गौतम बुद्धसम्बन्धी कतिपय पाठमा कोही एक मान्छे आएर बुद्धलाई गाली गर्नुसम्म गरेको, बुद्धका शिष्यलाई ननिको लागेको तर बुद्धबाट कुनै प्रतिक्रिया नदिएको कुरा उल्लेख हुने गरेको छ । त्यही पाठमा शिष्यहरूले बुद्धसँग यस बारेमा सोधनी गरेको तथा गाली गर्ने व्यक्ति पछि पछुताएर माफी माग्न आएको प्रसङ्ग उल्लेख गरिएको हुन्छ ।
यस्ता प्रसङ्ग बेग्लाबेग्लै दिनमा बेग्लाबेग्लै ठाउँमा तथा बेग्लाबेग्लै व्यक्तिबाट अभिव्यक्त हुने गरेको पाइन्छ । एउटै प्रसङ्गका ती बेग्लाबेग्लै घटनाको नतिजा एउटै हुने गर्दछ । बुद्धको जीवनमा भएका यी घटना शिक्षाप्रद नै छन् ।
यस्तै एउटा प्रसङ्ग ‘अक्कोस सुत्त’ मा परेको छ । गौतम बुद्धका उपदेश सङ्कलित ग्रन्थलाई ‘त्रिपिटक’ भनिन्छ तर यो एउटै ग्रन्थ नभएर विभिन्न ग्रन्थको संयुक्त नाम हो । त्रिपिटकको शाब्दिक अर्थ तीनवटा पिटक भन्ने हुन्छ । सम्पूर्ण उपदेशका ग्रन्थलाई तीन भागमा छुट्याइयो, सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक ।
सुत्तपिटकभित्र पनि अनेक ग्रन्थ छन्, जसलाई निकायग्रन्थ भनिन्छ । उदाहरणका लागि दीघनिकाय, मज्झिमनिकाय, संयुक्त निकाय, अङ्गुत्तरनिकाय र खुद्दकनिकाय । खुद्दकनिकायभित्र पनि साना ठूला गरी आठ ग्रन्थ पर्दछन् । संयुक्त निकायमा अलि धेरै सूत्र सङ्कलित छन् र मोटो पनि छ । ‘अक्कोस सुत्त’ यसैमा सङ्कलित छ । पालि एउटा बेग्लै भाषा हो र पालि भाषाको ‘अक्कोस सुत्त’ को संस्कृत अनुवाद हुन्छ, आक्रोश सूत्र ।
सूत्रहरूको आरम्भ ‘एवं मय सुत्तं एकं समय भगवा.... ’ भन्ने वाक्यबाट सुरु गरिएको हुन्छ । बुद्धले एक समय यस्तो भनेको मैले सुनेँ भनेर विभिन्न घटनासहित उपदेशहरू सङ्ग्रह गरिएको हुन्छ । त्यसअनुसार एक समय भगवान् गौतम बुद्ध मगध राज्यको राजधानी राजगृहको वेणुवनको कलन्दकनिवाप (विहार)मा विहार बसिरहेका थिए । बुद्धलाई गाली गरेको एउटा प्रसङ्ग यहाँ पनि आउँछ ।
भारद्वाज गोत्रका एक ब्राह्मण घरबार छाडी अनागरिक (गृहविहीन) भई गौतम बुद्धकहाँ प्रव्रजित भएका थिए । यस्तो भन्नुको तात्पर्य बुद्धको उपदेशबाट प्रभावित भई आफ्नो कुल परम्परा छाडी बौद्ध भिक्षु हुन गएको भन्ने हो । यो कुरा सुनेर उनका माइला भाइ अत्यन्तै रिसाए । भाइको नाम आक्रोशक ब्राह्मण भनिएको छ ।
समाजको कुल परम्परा तथा शास्त्रीय मान्यताभन्दा विपरीत जीवन दर्शन बोकेका गौतम बुद्धको धर्मसँग कतिपय व्यक्ति सहमत थिएनन् र उनीसँग रिसाउँथे, द्वेष भाव पनि राख्थे । बुद्धविरुद्ध वैदिक ब्राह्मणहरू मात्रै नभएर अन्य सम्प्रदायका अनुयायी पनि अनेक तरहले टिप्पणी गर्ने तथा हानिनोक्सानीको प्रयाससमेत गर्दथे । आफ्ना दाजु भिक्षु बनेकोमा क्रोधित बनेका आक्रोशक भारद्वाज ब्राह्मण त्यसपछि जहाँ भगवान् बुद्ध विराजमान थिए, त्यहाँ पुगे अनि बुद्धको सम्मुख नै अमर्यादित भाषामा आक्रोश व्यक्त गर्दै निन्दा गर्न थाले ।
आफूविरुद्ध गरेको निन्दा सुनेपछि बुद्धले आक्रोशक भारद्वाज ब्राह्मणलाई यस प्रकार प्रश्न गरे, “हे ब्राह्मण तिम्रो घरमा कोही मित्र, आफन्त वा अतिथि आउँछन् होलान् नि ?”
