर्दा उनले डुङ्गामा बस्न आउने समुद्री चरा सिगल समात्ने र सौर्य प्रकाशद्वारा त्यसको मासु सुकाएर राख्ने तथा पानी नहुँदा सिगल चराको रगत पिउने गर्दथे ।
लिमको सङ्घर्ष यात्रामा आशा र निराशा दुवै थिए । समुद्रमा दिन बिताउँदा उनले अन्य डुङ्गा तथा विमान देखे तर ती कसैबाट पनि उनले उद्धारको सङ्केत पाएनन्, मात्र प्रतीक्षा गरिरहे । हेर्दाहेर्दै दिन सूर्य अस्ताउँथ्यो, उद्धारका लागि कोही आउँदैनथे । लिम एसियाली मूलको भएको हुनाले होला डुङ्गाहरूले उनीलाई उपेक्षा गरिरहेका थिए । एक पटक अमेरिकी विमानहरूले लिमलाई देखेर उद्धारका लागि प्रयास गरिने जानकारी दिए तर समुद्री तुफानले उनको डुङ्गालाई अन्तै धकेलिदियो र विमानहरूले उनी रहेको स्थान पत्ता फेरि लगाउन सकेनन् ।
समुद्रमा जीवन सङ्घर्ष गर्दागर्दै लिमले एक सय ३३ दिन बिताए । बेलोमोन्ड जहाज डुबेको करिब साढे चार महिनापछि सन् १९४३, अप्रिल ५ मा ब्राजिलको तटीय क्षेत्र नजिक माझीहरूको एक जहाजले उनको उद्धार ग-यो । ब्राजिलको त्यस जहाजमा चालक दलका सदस्यले पोर्चुगेली भाषा मात्र बोल्दथे, यस कारण लिमले उनीहरूसँग दोहोरो संवाद गर्न सकेनन् । तैपनि उनीहरूले आफूसँग उपलब्ध वस्तु लिमलाई दिए ।
डुबेको बेलोमोन्ड जहाजमा यात्रा गरिरहेकामध्ये लिम मात्र बाँचेका थिए र लामो समयपछि उनी सम्पर्कमा आएपछि यो समाचार संसारभरि फैलिन बेर लागेन । लिमको तौल करिब १० किलो घटेको थियो र उनले दुई हप्ता अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरे । उनको नाम रातारात संसारमा फैलियो तर त्यसका लागि उनले ठूलो सङ्घर्ष गरेका थिए ।
सन् १९४३ अक्टोबरमा बेलायतका राजा जर्ज छैटौँले लिमलाई ब्रिटिस इम्पायर मेडल प्रदान गरेर सम्मानित गरे । त्यसपछिका केही वर्ष लिमले घुमफिरमा बिताए तथा बाँच्नका लागि आफूले अपनाएका जुक्ति जनमानसमा साझा गरे । पछि लिम अमेरिका पलायन भए । चिनियाँ आप्रवासीलाई दिइने नागरिकता कोटा पूरा भएको भए पनि अमेरिकाले उनलाई नागरिकता प्रदान गरेको थियो । सन् १९९१ मा ७२ वर्षको उमेरमा लिमको निधन भयो ।