अहिले आमाबाले बालबालिकालाई मोबाइलमा गीत र भिडियो हेरेर खाना खुवाउँछन् । अनि बिस्तारै मोबाइल नभई बच्चाले खान मान्दैनन् । ठुलो भएपछि आफैँ खाँदा पनि गीत, मोबाइल हेरेर नै खाना खाने बानी परेपछि मात्र अब त समस्या भयो भन्ने लाग्छ । जब मोबाइल नभएपछि एकछिन बस्न सकिन्न, मोबाइल नभई घाँटीमा गाँस नै छिर्दैन । मोबाइलमा नभए छटपटी हुन्छ, तब बुझ्नु पर्छ कि यो मोबाइल हेर्ने बानी त ‘कुलत’ मा परिणत भइसकेछ ।
बालबालिकादेखि वृद्धा, किशोर, किशोरी वयष्क सबैलाई इन्टरनेट, मोबाइलको कुलत हुन सक्छ । त्यसैले बालबालिकालाई सुरक्षित राख्न सावधानी अपनाउनु पर्छ । किशोर किशोरीलाई इन्टरनेट, सामाजिक सञ्जालमा लामो समय बस्न दिएपछि उनीहरूलाई यसको ‘कुलत’ लाग्न सक्छ, रक्सीको कुलत जस्तै । जसरी रक्सी वा लागुऔषधीको कुलत लागेपछि त्यो एकछिन नखाएपछि छटपटी हुन्छ, त्यसरी नै मोबाइल, इन्टरनेट, फेसबुकको कुलत लागेपछि त्योबिना छटपटाहट हुन थाल्छ ।
बालबालिकालाई सुरक्षित र स्वस्थ राख्न अभिभावकले केही कदम चाल्नै पर्छ । यसका लागि अभिभावक आफैँ पनि यस्तो ‘कुलत’ बाट मुक्त हुन जरुरी छ । आफूले दिनमा पाँच घण्टा फेसबुक चलाएर, छोराछोरीलाई फेसबुकमा नझुन्ड भन्न सकिन्न । खाना खाने टेबुलमा मोबाइल फोनमा गीत वा सिनेमा हेर्न दिनु हुँदैन । खाना खाँदा घर परिवारका मानिसहरू बसेर खाना खाने । रमाइला, दुःख सुखका कुरा गर्नु बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि राम्रा हुन्छन् ।
मोबाइलको कुलतबाट कसरी जोगाउने त ?
राति सुत्दा, फेसबुक, मोबाइल र टिभी हेर्न दिनु हुँदैन । परिवारमा इन्टरनेटका जोखिम र साइबर अपराधबारे बुझ्ने र बुझाउने गर्नु पर्छ । बालबालिकले समस्या परेमा के गर्ने भनेर छलफल गर्नु पर्छ ।
बालबालिका, किशोरीलाई सडक काट्दा मोबाइल फोन प्रयोग गर्न वर्जित गर्नु पर्छ । कानमा ठुसेर हिँड्ने ‘सङ्गीत’ सुन्ने, कसरी कान बिग्रने कारण बन्न सक्छ भनेर बुझाउने । त्यसका लागि अभिभावक आफैँले पनि यसरी सङ्गीत नसुन्ने । मोटर चलाउँदा मोबाइल प्रयोग नगर्ने र बालिबालिकलाई किताब उपहार दिएर पढ्न प्रेरित गर्ने ।
