साउनको राँकेका दिन फाँटमा लगाएको धान खेती जोगाउन कटुवाल कराएर सचेत गराएपछि फाँटका चार दिशामा फिरफिरे गाडिन्थ्यो । साउने सङ्क्रान्तिका दिनमा खेतमा काम गरेपछि लुतो, घाउ, खटिरा हटाउन लुते फालिन्थ्यो । हरेक घरबाट लुतो फालेपछि खुसियाली साटासाट गरिन्थ्यो । लुतो फाल्ने सरसामान जुटाउने सल्लाह गाउँभरिका बालबालिकाले एक महिनाअघिदेखि गर्दथे । एक प्रकारले तिहारमा खेलिने देउसी जत्तिकै रमाइलो हुन्थ्यो । यो कथा हो काभ्रेपलाञ्चोकको ।
दर्जनौँ सामान जोडेपछि लुतो फाल्ने काम हुन्थ्यो । घरघरमा आगो बालेर लुतो फालिएपछि मीठो खानेकुरा खाइन्थ्यो । साउने सङ्क्रान्तिले चाडपर्व बोलाउने भएकाले पनि बालबालिका दशैँ तिहार आउने दिन औँला भाँचेर गन्ने गर्दथे ।
लुतो फालेको भोलिपल्टको दिन राँके हुने भएकाले बारीमा पस्न नहुने भन्ने मान्यता थियो । पाँचखालमा जात्रा नै लाग्ने भएकाले वयस्कहरू त्यता पनि जान्थे । राँकेका दिनमा आँप टिपेर खाने गरिथ्यो । आफ्नो आँप नहुनेले पनि अर्काको आँप टिपेर खाए पनि चोरीको बात नलाग्ने मान्यता थियो ।
फिरफिरे कटुवालले गाड्दथे । फिरफिरे गाडेपछि लामा गुरुले खेतीलाई पशुबाट तथा हिउँदमा असिना पानीबाट धान जोगाउन पाठ पढ्दथे । मङ्सिरमा सुसेल्न हुन्न भन्ने मान्यता थियो । सुसेली हाले लामाले गाली गर्दथे ।
पातल र बगरका ठूला चौर मुन्तिर चनौटे फाँट भएकाले त्यसलाई जोगाउन केही उपाय आवश्यक थियो । असारमा लखतरान परेका गोरु साउन लागेपछि पातलमा छाडा छोडिन्थ्यो । भैँसी, गाई, बाख्रा पनि छाडा नै हुन्थे । छाडा छोडिएका पशुबाट धान जोगाउन मुहान, ढुकुरु, सिम्ले चौरमा र ढुडेको टुडामा फिरफिरे गाडिन्थ्यो ।
फिरफिरे गाडेपछि कसैका पशु खेतीमा छिरेमा जरिवाना तिर्नु पथ्र्याे तर फिरफिरे गाडेपछि कहिल्यै पनि कसैका पशु खेतमा छिर्न पाउँदैनथे । गाउँका धेरै मानिसले पहरा दिएर बस्दथे । बाली नाश गरेर अर्मल कसैले पनि तिर्नु परेन ।
नगरकोट मुन्तिरको सुन्दर उपत्यकामा सुनजस्तै पहेँलो धान फल्ने भएकाले धेरैको रोजाइमा चनौटे फाँट परेको थियो । त्यतिबेलाको महादेवस्थान गाविसलाई कश्यपेश्वर र नर्सिङेश्वर महादेव तथा उमादेवी मन्दिरले रक्षा गरेको मान्यता धेरैले राख्दथे । सबैले तिनै मन्दिरलाई निक्कै श्रद्धा गर्दथे । पानी नपरे पानी माग्थे । मकै र धान फलेपछि लगेर चढाउँथे । गाई, भैँसीको राम्रो होस् भनेर भाकल पनि गर्थे । डुडेमाथि भने ब्रह्मायणी मन्दिरले जोगाउने मान्यता राखिन्थ्यो ।
