यात्रीगण कृपया ध्यान दिजिए ! गाडी सङ्ख्या– पटना से चलकर जयनगर को जाने वाली एक्सप्रेस कुछ ही देर मे प्लेटफर्म नम्बर १ से चल्ने वाली है ।”
यो उद्घोषसँगै म ट्रेन समात्न दौडिएँ । पटना घुमेर पटनाबाट जयनगर जाने ट्रेन राति ११ बजे चढेको थिएँ । ट्रेन आफ्नो निर्धारित समयभन्दा ढिलै चलिरहेको थियो । बिहान ८ बजेसम्म पुर्याउनुपर्ने थियो तर दुई/तीन घण्टा ढिलै हुन्छ जस्तो लाग्यो ।
बिहान ७ बजे निद्रा खुलेसँगै अहिलेको नयाँ अपडेट थाहा पाउन फेसबुक खोलेँ । स्क्रिनमा एउटा खबर भाइरल भइरहेको थियो ।
खबर थियो, “...नाम गरेको मान्छे दुई दिनदेखि सम्पर्कविहीन भएकाले निजलाई देख्नेले फलानो नम्बर अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहोला ।”
त्यो हराइरहेको मान्छे अरू कोही नभएर मेरै साथी गुप्ता थियो । सोचेँ, दुई दिन सम्पर्कविहीन हुँदैमा आत्तिनु पर्दैन । मोबाइल बिग्रियो होला अथवा हरायो होला । घरमा कलह भएर जानाजानी फोन नलाग्ने बनाएर राखेको होला अथवा चिन्तै नगर्नुपर्ने केही भयो होला ।
खासमा ऊ इलाम घुम्न जाने भनेर घरमा जानकारी गराएर हिँडेको थियो । दुई दिनभित्र घर फर्किसक्ने उसले बताएको थियो तर भोलिपल्टदेखि उसको मोबाइल बन्द भएका कारण परिवारमा चिन्ता बढेको थियो । प्रहरी, प्रशासन, गाउँघरमा लगातार उसको खोजतलास जारी थियो ।
म आफ्नो घर फर्केको चार/पाँच दिनपछि ऊसँग सम्बन्धित एउटा खबर फेरि भाइरल भइरहेको थियो । खबर यस्तो थियो, “विगत चार/पाँच दिनदेखि हराइरहेको मान्छे फलानो गेस्ट हाउसमा झुन्डिएको अवस्थामा भेटिएको छ । हत्या भएको हुन सक्ने आशङ्का गरिए पनि स्थलगत अनुसन्धानबाट प्रहरीले आत्महत्या भएको पुष्टि गरेको छ । आत्महत्या रातिको समयमा भएको, उसले सिङ्गल कोठा लिएको, सिसिटिभी फुटेजबाट वारदातको समयमा ऊ एक्लै भएको र बिहानसम्म पनि ‘चेकआउट’ गर्न नआएपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा पाइएको छ ।”
गुप्ता बजारको मुख्य चोकमा ठुलो कपडा पसल छ– गुप्ता कपडा पसल । तिनै साहुको छोरा थियो– ऊ । उमेरले २७/२८ को अविवाहित केटो । ऊ दुई वर्षअघि निजामती सेवाको खरिदार पदको स्थायी जागिर छाडेर पसलमा बुवालाई सहयोग गर्न आएको थियो ।
ऊ भन्ने गर्थ्याे , “मेरो बुवाको यो पसलमा यत्रो लगानी छ । व्यापार पनि राम्रै भइरहेको छ । बुवालाई सहयोगी पनि चाहिएको छ । महिनाको ५० हजार रुपियाँ त म आफ्नै पसलमा काम गरेर कमाउन सक्छु । अनि म किन घरबाट टाढा गएर जागिर गर्नु ? बुवाले परम्परागत तरिकाले चलाइरहनुभएको यो पसललाई आधुनिक बनाएर थप उचाइमा पु¥याउँछु ।”
म प्रायः लुगाफाटा किन्न त्यही पसलमा जाने गर्थें । कारण, एक दाममा कपडा पाइने र कपडा पनि राम्रो अनि टिकाउ हुने । यसरी पसलमा आउँदाजाँदा पसल साहुको छोरो मेरो राम्रो साथी बनेको थियो । ऊ सिधा सिधा कुरा गर्ने, खुलेर कुरा गर्ने, सभ्य र मर्यादित देखिने अनि सहयोगी स्वभावको थियो ।
