• ६ पुस २०८१, शनिबार

राज्यको स्वामित्व नभएको मुद्रा क्रिप्टोकरेन्सी

blog

क्रिप्टोकरेन्सीलाई भर्चुअल करेन्सी तथा डिजिटल करेन्सी पनि भनिन्छ । नेपालीमा यसलाई विद्युतीय मुद्रा भनेर चिनिन्छ । यसका केही विशेषता रहन्छन् । जस्तै निजी क्षेत्रबाट जारी गरिएको, विद्युतीय माध्यमबाट खरिदबिक्री हुने, कानुनी ग्राह्यता नभएको अर्थात् राज्यको ग्यारेन्टी र नियमन नभएको मुद्रा आदि । 

विश्वको कुनै पनि मुलुकमा राज्यको आधिकारिक मुद्रा जारी गर्ने निकाय एउटा मात्र हुन्छ । सामान्यतया सम्बन्धित मुलुकको केन्द्रीय बैङ्कलाई यसको जिम्मेवारी दिइन्छ । आधिकारिक मुद्रालाई राज्यले ग्यारेन्टी दिने गर्दछ । जस्तैः नेपाली नोटमा ‘नेपाल सरकारको जमानतप्राप्त यसको भुक्तानी माग्न आएमा तुरुन्त भुक्तानी पाइनेछ’ भनी लेखिएको हुन्छ । यसको अर्थ राज्यको मुद्रामा राज्यले सुरक्षा प्रदान गर्दछ । विशेष किसिमको कागजमा खास विशेषता राखेर कागजी मुद्रा बनाइएको हुन्छ । एक हजारको नोटको वस्तुमूल्य कागज अर्थात् लगभग शून्य बराबर भए पनि यसको सुरक्षा राज्यद्वारा गरिएकाले हामी ढुक्कसँग यो पैसा चलाउँछौँ । 

क्रिप्टोकरेन्सीलाई निजी क्षेत्रले जारी गरेको भए पनि कानुनी ग्राह्य मुद्राजस्तै कारोबारमा प्रयोग हुने भएकाले यसले मुद्राको काम त गर्दछ तर राज्यको नियमन तथा सुपरिवेक्षण यसमा हुँदैन । यो अन्तर्राष्ट्रिय रूपमा किनबेच हुने भएकाले खरिद गर्न त सजिलै होला तर बिक्री गर्नु परेमा यसको कुनै ग्यारेन्टी हुँदैन । यसो भएमा कहाँ उजुरी दिने, यसको जिम्मेवारी कसले लिने आदि अन्योल हुन्छ । यसैले क्रिप्टोकरेन्सी कारोबारमा पैसा हराउने तथा ठगीमा पर्ने सम्भावना रहन्छ । 

विद्युतीय मुद्रा अर्थात् Virtual Currency मूलतः दुई प्रकारको हुन्छ । जसमध्ये एकखाले केन्द्रीकृत भर्चुअल करेन्सी हो । जसको एकल Administrator हुन्छ, जसले नियम बनाउँछ । अर्को खाले विकेन्द्रीकृत Virtual Currency अथ हो । जसलाई क्रिप्टोकरेन्सी भनेर पनि चिनिन्छ । क्रिप्टोकरेन्सी कुनै वित्तीय संस्थाको मध्यस्थताबिना नै विद्युतीय माध्यमबाट रकमान्तर गर्न सकिन्छ । यसमा Cryptography को प्रयोग गरी बेनामी (Anonymous) कारोबार हुने गर्दछ र यसको लेखाङ्कन कुनै बैङ्क वा खास संस्थाले नभई विकेन्द्रीकृत रूपमा Block Chain  प्रविधिमार्फत गरिन्छ ।

सन् २०२२ जनवरीसम्ममा विश्वमा आठ हजारभन्दा बढी क्रिप्टोकरेन्सी रहेको अनुमान गरिएको छ । Bitcoin  पहिलो र सबैभन्दा व्यापक क्रिप्टोकरेन्सी हो । क्रिप्टोकरेन्सीलाई e-money  भन्दा भिन्न रूपमा बुझ्नुपर्दछ । e-money  भनेको Currency कै विद्युतीय स्वरूप हो; जुन वास्तविक मुद्राको मूल्यलाई विद्युतीय माध्यमबाट स्थानान्तरण गर्न प्रयोग गरिन्छ । मोबाइल बैङ्किङमार्फत रकमान्तर हुने मुद्रादेखि लिएर भुक्तानी सेवा प्रदायक संस्थाको e-wallet  मा भएको रकम e-money हो ।e-money वा Fiat Currency  भनेको कानुनी ग्राह्य मुद्राकै विद्युतीय स्वरूप हो, छुट्टै मुद्रा होइन । 

अहिले विश्वमा केन्द्रीय बैङ्कले कानुनी ग्राह्य मुद्राका रूपमा Central Bank Digital Currency (CBDC)जारी गर्न थालेका छन् । यो कागजी मुद्राको सट्टामा केन्द्रीय बैङ्कले जारी गर्ने विद्युतीय मुद्रा हो । CBDC वास्तविक मुद्राकै अभौतिक वा विद्युतीय स्वरूप हो र जारी गर्ने देशले यसलाई पूर्ण रूपमा जमानी दिएको हुन्छ । 

क्रिप्टोकरेन्सीलाई नेपालमा किन प्रतिबन्ध लगाउनु परेको ?

