• ६ पुस २०८१, शनिबार

सिमले खाता स्वाहा

blog

इन्टरनेटको दुनियाँमा रमेको समाजमा बेलामौकामा विभिन्न खालका ठगीका समाचार हामीले सुन्दै र भोग्दै आएका छौँ । पछिल्लो समय विभिन्न सामाजिक सन्जाल ह्वाट्सएप, भाइबर, इमोलगायतका एप्समार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेजमार्फत मोबाइल बैङ्किङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकको गोप्य सूचना लिने तथा तपाईंलाई यति रकम चिट्ठा परेको छ भन्दै सन्देश पठाएर रकम जम्मा गर्न लगाउनेसम्मका अनलाइन ठगीका घटना नेपालमा समेत दैनिक बढ्दै गएको छ । 

यसैबीच ‘सिम कार्ड स्वाप’ अर्को अनौठो र नौलो प्रविधिको प्रयोग गरेर हुने ठगीको प्रकार नेपाल र भारतमा देखिएको छ । 

केही समयअघिको कुरा हो भारतको दक्षिण दिल्लीका एक व्यापारीलाई मोबाइल फोनमा अपरिचित नम्बरबाट धेरै मिस्डकल आयो । त्यो देखेर उनले पुनः त्यही नम्बरबाट फोन आएपछि उठाए र कुनै कुराकानी नभएरै फोन काटियो । त्यसको केही समयपछि उनको बैङ्क खाताबाट करिब ५० लाख भारु 

ठगले निकाले ।

दिल्ली प्रहरीको साइबर अपराध एकाइले गरेको प्रारम्भिक अनुसन्धानमा उनको सिम स्वाप प्रविधि प्रयोग गरेर उक्त रकम निकालिएको देखियो । भारतमा भएको यस्तै घटना नेपालमा पनि हुन सक्ने सम्भावना भएकाले मोबाइल फोन प्रयोगकर्ताले होसियार हुनुपर्ने 

बेला आएको छ । 

के हो सिम स्वाप ?

सिम स्वाप भनेको प्रविधि प्रयोग गरेर गरिने एक प्रकारको ठगी वा चोरी हो । यसमा प्रयोगकर्ताको मोबाइल फोनको सिमलाई आफ्नो नियन्त्रणमा लिएर सिम कार्डसँग जोडिएका बैङ्क, सोसल मिडिया र इमेललगायतका खातामा नियन्त्रण तथा पहुँच पु¥याएर रकम चोरी गरिन्छ ।

अर्को शब्दमा भन्नुपर्दा सिम स्वापमा अपराधीले प्रयोगकर्तालाई धोकाधडी गरेर वा सोसल इन्जिनियरिङको टुल प्रयोग गरेर उनको सिम कार्डमा नियन्त्रण लिन्छन् । यस्ता ठगले सिम प्रयोगकर्तालाई प्रलोभन देखाएर, फर्जी फोन गरेर, नक्कली मेल, रमाइला भिडियो क्लिप, फोटा वा मोबाइल सन्देश पठाएर उनको व्यक्तिगत जानकारी प्राप्त गर्छन् । यसरी सङ्कलन गरेको जानकारीका माध्यमबाट नक्कली परिचयपत्र बनाई प्रयोगकर्ताको नामबाट टेलिकम सेवा प्रदायकबाट डुप्लिकेट सिम कार्ड झिक्छन् । उनीहरूले आफ्नो सिम कार्ड हराएको वा कार्ड बिग्रेको बहाना बनाउँछन् र त्यही नम्बरको अर्को सिम निकाल्छन् । विशेष गरेर ई–सिम प्रयोग गरिएको मोबाइल फोनमा अपराधी यस्तो अपराधमा बढी सक्रिय देखिएका छन् ।

यसरी निकालिएको डुप्लिकेट सिमले काम गर्न थालेपछि वास्तविक सिम ब्लक हुन्छ तर प्रयोगकर्ताले थाहा पाउनुभन्दा पहिला यस्ता ठगले सबै काम भ्याइसकेका हुन्छन् । प्रायः बिदाको दिन पर्ने गरी अपराधीले यस्तो काम गर्दछन् ।

यस्ता ह्याकर र स्क्यामरले अर्को तरिका पनि अपनाउने गरेको पाइएको छ । त्यो के भने उनीहरूले सिमको वास्तविक प्रयोगकर्तालाई सिमको नेटवर्क सेवा प्रदायकबाट कल गरेको हो भन्छन् र उनीहरूले दिएको निर्देशनअनुसार काम गर्न भन्छन् । त्यसो नगरेमा सिमकार्ड ब्लक हुने वा सेवा अवरुद्ध हुने कुरा सुनाउँछन् । प्रयोगकर्ताले उनीहरूको निर्देशनअनुसार सबै काम गरेपछि उक्त सिम ती ठगको नियन्त्रणमा पुग्छ ।

त्यति मात्र कहाँ हो र उनीहरूले दिने निर्देशनमा यूएसएसडी कोड डायल गर्न र त्यहाँ दिएका निर्देशन राम्ररी पालना गर्न अनुरोध गर्छन् । त्यसपछि सिममा आएका सबै कल र सन्देश उनीहरूले चाहेको अर्को मोबाइल नम्बरमा फरवार्ड हुन्छ र त्यसका आधारमा उनीहरूले सहजै रकम चोरी गर्छन् । यसरी सिम स्वाप हुन्छ । त्यसपछि उक्त सिम प्रयोगकर्ता र मोबाइल फोन डिभाइसको पहुँचभन्दा बाहिर पुग्छ ।

यति भइसकेपछि तपाईंको मोबाइल फोनमा भएको पैसा, मोबाइल बैङ्किङ, क्रेडिट कार्ड, इमेलमा सुरक्षित गरिएका गोप्य सामग्री, सामाजिक सञ्जाललगायतका कुरा वास्तविक प्रयोगकर्ताको पहुँच बाहिर जान्छ । त्यसपछि ठगले सिम प्रयोगकर्ताको बैङ्क खातामा रहेको पैसा झिक्न, ऋण लिन र मोबाइल फोनमा सुरक्षित गरेका मोबाइल नम्बर र नाम प्राप्त गर्न सक्छन् ।

सिम स्वाप भएको कसरी थाहा पाउने ?