महादेवस्थानको सुन्दर फाँट चनौटेमा फलेको अन्नले किसान मात्रै बाँचेका हुँदैनथे । खेती जोगाउन कराउने कटुवाल तथा असिना र पशुबाट जोगाउने लामाको परिवार त्यसैबाट आश्रित थिए । मङ्सिरमा धान चुट्दा हरेक खलमा पुगेर एक पाथी धान पाएर उनीहरूको पनि भकारी भरिन्थ्यो । मङ्सिर लागेपछि गाउँघरलाई अनिष्टबाट जोगाउन जोगीले फेरी लगाउँथे । फेरी लगाएबापत उनले पनि फेरीपाथी पाउने गर्दथे ।
उमादेवी माईको कृपाले जोगीएको र अन्नबाली हुने भएकाले उमादेवी पाथी पनि दिने चलन थियो । सोबापत महादेवस्थानका मान्छेले भाकल गरेर उमादेवीको मन्दिरमा काटेको बोकाको टाउकोको काधो पुजारीलाई दिनु पर्दैनथ्यो तर चण्डेनी, जोगिटारका मान्छेले भने काधो बुझाउनु पर्दथ्यो ।
हरेक घरमा हल गोरु हुन्थे । लैना र बकेर्नाे मिलाएर वर्षभरि दूध खान भैँसी, गाई पालिएका हुन्थे । गोठभरि बाख्रा हुन्थे । खेती किसानी र पशुपालनबाटै आश्रित रहेको थियो चनौटे फाँट ।
औलोको डरले पौवामा रहेको बस्ती विस्तारै तलतिर स¥यो । धाइटार, कुन्ता, नौबिसे र सिउडिनीटार, रानीटारका ठूला बस्ती बसे । झिगडीका छाना र ढुङ्गाको गाह्रो लगाएर बनाएका घर निकै राम्रा देखिन्थे । २००१ सालपछि बनेका बस्ती समूहमै आश्रित थिए । मिलेर काम गर्थे । लुगा र जुत्ता सिलाउने तथा हतियार बनाउनेलाई बाली दिने प्रचलन थियो ।
ठूलो परिवारमा हतियार बनाउनेले एकै खलाबाट पाँच मुरीसम्म अन्न लिएर जान्थे । मिलेको समुदाय भएकाले फाँटमा फलेको अन्न धेरैको घरमा पुग्ने गर्दथ्यो । रासायनिक मल नभएकाले सुरुमा खासै धान फल्दैनथ्यो तर विस्तारै उत्पादनमा कैयौँ गुणा वृद्धि भएको छ ।
बस्ती तल सरेपछि पशुको सङ्ख्या बढ्यो अनि खेतीमा हुन सक्ने सम्भावित क्षति रोक्नका लागि चार दिशामा फिरफिरे राखेर सुरक्षा दिन थालियो । यसले खेती मात्रै सुरक्षित गरेन, खेत नभएका समुदायको भकारी पनि भरायो ।
अहिले लामापाथी, फेरीपाथी, कटुवालपाथी र उमादेवीपाथी हरायो भन्दा पनि हुन्छ । लामा र कटुवालपाथी त लोप नै भएका छन् । यसले खेती नहुनेका परिवारको मुखमा अन्न पर्न नसक्ने अवस्था ल्याएको छ । गाउँमा कसैका घरमा पनि गोरु छैनन् । भैँसी पाल्न धेरैले छाडे । अहिले पालतमा बस्तुभाउ चरेको देख्न नै छाडिएको छ । प्राकृतिक र सांस्कृतिक परस्पर सम्बन्धका रूपमा रहेको खेती प्रणाली र त्यसमा निर्भर धेरै कुरा हराएकोमा एउटा पुस्ता चिन्तित छ । कटुवाल कराउने, फिरफिरे गाड्ने एकादेशको कथा बनेको छ । राँके र लुतो फाल्ने दिन बिर्सिएको छ ।
लामा, कटुवाल, फेरी लगाउने र उमादेवीका पुजारीका सन्तान भोकै पर्न थालेका छन् । गोरुको सट्टामा मिनीटिलरले जोत्न थालिएको छ । सबै कुरा फेरिएका छन् तर चनौटे फाँटले धान उत्पादन गर्न भने छाडेको छैन ।