• ११ मंसिर २०८१, मङ्गलबार

सडक नाटकको बढ्दो आकर्षण

blog

काठमाडौँ, मङ्सिर २९ गते । रङ्गमञ्चबाहिरको खुला ठाउँमा पनि नाटक गर्न सकिन्छ भन्ने अभ्यास हो, ‘सडक नाटक’ । अहिले उपत्यका मात्र होइन, काठमाडौँबाहिरका विभिन्न प्रदेशमा पनि सडक नाटकको आकर्षण बढ्दो छ । सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन सडक नाटक प्रभावकारी बन्दै गइरहेको छ । अहिले आमनागरिकलाई सडक नाटकले जागृत गराउने काम गरेको छ । 

सडक नाटकको सुरुवात नेपालमा मितव्ययी नाटक मञ्चनका लागि प्रयोग भएको र यसको सामथ्र्य मूलतः जनचेतना प्रवाह गर्न प्रयोग गरिने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पुरु लम्साल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सडक नाटक विचार वा सन्देश प्रवाहको एउटा प्रभावकारी माध्यम हो ।” 

सडक नाटक संवादमुखी हुन्छ भने स्टेज नाटक प्रदर्शन र अभिनयमुखी हुन्छ । “सडक नाटकलाई सीमित स्रोतसाधनमा मुक्त रङ्गमञ्चका रूपमा प्रदर्शन गर्न सकिन्छ,” लम्सालले भन्नुभयो । यो स्टेज अथवा थिएटर नाटकको पक्ष प्रविधिसँग पनि जोडिएको हुन्छ । 

पछिल्लो समय प्रभावकारी जनचेतना प्रवाह गर्न सडक नाटकको प्रयोग बढिरहेको मात्रै छैन, यसलाई विभिन्न सङ्घसंस्थाले प्रायोजन गर्ने हुँदा कलाकारको रोजीरोटीसँग पनि जोडिएको छ । आफ्ना मुद्दाहरू वा आफूले दिन खोजेको सन्देश प्रत्यक्ष रूपमा दर्शकसम्म लैजाने प्रभावकारी माध्यम हो, सडक नाटक । सडक नाटकले उठाउने विषयहरू आमनागरिकसँग जोडिएका हुन्छन् भने नाटकमा संलग्न कलाकारलगायत समूहको जीवन गुजारासँग जोडिन्छ । 

छोरा र छोरीबिचको विभेद, बालविवाह, महिनावारीका बेला खेप्नु परेको सास्ती, महिला हिंसालगायत समस्याको न्यूनीकरणका लागि रङ्गकर्मीले सडक नाटक देखाउने गरेको रङ्गकर्मी नवराज बुढाथोकी बताउनुहुन्छ । गाउँ गाउँमा अहिले विद्यमान विकृति तथा विसङ्गतिविरुद्ध कलाकारद्वारा सडक नाटक प्रस्तुत गर्ने चलन बढेको उहाँको भनाइ छ । “समाजमा हुने सबै खाले विकृति, विसङ्गतिविरुद्ध जनचेतना फैलाउन सडक नाटकमार्फत कलाकारले सन्देश दिने काम पनि गर्छन्,” बुढाथोकीले भन्नुभयो ।

शैली थिएटरले चेतनामूलक सडक नाटक ‘कुरी कुरी’, लैङ्गिक हिंसाविरुद्धकोे अभियानका लागि दृश्य–सादृश्यको प्रस्तुत रहेको नाटक ‘चुप’ र शिल्पी थिएटरको प्रस्तुति रहेको सडक नाटक ‘सट्टापट्टा’ अहिले उपत्यका र बाहिरका जिल्लामा मञ्चन भएका नाटक हुन् । सडक नाटकमार्फत बोक्सी, छाउ, अछुत, बालविवाह, बहुविवाह, सुत्केरीलाई गोठमा राख्ने, सुत्केरी र शिशुले हरियो सागपात खान नहुने, बिरामी भए धामी बसाल्नेलगायतका विकृति रहँदै आएकोमा त्यसविरुद्ध कलाकारले नाटकमार्फत सन्देशमूलक सन्देश पनि दिने गरेका छन् ।