á राम्रो नेटवर्क भएको स्थानमा पनि तपाईंले प्रयोग गरिरहेको मोबाइल फोनमा नेटवर्क देखाएको छैन भने तपाईं सिम स्वापको निशानामा परेको हुन सक्छ ।

á मोबाइल फोनमा तपाईंले चलाएका एप्स चलेका छैनन् वा विभिन्न निर्देशनसहितका लिङ्क तथा कलहरू आएका छन् भने पनि तपाईं यस्ता ठगको निशानामा परेको हुन सक्छ ।

á मोबाइल फोनमा आफूले नचिनेको व्यक्ति वा नम्बरबाट आएका लिङ्क वा सन्देशमा पढ्नु भयो वा कल उठाउनु भएको छ भने तपाईं ठगीमा परेको हुन सक्छ ।

कसरी जोगिने ?

á यस्ता ठग र अपराधीले प्रयोगकर्ताको व्यक्तिगत विवरणका साथै मोबाइल फोन सेवा प्रदायक पहिचान गरी मोबाइल फोन नम्बरसमेत पत्ता लगाउँछन् । उनीहरूले व्यक्तिगत विवरण सङ्कलन गर्छन् । त्यसैले तपाईंले आफ्नो पूरा नाम, ठेगाना, फोन नम्बर र जन्म मिति सार्वजनिक गर्नुहँुदैन ।

á सामाजिक सञ्जालमा अनावश्यक आफ्नो सबै व्यक्तिगत विवरण र दिनचर्या सेयर नगर्नुहोस् ।

á सार्वजनिक स्थानमा नागरिकता, परिचयपत्र र मोबाइल फोन नम्बर दिँदा सावधान हुनुहोस् । यस्ता विवरण जुनसुकै समयमा अपराधीको पहुँचमा पुग्न सक्छ ।

á माोबाइल फोनमा बलियो पासवर्ड र सुरक्षा सेटिङमा ध्यान दिनुहोस् । एउटै पासवर्ड धेरै खातामा प्रयोग नगर्नुहोस् ।

á नाम, स्थान, मोबाइल फोन नम्बर जस्ता सहजै अनुमान लगाउन सकिने खालका पासवर्ड प्रयोग नगर्नुहोस् । अलि जटिल र अनुमान लगाउन गाह्रो हुने खालका पासवर्ड मोबाइल फोन र खातामा राख्नुहोस् ।

á मोबाइल फोनबाट सञ्चालित अनलाइन खाता र मोबाइल एप्समा सुरक्षाका लागि बलियो पासवर्ड राख्नमा ध्यान दिनुहोस् ।

á मोबाइल फोनमा नम्बर, प्याटर्न लक र फिङ्गर लक राख्नुहोस् ।

á मोबाइल फोन, अनलाइन खाता र बैङ्किङ मोबाइल एपमा सम्भव भएसम्म डबल भेरिफिकेसन राख्नुहोस् ।

á मोबाइल बैङ्किङ एप र अन्य संवेदनशील सामग्री रहेका एप्समा फेसअनलक तथा स्क्रिन टच दुवै प्रयोग गर्नुहोस् ।

á इमेल, मोबाइल फोन र सामाजिक सञ्जालका च्याट वा पोस्टमा अपरिचित व्यक्ति वा नम्बरबाट आउने कुनै पनि सामग्री सकभर नखोल्नुहोस् ।

á नक्कली इमेल, टेक्स्ट र कलहरूबाट टाढै रहनुहोस् ।

á अर्को कुरा भनेको गुगल प्ले स्टोर, एप स्टोर वा अन्य थर्ड पार्टी एप चलाउँदा ध्यान पु¥याउनुपर्छ । सबै मोबाइल एप्स सुरक्षित हुँदैनन् । त्यसैले प्रयोग गर्नुपूर्व कुन एप कति सुरक्षित छ वा छैन यकिन गरेर मात्र प्रयोग गर्नुपर्छ । मोबाइल फोनमा राखिएका असुरक्षित एउटा एपले तपाईंलाई जुनसुकै समयमा समस्यामा पार्न सक्छन् ।

á तपाईंको मोबाइल फोनमा आउने वन टाइम पासवर्ड (ओटीपी) कसैसँग पनि सेयर नगर्नुहोस् वा कसैले मागेमा नदिनुहोस् ।

á कुनै पनि टेलिकम कम्पनी, बैङ्क र वित्तीय संंस्थाले आफ्ना ग्राहकसँग व्यक्तिगत जानकारी, ओटीपी, पासवर्ड र पिन नम्बर माग्दैनन् । त्यसैले कसैले फोन गरेर म फलानो टेलिकम कम्पनी, बैङ्क र वित्तीय संंस्थाबाट बोलेको भनेर यस्ता व्यक्तिगत जानकारी मागेमा नदिनुहोस् ।

á यदि आफू सिम स्वापमा परेको शङ्का लागेमा तुरुन्त सेवा प्रदायकलाई कल गरेर सबै कुरा जानकारी गराउनुहोस् ।