नेपालमा Virtual Currency/Cryptocurrency  को कारोबार गैरकानुनी छ । यसका देहायबमोजिमका कारण छन् : क्रिप्टोकरेन्सी कानुनी ग्राह्य नभएको, विदेशी विनिमय वा मुद्राको रूपमा Virtual Currency/Cryptocurrency -Stable coins  (क्तबदभि अयष्लक समेत)ले कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र नेपाल राष्ट्र बैङ्कले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हँुदा Virtual Currency/Cryptocurrency को कारोबार गैरकानुनी छ । 

यसका साथै Virtual Currency/Cryptocurrency पिरामिडमा आधारित Network Marketing प्रकृतिको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी हुन सक्ने, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवं उतार–चढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू समेत यसमा अन्तरनिहित रहन्छ । नेपालमा अहिले विद्युतीय कारोबारका माध्यमबाट अनेक किसिमका ठगी विकास भइरहेका छन् । तीमध्ये क्रिप्टोकरेन्सी पनि एक हो । 

क्रिप्टोकरेन्सीबाट राज्य तथा अर्थ व्यवस्थामा चुनौती 

नेपालमा पुँजी खाता अपरिवत्र्य रहेको छ । यसको अर्थ यहाँको घर  जग्गा बेचेको अथवा यहाँ कमाएको पैसा मुलुकबाहिर लैजान कानुनबमोजिमबाहेक प्रतिबन्ध छ । सीमित पुँजी भएको मुलुकमा स्वदेशी पुँजी विदेश लैजान खुला गरिएमा देशको पुँजी विदेशिन गई पुँजी पलायन हुने, लगानीका लागि पुँजीको अभाव हुने, पुँजी निर्माण हतोत्साहित हुने हुन्छ । यसैले नेपालजस्तो स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी पलायन हुन सक्छ । 

क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित मुद्रा भएको र केन्द्रीय बैङ्कको  नियन्त्रणबाहिर भएकाले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदाय (Money Supply)  मा गणना हुन सक्दैन । जसले मौद्रिक नीतिको कार्यान्वयन प्रभावकारी हुन नसकी मूल्य नियन्त्रण कार्य प्रभावकारी हुँदैन । यसबाट मूल्य स्थायित्वमा असर पर्न गई समष्टिगत आर्थिक स्थायित्वमा नै नकारात्मक असर पर्दछ ।

क्रिप्टोकरेन्सीको कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम उच्च हुन सक्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२१ अक्टोबरमा जारी गरेको Global Financial Stability Report (GFSR) मा क्रिप्टोकरेन्सीलाई ‘विश्वव्यापी वित्तीय स्थायित्वको तीनवटा प्रमुख चुनौतीमध्येको एक’ भनेर उल्लेख गरेको छ । 

क्रसबोर्डर पुँजी आवागमन निर्बाध हुने भएकाले वित्तीय स्थायित्वमा क्रिप्टोकरेन्सीले नकारात्मक असर गर्ने निश्चित छ । 

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने देखिन्छ ।Financial Stability Institute (FSI) को सन् २०२१ अप्रिलको प्रतिवेदनमा उल्लेख भएअनुसार एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा Criminally Associated Bitcoin Address  बाट मात्र अमेरिकी डलर ३.५ अर्ब पठाएको देखिन्छ । यसैगरी क्रिप्टोकरेन्सीले वित्तीय ग्राहक सुरक्षामा पनि असर गर्ने देखिन्छ । नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहन्छ । 

नेपाल अहिले आयातमा आधारित अर्थतन्त्र भएको मुलुक हुन पुगेको छ । हामीले आयातबापत धेरै विदेशी मुद्रा विदेशमा भुक्तानी गर्नुपर्दछ । क्रिप्टोकरेन्सीको खरिदमा विदेशी मुद्रा लगानी हुने भएकाले नेपालबाट पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउनुपर्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने हुँदा विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ । साथै क्रिप्टोकरेन्सीमा लगानीतिर युवा जनशक्ति आकर्षित हुन सक्ने भएकाले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्दछ ।