ब्रिटेनमा १४ वर्षीय मोलिर सेलले सन् २०१७ मा आत्महत्या गरिन् । उनी एकदम धेरै सामाजिक सञ्जालमा व्यस्त हुन्थिन् । परिवारले त्यति वास्ता गर्दैन थिए । आत्महत्यापछि उनको परिवारले उनको इन्साटाग्राम एकाउन्ट हेर्दा डिप्रेसन तथा आत्महत्यासम्बन्धी विचलित पार्ने सामग्री देखियो । लगातार त्यस्ता सामग्री हेरेपछि मोलीको मनस्थिति बिग्रियो । उनका पिता इयान छोरीले आत्महत्या गर्नेमा इन्टाग्रामलाई देखे । उनले आफ्नो छोरी कसरी आफ्नो समय बिताउँछिन्, किन यति धेरै समय हेर्छिन् भनेर बुझ्ने प्रयास गरेनन् ।
यसै गरी स्मार्ट फोन किन्न आफूसँग पैसा नभएपछि दिक्क परेका एक चाइनिज युवकले ‘जसरी भए पनि महँगो स्मार्ट फोन चाहिन्छ’ भनेर विचार गरे । उनी त्यो मोबाइलको कुलतमा यसरी फसेका थिए कि उनले सबै कुरा बिर्सिए । उनले आफ्नो मिर्गाैला बेचेर त्यो आएको पैसाले ‘स्मार्ट फोन’ किने । पछि भविष्य के होला भनेर विचार गरेनन् ।
‘कुलतमा’ फसेकाहरूले के राम्रो के नराम्रो भनेर छुट्याउँन सक्दैनन् । उनीहरू विवेकहीन हुन जान्छन् । बालबालिका र किशोर किशोरीलाई मात्रै होइन गृहणीहरू पनि उमेर नपुग्दै यस्तो कुलतमा फस्छन् र लगातार कम्प्युटर, मोबाइल चलाएपछि अनेक मानसिक र शारीरिक समस्या देखिन सक्छ । कति महिला घरमा मोबाइलमा, सामाजिक सञ्जालमा गफ गर्ने, फेसबुक चलाउने गर्दा आफ्ना अन्य जिम्मेवारी बिर्सिन्छन् । अनि ‘तनाव’ भएपछि छोराछोरीलाई गाली गर्छन् ।
गाउँघरमा अझै यो समस्या नदेखिए पनि सहरका मध्यम वर्गीय गृहिणीको धेरै फुर्सद हुन्छ अनि ‘फेसबुक, इन्टरनेट जस्ता कुलत’ समस्यामा पस्न सक्छन् । कतिले त यसको लतमा पसेर बालबालिकालाई खुवाउन, पिउन, स्याहार गर्न पछि बेवास्ता गर्छन् । यसले गर्दा परिवारमा कलह पनि हुन जान्छ । त्यस्ता गृहिणीको ‘शरीर गर्धन दुख्यो’ भनेर उपचार पनि गर्छन् । दुखाइ कम गर्ने औषधी मात्र खाएर धेरै बेर कम्प्युटरमा बस्ने वा मोबाइल चलाई नै रहेपछि समस्या त थपिँदै जान्छ । सुरुमा गर्धनका मांसपेशी कक्रक्क हुन्छ, दुख्न थाल्छ, कहिलेकाहीँ त उपचारले निको हुन नसक्ने अवस्था पनि पुग्छ । “त्यस्तै कम्प्युटर मोबाइल हेर्ने कारण घाँटी कक्रक्क पार्न थाल्यो र दुखाई सुरु भयो भने उपचार सोची हाल्नु पर्छ” चिकित्सकहरू भन्छन् ।
कुलतमा ‘नफस्ने’ भन्ने कुरा त आफैँ विचार गर्नु पर्छ । लगातार फेसबुक, इन्टरनेट, इस्टाग्राम हेर्दा त्यसलाई वास्तविक संसार मान्नुको सट्टा व्यायाम गर्नुका साथै मोबाइल र कम्प्युटर कम प्रयोग गर्नु र कहिलेकाहीँ यस्तो सञ्जाल नै नहेर्नु पनि हो ।