मलाई चिनेपछि अरू ग्राहकभन्दा मसँग फरक व्यवहार गथ्र्यो । पसलमा जाँदा बस्नलाई कुर्सी दिन्थ्यो । चिया, चिसो के पिऊँ भनेर मलाई सधैँ सोध्थ्यो । यस्तो सत्कार अन्यत्र कतै पाउँदैनथेँ । आफूलाई चाहिने कपडाको विवरण सुनाएपछि ऊ आफैँले मलाई सुहाउँदो कपडा रोजिदिन्थ्यो । भन्ने गथ्र्याे, “सर ! तपाईं त कर्मचारी मान्छे । तपाईंलाई यस्तो रङ्गीचङ्गी सुहाउँदैन । यो कपडा लानुस्, थोरै महँगो त छ तर कपडा राम्रो छ ।” अरू पसलभन्दा दुई पैसा कमैमा मलाई कपडा दिन्थ्यो ।
उसले मास्टर्ससम्म पढेको थियो । घरको एक्लो छोरा थियो । भएकी एउटी बहिनीको भर्खर सात महिनाअगाडि बिहे भएको थियो । परिवार सम्पन्नै थियो । गाउँमा प्रशस्त जग्गाजमिन थियो । दुःख त्यस्तो केही थिएन । जागिर छाडेर ऊ आएदेखि पसलमा व्यापार झन् बढेको थियो । छिट्टै बिहे गर्ने सोचमा थियो । फुर्सदको समयमा मसँग सामाजिक, शैक्षिक, राजनीतिक विषयमा छलफल गथ्र्यो ।
ऊ भन्ने गथ्र्यो, “यत्रो आन्दोलन भएर देशमा सङ्घीयता आयो । आफ्नो मधेश प्रदेश छ । हाम्रो प्रदेशमा जहिल्यै अनियमितताको खबर मात्र सुनिन्छ । अरू प्रदेशले कति कति प्रगति गरिसके । यसरी त यत्रो आन्दोलन गरेर ल्याएको सङ्घीयताको के अर्थ भयो र ?”
म यसरी सम्झाउँथेँ, “विकृति र विसङ्गति त देशैभरि छ । कतै कम, कतै बढीको कुरा हो । नयाँ नयाँ व्यवस्था आएको छ, समय लाग्ला सबै कुरा सही हुन ।”
उसको सोच र विचार फराकिलो र ओजिलो हुने गथ्र्यो । एउटा बौद्धिक मान्छेले गर्ने किसिमले कुरा गथ्र्यो, लठैत पारा थिएन । ऊसँगको छलफल सार्थक र सान्दर्भिक लाग्थ्यो । मलाई पनि धेरै कुरा सिक्न पाएको अनुभूति हुन्थ्यो । उसको आत्महत्याको खबर पनि सेलाउन थालिसकेको थियो । दुःखद घटना भएको दिनदेखि कस्तो कस्तो लागेर उसको पसलमा नगएको पनि तीन चार महिना भइसकेको थियो । एक दिन ‘बुझौँ न के स्थिति छ’ भन्ने भयो । दुःखको घडीमा टाढिनु त भएन भन्ने लाग्यो ।
पसल पहिला जस्तो चहलपहल थिएन । ग्राहक पनि एकाध मात्र थिए । पसल पनि प्रायः बन्द रहने गरेको सुन्न पाएँ । उसको पसलमा बुवा र एक÷दुई जना कामदार थिए । सबैको अनुहारमा शोक र दुःख प्रस्टै झल्किन्थ्यो ।
उनले मलाई नमस्कार गर्दै भने, “धेरै दिन भयो, मेरो पसलमा नआउनुभएको ?”
“के केमा व्यस्त भइयो, आउँछु भन्दाभन्दै समय मिलाउनै सकिएन,” दुःखमा परेको त्यो परिवारलाई मैले ढाँटेँ । उनीसँग दुःख थियो । दुःख कसैसँग पोखौँ जस्तो भइरहेको देखिन्थ्यो । सायद मलाई विश्वास गरेर आफ्ना कुरा राख्न खोज्दै थिए ।
“उसले आत्महत्या नै गरेको हो ?”
“सबै प्रमाणले आत्महत्या नै भन्छ । हत्या कसरी भन्ने ? न कसैसँग झगडा गर्ने थियो, न कसैको कुभलो गर्ने मान्छे थियो ।”
“अनि यत्रो घटनापूर्व त केही लक्षण पक्कै देखायो होला नि ?”
