• २१ भदौ २०८२, शनिबार

बागलुङका एक सय ५८ जनामा स्क्रब टाइफसको सङ्क्रमण

blog

बागलुङको गलकोट नगर अस्पताल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ २१ गते ।
जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । झारपातमा बस्ने किराहरुको टोकाइबाट सर्ने स्क्रब टाइफसबाट एक सय ५८ जना सङ्क्रमित भएका छन् । उच्च ज्वरो र शरीर दुख्ने समस्या भएर उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका अधिकांश बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

जिल्लाको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा स्क्रब टाइफसका बिरामी बढी देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माले जानकारी दिनुभयो । शर्मा अनुसार, जिल्लामा अहिलेसम्म २० जनामा डेंगु सङ्क्रमण देखिँदा एक सय ५८ जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् ।

गलकोट नगरपालिकाभित्र मात्रै एक सय ३५ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । बडिगाड गाउँपालिकामा ८ जना र ताराखोलामा चार जना बिरामी भेटिएका छन् । एक सय ५८ जनामध्ये एक सय ५३ जनाको गलकोटमा पुष्टी भएको हो भने धौलागिरि अस्पतालमा चार र अन्य एकको बुर्तिवाङ अस्पतालमा गरिएको परीक्षणमा स्क्रब टाइफस पुष्टि भएको हो । 

यो रोगले सङ्क्रमितलाई उज्च ज्वरो आउने गर्छ । अस्पताल आउने बिरामीमा डेंगु जस्तै ज्वरो आउने, टाउको दुख्ने र शरीरमा राता दाग आउने लक्षण देखिएको गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताउनुभयो । उच्च ज्वरो र शरीर दुख्ने समस्या भएमा तत्काल उपचारमा आउन डा. पौडेलले आह्वान गर्नुभएको छ ।

झाडीमा नजाने र जानैपरे लामो बाहुला भएको कपडा लगाएर मात्र जाने, सङ्क्रमितहरुले खानपानमा ध्यान दिने, समयमा उपचार गर्ने र स्वास्थ्यकर्मीको सल्लाहले मात्र औषधी सेवन गर्नुपर्ने डा. पौडेलको सुझाव छ । घर वरपर फैलिदै गएको झाडी, घाँस लगायतले पनि स्क्रब टाइफस रोगको सङ्क्रमणमा थप मद्दत पुगेको डा. पौडेलको भनाइ छ ।

जनस्वास्थ्य अधिकृत शर्माका अनुसार, डेंगुका बिरामी पनि गलकोटमै धेरै भेटिँदा अन्य पालिकामा पनि छिटफुट बिरामी भेटिएका छन् । एडिस जातको लामखुट्टेबाट सर्ने भएकाले डेंगुविरुद्ध सचेत रहनुपर्ने, पानी जम्न नदिने, सरसफाइ गर्नुपर्ने सन्देश स्वास्थ्य संस्था र पालिकामार्फत प्रवाह गरिएको शर्माले बताउनुभयो । सरसफाइ नगर्ने र पानी जम्ने अवस्था रहिरहे मंसिरसम्म डेंगु रोगको सङ्क्रमण भैरहने शर्माले बताउनुभयो ।