यसरी शारीरिक र मानसिक दुवै समस्या हुने भएपछि र उपचार गर्दा पनि कहिले सामान्य अवस्थामा फर्किन नसकिने पनि हुन सक्छ । त्यसैले यस्तो समस्याको रोकथाम गर्नु नै एक मात्र उपाय हो कम्प्युटर, मोबाइलको ‘कुलत’ नलगाउनु । यसरी कुलतबाट बच्न के गर्ने त भन्दा शारीरिक सक्रियता, व्यायाम, हिँडाइ आदिलाई दैनिक जीवनमा महत्वपूर्ण स्थान दिनु पर्छ । मानिसको गर्धनमा भएको मेरुदण्डका सात ओटा हड्डी चलाइराख्नु पर्छ । बोल्दै, हिँड्दै, हाँस्दै हामीले थाहा नै नपाइएर ती नै चलिरहन्छन् तर निहुरिएर मोबाइल चलाउँदा, इन्टरनेट हेर्दा वा एउटै आसनमा बसेर कम्प्युटरमा काम गरिरहँदा मेरुदण्डको त्यही भाग धेरै चल्दैन । त्यसलाई बोझ पर्छ । अनि बिस्तारै दुखाइ सुरु भइहाल्छ । मेरुदण्डले मस्तिष्कलाई स्नायु प्रणालीसँग जोड्ने भएकाले हड्डीमा समस्या उत्पन्न भए पूरै शरीरमा समस्या पर्छ भनेर हामीलाई थाहा हुन्न तर यो जटिल अवस्था हो । यस्तो अवस्थामा उपचारमा समय लाग्ने र उपचार खर्चिलो हुन सक्छ । यसले मानसिक स्वास्थ्यमा पर्ने असर त छँदै छ ।
पहिला पहिला ५० वर्ष पुगेपछि देखापर्ने, अहिले यो समस्या युवा अवस्थामा नै देखिन्छ । यसरी नै मोबाइल, सिनेमा हेर्दा पत्रु खाना धेरै खाने, नुन, चिनी बढी हुने यस्तो खानाले शरीरमा क्याल्सियम कम गराउँछ अनि हाड बन्ने एक प्रमुख तत्व क्याल्सियमको कमी त हाड, मांसपेशीमा परिहाल्छ । फेरि विभिन्न अध्ययनले के देखाएको छ भन्ने यसरी इन्टरनेट, फेसबुकको लत लागेकाहरू । योगासन, ब्यायम गर्दैनन् । एकै ठाउँमा बसिरहन्छन् । उनीहरूलाई एकैछिन इन्टरनेट भएन, मोबाइल देखिएन भने संसार नै खतम भए जस्तो लाग्छ ।
यसबाट जोगिने कसरी त ?
जति व्यस्त भए पनि शारीरिक र मानसिक स्वास्थ्यलाई बढी महत्वपूर्ण मानेर काम गर्ने । हरेक दिन आफू पनि बालबालिकालाई पनि व्यायाम गर्ने गराउने । इन्टरनेट र मोबाइलबाट हरेक दिन केही घन्टा टाढा बस्ने । एउटै आसनमा बसेर लगातार काम नगर्ने, बालबालिकालई पनि सानैदेखि यस्तो ‘कुलत’ नलागोस भनेर हिँड्ने, खेल्ने उफ्रिन प्रोत्साहन गर्ने ।
स्कुलमा ‘जुम’ आदिबाट लगातार पढाइ रहँदा बालबालिकालाई समस्या पर्छ भनेर बुझ्ने, त्यसैले अन्य समयमा उनीहरूलाई ‘जुमबाट’ टाढा रहन प्रेरित गर्ने । हरेक घण्टा काम गरेको ठाउँबाट उठेर केही बेर घाँटी, ढाड, पाखुरा चलाउने मेचमा बसेर गर्ने योगासन समय समयमा गर्ने । अफिसमा नै साथीहरूसँग कुरा गर्दा फोनबाट होइन भेटेर नै कुरा गर्ने । लगातार घन्टौँसम्म निहुरेर काम नगर्ने, बालबालिकालाई पनि सिकाउने ।