लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ २१ गते । मधेशलाई औद्योगिक काेरिडोरको रूपमा स्थापित गर्ने लक्ष्यसहित मधेशमा पहिलो अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो २०२५ हुने भएको छ ।
उद्योग परिसङ्घ मधेश प्रदेश, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा आगामी कात्तिक २७ देखि ३० गतेसम्म जनकपुरधाम उपमहानगरपालिकास्थित तिरहुतिया गाछीमा उक्त अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो हुने भएको हो । यस प्रदर्शनीमा प्रमुख आकर्षणको केन्द्र उद्योग, कृषि र अटो एक्स्पो रहने छन् ।
एक्स्पोमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश, उद्योग विभाग मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका र नेपाल फ्रन्ट फाउन्डर एसाेसिएसनको सहयोग रहने छ ।
उद्योग परिसङ्घका मधेश प्रदेश अध्यक्ष प्रमोद साहका अनुसार उद्योगीहरूसँग जोडिन अवसर पनि रहेको हो । मेलामा सहभागी हुँदा उद्योगसम्बन्धी आवश्यक सिप तथा जानकारी हाँसिल गर्न सकिने छ भने एक्स्पोले नवप्रवर्तन र आर्थिक वृद्धिमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
एक करोड बढीको लागत आयोजना हुने उक्त प्रदर्शनी कार्यक्रममा अन्तर्राष्ट्रिय उद्योगका अग्रणीहरू, नवप्रवर्तनकर्ताहरू, लगानीकर्ता र उत्साहीहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ भने प्रदर्शनीमा १४० भन्दा बढी स्टलहरू रहने आयोजकले जानाएको छ ।
चार दिनसम्म चल्ने प्रदर्शनीमा प्रत्यक्ष उत्पादन प्रदर्शन, अत्याधुनिक मेसिनरी, स्वचालन, कृत्रिम बुद्धिमत्ता, स्मार्ट खेती उपकरणहरू र प्रविधि प्रदर्शन गरिने छ । साथै प्रमुख अटो निर्माताबाट विद्युतीय र स्वचालित सवारी साधनहरूको प्रदर्शनी, विशेषज्ञद्वारा कार्यशाला तथा प्यानल छलफलहरू, व्यावसायिक मिलन र नेटवर्किङ अवसरहरू पनि रहने छन् ।
आयोजकले नेपालका विभिन्न प्रदेश तथा छिमेकी मुलुक भारतलगायतका सहभागिता रहने अपेक्षा गरेका छन् । यस प्रदर्शनीमा निर्माता, वितरक, सरकारी अधिकारी, लगानीकर्ता लगायत उल्लेख्य सङ्ख्यामा आगन्तुकहरू आउने अनुमान गरिएको छ ।
शुक्रबार जनकपुरधाममा अयोजित पत्रकार सम्मेलनमार्फत उद्योग प्रदर्शनीको आयोजना हुने जनाएको हो ।