उनी जवाफ दिन्छन्, “गौतम मेरो घरमा कहिलेकाहीँ मित्र, आफन्त वा अतिथि आउँछन् ।”
बुद्ध प्रश्न गर्छन्, “तिनीहरूलाई तिमी केही खानेकुरा दिन्छौ होला नि ।”
जवाफ मिल्छ, “दिन्छु ।”
आक्रोशक भारद्वाज ब्राह्मणको जवाफपछि बुद्धले फेरि प्रश्न गर्छन्, “यदि दिएको खानेकुरा तिनीहरूले खाएनन् भने त्यो कसले लिन्छ ?”
ब्राह्मणले जवाफ दिए, “यदि तिनीहरूले खाएनन् भने त्यो म आफैँसँग राख्छु ।”
त्यसपछि बुद्ध ती ब्राह्मणसँग बोल्छन्, “हे ब्राह्मण त्यसैगरी तिमीले हामी आक्रोश नगरेकाहरूसँग आक्रोश ग-यौँ, नरिसाएकाहरूसँग रिसायौँ, झगडा नगरेकाहरूसँग झगडा ग-यौँ, यी कुरा हामीले ग्रहण गरेनौ । हे ब्राह्मण ती जम्मै तिम्रै भयो ।”
“जसले आक्रोश गर्नासाथ प्रत्याक्रोश गर्छन्, रिसाउनासाथ रिसाउँछन्, झगडा गर्नासाथ झगडा गर्छन्, त्यसलाई भनिन्छ, खाने र खुवाउने । ती हामीले खाएनाँै, खुवाएनौँ । त्यसकारण हे ब्राह्मण त्यो आक्रोश तिम्रै भयो, तिम्रै भयो ,” बुद्धले सम्झाए ।
त्यसपछि ब्राह्मणको मनमा केही कुरा खेल्यो र उनी बोले, “हजुर राजासमेतको परिषद्ले यस प्रकार चिनिनुहुन्छ ‘श्रमण गौतम अरहत् हुनुहुुन्छ’ तैपनि हजुर गौतम रिसाउनु भएन ?”
बुद्धले भने, “क्रोध नभएकालाई जसरी क्रोध, शान्त समजीविलाई राम्रोसँग बुझी विमुक्त भएकालाई, उपशान्त भई अकम्प्य भएकालाई क्रोध कहाँ हुन्छ ? जसले क्रोधको बदलामा क्रोध पोख्छन्, त्यसबाट उसको अहित हुन्छ । क्रुद्धप्रति क्रोध नगर्नेले अजेय सङ्ग्राम विजय गर्छ । जो अरूको क्रोध बुझेर होस राखी शान्त हुन्छन् उनले आफूलाई र अरूलाई पनि हित गर्छन् ।”
बुद्धको कुरा सुनेर आक्रोशक भारद्वाज ब्राह्मण सजग भए । उनमा संवेग पनि उत्पन्न भयो । त्यसपछि उनले बुद्धसँग यसरी बिन्ती बिसाए, “धन्य हो गौतम, जसरी घोप्ट्याइएको भाँडोलाई सुल्टो पारिदिन्छन् त्यस्तै भयो ।”
त्यसपछि आक्रोशक भारद्वाज ब्राह्मणले पनि बुद्धकहाँ प्रव्रज्या प्राप्त गरे । अर्थात् उनी पनि दाजुजस्तै भिक्षु भए । भिक्षु भएर जीवन दर्शनका कुरा बुद्धबाट सिके । बुद्धले सिकाए जस्तै साधना र अभ्यास गरेर अरू जस्तै अर्हन्त भए । अर्हन्त भनेको जीवन र मृत्युको चक्रबाट मुक्त हुनु हो अर्थात् त्यसपश्चात् कहिल्यै अर्को जन्म लिनु पर्दैन ।
बुद्धले जीवन र मृत्युको अनन्त चक्रलाई नै दुःख भनेका छन् र दुःखबाट मुक्त हुने कुरामा जोड दिन्छन् ।