“शान्त मान्छे थियो । मसँग पनि कामले बोल्थ्यो । मुखमुखे लाग्ने बानी थिएन । त्यस्तो व्यवहारमा शङ्कास्पद परिवर्तन देख्न सकिनँ ।”
“के लाग्छ तपाईंलाई, उसले किन यस्तो कदम चाल्यो ?”
“त्यो त थाहा भएन सर । के थियो मलाई भनेन कहिल्यै तर एउटा कुराको पछुतो छ, मैले मेरो छोरालाई चिन्न सकिनँ ।” “छोरालाई चिन्न सकिनँ ? के भन्न खोज्नुभएको ?” “हजुर । यो अनुशासनको पाठ पढाउँदा मैले के बिर्सें भने छोराको उमेर पुगेपछि उसलाई साथीको व्यवहार गर्नु पर्छ । मैले मात्र सोचेँ, निर्देशन दिने हो अनि उसले मान्ने हो । सायद मैले छोरासँग मित्रवत् छलफल गर्ने परिपाटी बसालेको भए उसले आफ्नो समस्या मलाई भन्ने थियो कि ?” उनीसँग पछुतोका पोकैपोका थिए ।
“केही अभाव, दुःख, तनाव थियो कि ?”
“अब अलि अलि अभाव, दुःख र तनाव त सबैसँग हुन्छ । तपाईंसँग नि छ, मसँग नि छ । ऋण थियो तर तिर्न नसकिने थिएन । ऊ जागिर छोडेर आफ्नै खुसीले आएको थियो । अरू कुरा थाहा भएन । घुम्न जाने अघिल्लो दिन मलाई यो पसल सार्नु पर्छ, साँघुरो ठाउँ भयो भनेर सुझाव दिँदै थियो,” आँखाको डिलमा टिलपिल आँसु पार्दै उनले भने ।
पोलेको घाउमा नुन छर्किन उचित ठानिनँ । मैले यति भनेँ, “जे नहुनु थियो, त्यो त भइसक्यो । यही घटनाका कारण परिवारमा थप दुःख आउन नदिनुहोला । भाग्य खराब भएपछि कसको के लाग्छ ?”
एउटा टिसर्ट किनेर पसलबाट बाहिरिएँ । गेटबाहिर चार÷पाँच जना मान्छे हँसिमजाक गर्दै थिए । त्यो गफ गुप्ताको आत्महत्यासँग सम्बन्धित थियो । सबैले पालैपालो आत्महत्याको कारणबारे अड्कल गर्दै थिए ।
“यसको एउटी युवतीसँग ‘अफेयर’ थियो । युवतीले धोका दिई । चोट सहन नसकेर हो नि ?” एउटाले गफ हाँक्यो ।
“घरमा यसले ढाँटेको हो नि ! कहाँ जागिर छोड्या हो र ? जागिर खाँदा घुसमा रङ्गेहात समातियो । पोल खुल्ने डरले हो नि !” अर्कोले ठुलै रहस्य खोल्यो ।
“यसलाई जुवाको लत थियो रे । दुव्र्यसनीमा फसेको भन्ने हल्ला थियो । ऋण लागेको थियो । जेल पर्नेवाला थियो, त्यसैले होला ।”
“अस्ति मेडिकल चेक गर्न जाँदा कहिल्यै निको नहुने रोग लागेको थाहा पायो रे ! सामाजिक रूपमा इज्जत जाने भएर हो ।”
मैले यी अड्कल र हल्ला सहन सकिनँ । म कड्किएँ, “उसले तपाईंलाई कारण बताएर आत्महत्या गरेको हो ?”
उनीहरूले मतिर घुरेर हेरे । मेरो रिसको पारो अझ तात्यो । म अझै कड्किएँ, “अनि यसरी गुप्ता साहुले सुन्ने गरी हावादारी कुरा गरेर चोकमा बस्ने ? अहिले जे बोलिरहनुभएको छ, तपाईंहरूसँग त्यसको प्रमाण छ ?”
उनीहरू केही लजाए पनि । मैले सम्झाउने तरिकाले भनेँ, “ऊ पनि हाम्रै समाजको मान्छे होइन ? उसले आत्महत्या गरेर जे गल्ती गर्यो, त्यसमा तपाईंहामी पनि उत्तिकै जिम्मेवार छौँ ।”
उनीहरू केही बोल्न सकेनन् । भारी मन लिएर जुन बाटोबाट आएका थिए, त्यतै फर्किए ।