• २१ भदौ २०८२, शनिबार

भारतमा कर परिवर्तन नेपालमा चिन्ता

blog

जोगबनी नाका

पछिल्लो परिमार्जित जिएसटी प्रणाली लागु हुँदा भारतमा उत्पादन हुने वस्तु अझै सस्तो हुने र खुला सीमाको प्रभाव नेपालमा पर्ने दाबी

नवराज कट्टेल

विराटनगर, भदौ २१ गते । भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) दरमा परिवर्तन गरेपछि त्यसको असर नेपाली बजारमा झन् बढी पर्ने चिन्ता विराटनगरका उद्योगी व्यवसायीले गरेका छन् । नेपालका करका दर, कारण वस्तु उत्पादन लागत बढी पर्ने गर्छ । भारतले घटाएको जिएसटी दरको प्रभाव खुला सिमाना भएको नेपाल जस्तो देशमा अझै पर्ने चिन्ता गरिएको हो । 

भारतले राजस्व तथा सेवा कर (जिएसटी) का चार वटा स्ल्याबलाई घटाउँदै दुई तहमा झार्ने प्रस्ताव गरेको छ । भारतको ५६ औँ जिएसटी परिषद्को बैठकले अत्यावश्यक वस्तु सस्तो बनाउने उद्देश्य राखेर यस्तो प्रस्ताव गरेको हो । यो यही सेप्टेम्बर २२ देखि नयाँ दर लागु हुने छ जसको प्रभाव नेपाली बजारमा चाडपर्वकै बेला पर्ने उद्योगी व्यापारीको भनाइ छ । 

यस अवस्थामा मोरङ उद्योग व्यापार सङ्घले नेपाल सरकारले तत्काल केही नीतिगत सुधार नगरे देशका उत्पादन र उत्पादकत्वमा नराम्रोसँग प्रभाव पार्ने जनाएको छ । सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र भन्सारदरका कारण नेपाली वस्तुको मूल्य भारतको भन्दा बढी रहँदै आएको छ । त्यसमा पनि पछिल्लो परिमार्जित जिएसटी प्रणाली लागु हुँदा भारतमा उत्पादन हुने वस्तु अझै सस्तो हुने छ । 

अध्यक्ष राठीका अनुसार नेपाली उपभोक्ता सीमापार भारतका बजारमा अहिले पनि आकर्षित छन् । चोरीपैठारी पनि अत्यधिक छ । परिवर्तित जिएसटी लागु भएपछि भारतका बजारमा अझै नेपाली उपभोक्ता बढ्ने छन् भने खुला सीमानाकाबाट चोरीपैठारी पनि बढ्ने छ । यस्तो भएमा नेपालका सीमावर्ती बजारको अवस्था कमजोर हुने छ । अध्यक्ष राठीका अनुसार टेक्स्ट टायल, स्टेसनरी, खाद्यान्न, जुताचप्पलमा यसको असर बढी पर्ने छ । 

सङ्घले नेपाल सरकारले तत्काललै बहुदरको कर प्रणाली अवलम्बन गर्नुपर्ने सुझाव दिइएको छ । जसमा अत्यावश्यक वस्तुमा न्यून कर, मध्यम वर्गीय वस्तुमा मध्यम कर र विलासी वस्तुमा उच्च करको रणनीति बनाउन भनिएको छ । यसै गरी दैनिक उपभोग्य वस्तुका अन्तःशुल्क र भन्सार महसुल घटाउनुपर्ने, स्वदेशी उद्योगलाई परिरहेको नकारात्मक असरलाई कम गर्न करका दर परिवर्तन गर्नुपर्ने सुझाव दिइएको छ । यसै गरी सङ्घले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव पूर्ण रूपमा अवलम्बन गर्नुपर्ने सरकारसँग माग गरेको छ । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अमेरिकाले भारतीय उत्पादनमा ५० प्रतिशत महसुल लगाउने निर्णय गरेपछि भारतले आन्तरिक खपत बढाउने उद्देश्य लिएको बताउनुभयो । भारतले राजस्व वृद्धि गर्न जिएसटीमा परिवर्तन गर्दा त्यसको प्रभाव नेपालमा पर्ने अध्यक्ष राठीको भनाइ छ । 

अध्यक्ष राठीका अनुसार ५, १२, १८ र २८ दरका चार वटा स्ल्याबमध्ये पाँच र १२ प्रतिशत मात्र कायम भएका छन् । त्योसँगै सुर्ती, पानमसला र महँगा गाडीका लागि भने भारत सरकारले उपकर (सेस) भन्दै जिएसटी ४० प्रतिशत पु¥याएको छ । 

अध्यक्ष राठीका अनुसार जिएसटी १८ प्रतिशत लाग्दै आएका दैनिक उपभोग्य वस्तुको दर पाँच प्रतिशतमा झारेको छ । यस्ता वस्तुमा मन्जन, टेल्कम पाउडर, स्याम्पुलगायतका १७५ भन्दा बढी छन् । दैनिक उपभोगमा आउने कपडा, अन्य खाद्यवस्तु, एफएमसिजीलगायतका सामग्रीमा पनि पाँच प्रतिशत नै कायम छ ।

यसै गरी हस्पिटालिटी र मनोरञ्जन क्षेत्रका होटेल बुकिङ र सिनेमा टिकटमा पनि १२ प्रतिशतबाट पाँच प्रतिशतमा झारिएको छ । स्वास्थ्य सेवा अन्तर्गत १२ प्रतिशत लागिरहेका औषधी र चिकित्साका सामग्रीलाई पाँचमा झारिने प्रस्ताव गरेको । यसले खुला सीमानाकाबाट अब औषधी पनि चोरीपैठारी हुने सामग्रीमा पर्ने दाबी गरिएको छ ।